रुकुम पश्चिम — गत शुक्रबार जिल्ला अस्पतालमा एउटा शल्यक्रिया भयो । चिकित्सकहरूले जटिल अवस्थाको गर्भवती महिलाको पेटबाट शल्यक्रिया गरेरै बच्चा निकाले । तर बच्चा निकालेको र अप्रेसन गरेको भन्दा अर्को दृश्यले धेरैको ध्यान तान्यो । त्यो हो– अप्रेसन थिएटरमा प्रयोग गरिएको उज्यालो ।
अप्रेसन सुरु गर्नेबित्तिकै बत्ती गयो । तत्काल विकल्पमा चिकित्सकहरूले अप्रेसन थिएटरमा मोबाइल बालेर महिलाको पेटबाट बच्चा निकालेका थिए । अप्रेसन गरिरहेका चिकित्सक र सघाइरहेका अरू स्वास्थ्यकर्मीलाई थप २ जनाले दुईतिरबाट मोबाइल बालेर उज्यालो दिएका थिए । त्यसकै सहायताले त्यो शल्यक्रिया सफल भयो । जिल्ला अस्पतालमा विद्युत् नियमित नहुँदा मोबाइल बालेर अप्रेसन गर्नुपरेको यो दृश्यले सबैलाई आश्चर्यचकित पार्यो ।
तत्कालै विद्युत्को अर्को विकल्प नभएपछि चिकित्सकले मोबाइल बालेरै भए पनि अप्रेसन गरे । जिल्ला अस्पतालमा नियमित विद्युत् छैन । हुँदा पनि लो भोल्टेजका कारण अस्पताललाई समस्या छ । विद्युत् नभएपछि पर्खेर बस्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पतालमा भर्ना भएकी बिरामी बिर्मी विकले बताइन् । उनका अनुसार ल्याब टेस्ट, एक्सरे र भिडियो एक्सरे गर्दा बिजुलीले धोका दिने गरेको छ ।
अस्पतालमा विद्युत् प्राधिकरणको लाइन जडान गरिएको छ । तर केन्द्रीय लाइन सधैंजसो लो भोल्टेजमा मात्रै चल्छ । अस्पतालमा भएका दुई वटा जेनेरेटर बिग्रिएपछि झन् समस्या भएको अस्पतालका डा. भीमकान्त जैसीले बताए । ‘लो भोल्टेजको विद्युत्ले सामान्य उपकरण चलाउन पनि समस्या हुन्छ,’ उनले भने, ‘जनशक्ति, सीप र उपकरण हुँदा पनि बिजुली नहुँदा उपचार सेवा प्रभावित हुने गरेको छ ।’
महिला तथा स्त्रीरोग विशेषज्ञ डा. केहलविक्रम जीसीले गम्भीर अवस्थाकी गर्भवतीको अप्रेसन मोबाइलको उज्यालोबाट गर्नुपर्ने अवस्था आउँदा पनि कसैको चासो नदिएको बताए । ‘कतिन्जेल मोबाइलको उज्यालोले अप्रेसन गर्नुपर्ने हो ?’ उनले भने, ‘यसतर्फ कसैको चासो गएको देखिएन ।’ अप्रेसन गर्नैपर्ने अवस्थामा मोबाइलको लाइट बाल्नुको विकल्प नभएको उनले गुनासो गरे ।
स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले विद्युत्ले अस्पतालको सेवा प्रवाहमा ठूलो समस्या भइरहेको बताए । ‘बारम्बार स्थानीयस्तरमा उत्पादित विद्युत् जडानको माग गरिरहेका छौं,’ उनले भने, ‘तर लामो समयदेखि बेवास्ता भइरहेको छ ।’ उनका अनुसार बाँफीकोट गाउँपालिकाको भाग्लेमा उत्पादित विद्युत् अस्पतालमा जडान गरे उपचारमा केही सजिलो हुने देखिएको छ ।
फेसबुक प्रतिक्रियाहरु