होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘दलित समुदायको मानव अधिकार जोखिममा ’
समाचार

‘दलित समुदायको मानव अधिकार जोखिममा ’

  • नागरिक रैबार
‘दलित समुदायको मानव अधिकार जोखिममा ’

कार्यक्रममा समता फाउण्डेसनद्वारा दलित समुदायको ०७८ सालको मानव अधिकारको अवस्थाबारेको अध्ययन प्रतिवेदन ‘दलित मानव अधिकार पुस्तक–२०७८’ सार्वजनिक गरिएको छ । सो प्रतिवेदनले ०७८ सालमा जातकै आधारमा विभिन्न प्रकृतिका ८८ वटा मानव अधिकार उल्लंघनका घटना भएको देखाएको छ । सो वर्ष जातीय भेदभावकै आधारमा ५ जनाको हत्या भएको छ भने २५ जना दलित महिला, किशोरीहरूमाथि जबरजस्ती करणी भएको छ ।

त्यस्तै, हत्या प्रयास १, हिरासतमा मृत्यु १, आत्महत्या दुरुत्साहन ७, जबरजस्ती करणी प्रयास ७, यौन दुर्व्यवहार ३, सामाजिक सञ्जालबाट गालीगलौज १, कोठा दिन इन्कार १, वनभोजमा विभेद १, मन्दिरमा विभेद १, खानेपानीमा विभेद १, दुध घिउ खरिदमा निषेध १, क्यान्टिनबाट निकाला १, ऋण तिर्न नसक्दा कुटपिट १, अन्तरजातीय प्रेम र विवाह सम्बन्धी ११ लगायत छन् । दलित समुदायमाथि जातकै आधारमा हुने अत्याचारका घटना दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको, तर त्यस्ता घटना बाहिर नआई राजनीतिक दबाब, आर्थिक प्रलोभन र लेनदेनमा मिलापत्र, पीडितको असुरक्षा, कानुनी ज्ञानको अभाव र भौगोलिक जटिलता जस्ता कारणले बाहिर नआउने गरेको प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिवेदनअनुसार ८८ मध्ये १० वटा घटनामा मात्रै जिल्ला अदालतहरूबाट कानुनी उपचार भएको छ । त्यसमध्ये पनि तीन वटा मुद्धामा मात्रै दोषीउपर सजाय भएको छ, बाँकीले सफाई पाएका छन् । हाल ३४ वटा मुद्धा अदालतमा विचाराधीन छन् भने प्रतिवादी फरार हुँदा १९ वटा मुद्धा प्रहरी कार्यालयमै थन्किएका छन् । १३ वटा मुद्धामा भने कानुनी प्रक्रिया नै अघि बढेको छैन । १२ वटा मुद्धा भने मिलापत्रमा टुंग्याइएको छ । वर्तमान कानुनअनुसार जातीय विभेद र छुवाछुतका मुद्धा सामाजिक अपराध र सरकारवादी मुद्धा हुन् । तर, अनुसन्धान अधिकारीको लापरबाहीका कारण पीडितले न्याय पाउन सकेका छैनन् ।

विज्ञापन

प्रतिवेदनअनुसार जातकै आधारमा हुने अपराधमा दोषीलाई उन्मुक्ति दिन र घटनाहरूलाई लुकाउन राजनीतिक दबाब, आर्थिक लेनदेनका आधारमा मिलापत्र, पीडितको असुरक्षा, कानुनी ज्ञानको अभाव, भौगोलिक जटिलता, माफी तथा कानुन कार्यान्वन गर्ने निकायहरूको न्यून तदारुकता लगायत प्रमुख कारण छन् । कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य एव्ं प्रवक्ता सुन्दर पुर्कुटीले दलित समुदायमाथि विभिन्न बाहानामा हिंसा भइरहेको भन्दै त्यसप्रति राज्यका निकाय संवेदनशील हुनुपर्ने बताए । आयोगले विशेषगरी उजुरी परेका र सञ्चारमाध्यममा आएका समाचारलाई सत्यतथ्य छानविन गरी घटनाको अध्ययन गरी दोषीमाथि कारबाही गर्न सिफारिस गर्दै आएको बताए । ‘पीडितलाई न्याय दिलाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुन्छ । सञ्चारमाध्यमले दलितको हक अधिकार र न्यायका लागि विद्यमान कानुन कार्यान्वयन गर्न सरकारलाई दवाव दिन सक्छन्,’ उनले भने ।

प्रवक्ता पुर्कुटीले अझैपनि दलित समुदायका व्यक्तिमाथि घर मन्दिर, पँधेरो र सामाजिक गतिविधिका ढोका बन्द नै रहनु दुःखद भएको बताए । उनले मानवता विरोधी यस्तो सामाजिक अवस्थालाई मुक्त गर्न सरकारले पहल लिनुपर्नेमा त्यसकालागि आयोगबाट सिफारिसहरूको कार्यान्वयन समेत हुन नसकिरहेको भन्दै चिन्ता व्यक्त गरे । उनकाअनुसार आयोगमा आर्थिक वर्ष ०७७/०७८ मा ३६ वटा घटना दर्ता भएका छन् भने आर्थिक वर्ष ०७८/०७९ मा ५३ वटा घटना दर्ता भएका छन् । राष्ट्रिय महिला आयोगकी प्रवक्ता चमिला भट्टराइले दलितमाथि हुने धेरैजसो हिंसाका घटनामा उनीहरुको आर्थिक अवस्था जोडिने हुँदा दलित समुदायलाई आर्थिक रुपमा समुन्नत बनाउनुपर्ने धारणा राखिन् ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चारमाध्यममा प्रकाशित विषयवस्तुले समाजमा धेरै प्रभाव पार्ने भन्दै दलित समुदायका विषयवस्तुलाई सञ्चारमाध्यमले पर्याप्त स्थान दिनुपर्ने बताए । उनले पत्रकारिता क्षेत्रमा विगतको तुलनामा दलित समुदायका पत्रकारको संख्या बढिरहेको भन्दै दलित समुदायका विषयवस्तुलाई पत्रकारले नै प्राथमिकतामा राखेर समाचार लेख्नुपर्ने बताए । उनले दलित समुदायका पत्रकारहरू समेत सञ्चार माध्यमको नेतृत्व तहमा जान आवश्यक रहेको भन्दै त्यसका लागि क्षमता अभिवृद्धि तालिम लगायतमा महासंघ निरन्तर लागिरहेको बताए ।

कार्यक्रममा बोल्दै महासंघका महासचिव रोसन पुरीले नेपाल पत्रकार महासंघले महासंघका सबै तहमा समानुपातिक सहभागिताका लागि विधानमै सुनिश्चित गरेको बताए । ‘दलित समुदायका नाममा हुने अत्याचार मानवता विरोधी हुन्, त्यस्तो सामाजिक समस्यालाई निराकरण गर्न सबै एकजुट हुनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसकालागि मिडियाले यस्ता विषयलाई थप प्राथमिकता दिएर लेख्न आवश्यक छ ।’ उनले नागरिक अगुवा संस्था पत्रकार महासंघमा समेत दलित, महिला लगायत उत्पीडित वर्गको प्रतिनिधित्व बढेर गएको, पर्याप्त नभएको भन्दै त्यसलाई बढाउन महासंघले विभिन्न प्रयासहरू गरिरहेको बताए ।

समता फाउण्डेशनका अध्यक्ष प्रदिप परियारले राज्यलाई थप जिम्मेवार बनाउन र दलित समुदायको न्यायका लागि उनीहरुमाथि भएका हिंसाका घटना अभिलेख गरी प्रकाशन गरिएको बताए । महासंघका सचिव एवम् केन्द्रीय दलित विभागका संयोजक हेमकर्ण विकले महासंघले सबै प्रकारका हिंसा र विभेदहरूका विरुद्ध प्रयास गरिरहेको भन्दै दलित समुदायको अधिकार सुनिश्चितताका लागि समेत सञ्चार क्षेत्रबाट पहल हुनुपर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार