होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १७ हजार शिक्षकका लागि साढे दुई लाख आवेदन
समाचार

१७ हजार शिक्षकका लागि साढे दुई लाख आवेदन

  • नागरिक रैबार
१७ हजार शिक्षकका लागि साढे दुई लाख आवेदन

काठमाडौँ — शिक्षक सेवा आयोगले आगामी चैतमा सञ्चालन गर्ने खुला पदपूर्तिको परीक्षामा सहभागी हुन २ लाख ३४ हजार ५ सय ९४ जनाले आवेदन दिएका छन् ।

आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा १७ हजार ४ सय ५५ स्थायी शिक्षक नियुक्ति गर्न विज्ञापन खुलाएको छ । त्यसमा प्रतिस्पर्धा गर्न अस्थायी अध्यापन अनुमतिपत्र लिएका उम्मेदवारहरूले दरखास्त दिएका हुन् । आवेदन दिनेमा केही विषयमा अनुमतिपत्र प्राप्त नगरेका पनि छन् । आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले परीक्षामा प्रतिस्पर्धा गर्न उत्साहजनक रूपमा दरखास्त परेको जनाए । ‘माग संख्याको तुलनामा लोक सेवा आयोगमा भन्दा पनि चर्को प्रतिस्पर्धा हुने देखियो,’ उनले भने ।

दरखास्तहरूको रुजु गरेर कार्यतालिकाअनुसार चैतमा परीक्षा सञ्चालन गरिने आयोगले जनाएको छ । त्यसका लागि आचारसंहिता, प्रश्नपत्र निर्माणलगायत तयारीको काम भइरहेको छ । माविको चैत १५, निमावि चैत १७ र प्राविको चैत १९ मा परीक्षा सञ्चालन गर्ने तालिका छ । तीनवटै तहमा प्रदेश १ बाट सबैभन्दा बढी दरखास्त परेको छ । प्राविमा १ लाख १३ हजार ३ सय ९५ जनाले आवेदन दिएका छन् । उक्त तहमा १३ हजार २ सय ९७ स्थायी शिक्षकका लागि विज्ञापन खुलाइएको आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले बताए ।

विज्ञापन

प्राविमा प्रदेश १ मा २३ हजार ४ सय ७८ र सबैभन्दा कम कर्णालीमा ९ हजार २ सय ७७ जनाले दरखास्त दिएका छन् । निमाविमा देशभरबाट ८५ हजार ६ सय ५४ जनाको आवेदन परेको छ । यसमा २ हजार ६ सय ६ शिक्षक पदका लागि विज्ञापन खोलिएको छ ।

निमाविमा पनि कर्णालीबाट सबैभन्दा कम र प्रदेश १ बाट सबैभन्दा धेरै दरखास्त परेको उनले जनाए । कर्णालीमा ५ हजार १ सय ९९ र प्रदेश १ मा २० हजार ९ सय २२ जनाले फारम भरेका छन् ।

त्यस्तै माध्यमिक तहमा मधेस प्रदेशबाट सबैभन्दा कम र प्रदेश १ बाट सबैभन्दा धेरैले आवेदन दिएका छन् । १ हजार ५ सय ५२ पदका लागि विज्ञापन खुल्दा ३५ हजार ५ सय ४५ जनाको दरखास्त परेको छ । माविका लागि प्रदेश १ मा ८ हजार ८ सय ३२ र मधेस प्रदेशमा २ हजार २ सय ६ जनाले प्रतिस्पर्धा गर्दै छन् । प्रदेशअनुसार शिक्षकको माग संख्या पनि फरक छ ।

आयोगले चार वर्षपछि सामुदायिक विद्यालयका लागि स्थायी शिक्षक नियुक्ति प्रक्रिया अघि बढाएको हो । पहिलो पटक अनलाइनबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको थियो । मरहट्ठाले दरखास्त रुजु गर्ने क्रममा रहेकाले केही संख्या थपघट हुन सक्ने जनाए । ७ लाखभन्दा बढी विद्यार्थी स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिएर बसेको तथ्यांक छ । मावि र निम्न माध्यमिक तहको विषयअनुसार प्रदेशगत रूपमा र प्राविको जिल्लागत रूपमा विज्ञापन गरिएको थियो । माध्यमिक तहमा १५ विषयका लागि दरखास्त खोलिएको छ । सबैभन्दा बढी विज्ञान विषयको शिक्षकका लागि विज्ञापन गरिएको हो । निमाविमा ११ वटा विषयका लागि विज्ञापन गरिएको छ । आयोगले नियमावली संशोधन गरेर सामान्य परीक्षा पास गरे मात्र विषयगत परीक्षामा सहभागी हुने व्यवस्था राखेको छ । यसअघि एक सय पूर्णाङ्कको मात्र लिखित परीक्षा हुन्थ्यो । ‘यस पटकबाट सय पूर्णाङ्कको सामान्य परीक्षा पास गरे मात्र अर्को सय पूर्णाङ्कको विषयगत परीक्षामा सहभागी हुन पाइनेछ,’ आयोगका प्रवक्ता मरहट्ठाले भने ।

२ अंक भारका ५० वटा प्रश्नको सामान्य परीक्षामा कम्तीमा ५० अंक ल्याउने प्रतिस्पर्धीले मात्र विषयगत परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । सामान्य परीक्षाको प्राप्तांकको ५० प्रतिशत अंक विषयगतमा जोडेर लिखित परीक्षाको नतिजा प्रकाशन गरिनेछ । त्यसमा सफल हुनेले मात्र अन्तर्वार्तामा सहभागी हुन पाउँछन् । यसअघि धेरै अंक ल्याउनेलाई माग संख्याअनुसार अन्तर्वार्तामा सहभागी गराइन्थ्यो । आगामी असोज–कात्तिकसम्म शिक्षक नियुक्तिका लागि सिफारिस गरिसक्ने आयोगको कार्ययोजना छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार