लुक्ला — खुम्बु पासाङल्हामु गाउँपालिका–३ लुक्ला चौंरीखर्कका तेन्जिङ नोर्बु शेर्पा स्थानीय महेन्द्रज्योति माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्छन् । उनी काठमाडौंको निजी विद्यालयबाट एसईई पूरा गरेर आफ्नै गाउँको सामुदायिक विद्यालयमा भर्ना भएका हुन् । कक्षा ४ मा अध्ययनरत निमाजाङ्मु शेर्पा काठमाडौंमा ३ कक्षा उत्तीर्ण गरेर गाउँ फर्केकी हुन् ।
महेन्द्र ज्योतिमा मात्र यस्ता छात्रछात्रा भेटिँदैनन् । काठमाडौंको निजी विद्यालयमा ७ कक्षा उत्तीर्ण गरेका लुक्लाकै पल्ज्याङ शेर्पा लुक्ला आधारभूत विद्यालयमा ८ कक्षामा पढ्छन् । उनीसँगै पढ्दै छन् विवश रेग्मी । उनी पनि काठमाडौंको निजी विद्यालय छाडेर गाउँ फर्केका हुन् ।
चौंरीखर्कदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको खुम्जुङसम्मको हिमाली भेगका तीनवटा विद्यालयमा छात्रछात्रा भरिभराउ छन् । काठमाडौं र सोलुखुम्बुकै निजी विद्यालय छाडेर हिमाली गाउँको सरकारी विद्यालयमा पढ्नेको संख्या बर्सेनि बढेको छ । छोराछोरी पढाउनकै लागि अभिभावक कोठा भाडामा लिएर बसेका छन् । लुक्ला आधारभूतका निमित्त प्रधानाध्यापक तिलक ढुंगानाका अनुसार काठमाडौं र जिल्लाकै निजी विद्यालय छाडेर गत आर्थिक वर्षमा मात्र भर्ना हुन आएका छात्रछात्रा २२ जना छन् ।
अंग्रेजी माध्यममा पढाइ, कम्प्युटर कक्षा र सुविधासम्पन्न भवनको आकर्षणले हिमाली गाउँका विद्यालयमा विद्यार्थी ओइरिएका हुन् । लुक्ला आधारभूतमा मात्र ३ सय ६८ जना अध्ययनरत छन् । महेन्द्र ज्योतिमा ३ सय ५२ र नाम्चेबाट करिब एक घण्टा पैदलको खुम्जुङ माविमा ३ सय ३७ छात्रछात्रा छन् । विदेशी पर्यटकले उक्त विद्यालयलाई हिलारी स्कुल भन्ने गरेका छन् । उक्त विद्यालय एभरेस्ट आरोही एडमन्ड हिलारीले २०१८ सालमा स्थापना गरेका हुन् । ‘अंग्रेजी भाषा र विद्यालय व्यवस्थापनमा विश्वासकै कारण सरकारी विद्यालयप्रति आकर्षण बढेको हुनुपर्छ,’ महेन्द्र ज्योतिका प्रधानाध्यापक कुमारसिंह राईले भने ।
धेरै हिमाली विद्यालयमा विद्यार्थी नभएर बन्द गर्नुपर्ने अवस्थामा पुगेका बेला महेन्द्र ज्योतिमा भने कक्षा ९ र १० मा सेक्सन छुट्याएर पढाउनुपर्ने अवस्था छ । प्रधानाध्यापक राईका अनुसार छात्रछात्राको चाप बढेपछि एउटै कक्षालाई दुई भागमा विभाजन गरेर पढाइएको छ । एसईई उत्तीर्ण गरेपछि पनि ५० प्रतिशत छात्रछात्रा यहीं विद्यालयमा पढ्छन् । राईका अनुसार विषय नमिलेकाहरू मात्रै कक्षा १२ सम्म पढ्न अन्यत्र जाने गरेका छन् । अहिले प्लस टुमा ५० जना छात्रछात्रा छन् । करिब एक घण्टा पैदलको फरकमा रहेका महेन्द्र ज्योति र लुक्लामा केही वर्षअघि डेढ/दुई सय विद्यार्थी हुन्थे ।
२०१४ सालमा स्थापित महेन्द्र ज्योतिमा यति धेरै विद्यार्थी कहिल्यै नभएको उनको भनाइ छ । प्रअ राई २४ वर्षदेखि उक्त विद्यालयमा कार्यरत छन् । पछिल्लो समय सोही विद्यालयका पूर्वविद्यार्थीले सहयोग जुटाएर आकर्षक भवन बनाएका हुन् । विद्यालय भवन चारवटा छन् । ‘सरकारी रकम ७० लाखजति मात्रै हो,’ उनले भने, ‘पूर्वविद्यार्थीले जुटाएको सहयोगले नै करोडौंको भवन बनेका हुन् । एकै पटकमा २५ जनाभन्दा बढी छात्रछात्रा कम्प्युटर कक्षामा सहभागी हुन्छन् ।’
शिक्षा विकास तथा समन्वय इकाइ सोलुका अधिकृत खगेन्द्र श्रेष्ठका अनुसार सदरमुकाम आसपासका कतिपय विद्यालयमा विद्यार्थी संख्या नपुगेर गाभ्नुपर्ने अवस्था छ । उनले मुख्यतया हिमाली भेगमा अंग्रेजी माध्यमले अभिभावक बढी आकर्षित भएको बताए । निजी विद्यालय छाडेर सरकारी रोज्नुको कारण अंग्रेजी माध्यम र भौतिक सुविधा नै हो । ‘अभिभावकको रोजगारी ट्रेकिङ रुटमा हुने भएकाले पनि आफ्ना छोराछोरी त्यतै लगेर पढाउने गरेको पाइन्छ,’ उनले भने । हिमाली भेगका ती विद्यालयमा स्थानीय मात्र नभई जिल्लाका अन्य विकट भेगका बालबालिका अध्ययनरत छन् । जिल्लामा २ सय ७० सरकारी विद्यालय छन् । निजीसहित विद्यालय तहमा अध्ययनरत छात्रछात्रा जिल्लामा करिब ३० हजार छन् ।
फेसबुक प्रतिक्रियाहरु