पशुपंक्षीको दुनियाँमा आमाले आफ्नो सन्तानलाई आफ्नै दूध चुसाउने गर्छन् । तर, मान्छेको संसारमा आमाले आफ्नो सन्तानलाई कृत्रिम धुलो दूध खुवाउँछन् । उनीहरू शिशुको शारीरिक, मानसिक, बौद्धिक, मनोवैज्ञानिक तथा भावनात्मक स्वास्थ्यमाथि खेलवाड गर्छन् ।
‘मोर्डन आमाहरू’ शरीर बिग्रिन्छ भनेर बच्चालाई दूध खुवाउँदैनन् । उनीहरू पश्चिमा संस्कृतिको पछि लागेर मोर्डन भइटोपल्छन् । अनि दोष अस्पताल र डाक्टरलाई दिन्छन् । विशेषगरी शल्यक्रिया गरेर निकालेका अधिकांश बच्चालाई कृत्रिम दूध खुवाउने गरेको पाइन्छ । यस्तो अवस्थामा आमाहरूको पहिलो प्राथमिकता पेट हुन्छ त्यसपछि मात्र बच्चा । यसमा अस्पतालको दोष नै छैन भन्न मिल्दैन । तर, प्रायः कृत्रिम दूध खुवाउनमा आमाहरू नै बढी अघि सरेको देखिन्छ । कतिपय अस्पतालले बच्चालाई दूध खुवाउन आमालाई सहयोग गर्नुभन्दा कृत्रिम दूध खुवाउनमै प्रोत्साहन गर्छन् । शिशुमैत्री भनिएका अस्पतालहरूले नै बच्चा जन्मिने बित्तिकै कृत्रिम दूध खुवाउन प्रोत्साहन गर्छन् ।
बच्चा जन्मिन नपाई दूध खुवाउन चम्चा र कचौरा किन्न लगाउँछन् । अस्पतालमा सीमित कर्मचारी हुने भएकाले सबै आमालाई काउन्सिलिङ गर्न सक्दैनन् । गर्भवती जाँच गराउँदा नै दम्पतीलाई स्तनपानसम्बन्धी काउन्सिलिङ गराउनु जरुरी छ । उचित काउन्सिलिङ नहुँदा धेरैजसो दम्पती स्तनपान कसरी गराउने ? कति समयसम्म गराउने ? स्तनपानको महत्व के हो ? भन्ने बुझ्न सकिरहेका छैनन् । विदेशमा यस्ता कुरा मिडवाइफले सिकाउँछ । तर, यहाँ जे गर्न पनि डाक्टरकै भर पर्ने चलन छ ।
पूर्ण रुपमा स्तनपान नगराउँदा आमा र बच्चाबीचको बन्धन राम्रो हुँदैन । बच्चाले आमाको दूध चुस्दा आमाको शरीरमा ‘अक्सिटोसिन’ हर्मोन निस्किन्छ । सालनाल अड्किएको छ भने पनि दूध खुवाउँदा त्यो हर्मोन निस्किएर त्यसले काम गर्छ । अक्सिटोसिन हर्मोनलाई ‘लभ’ हर्मोन पनि भनिन्छ । त्यो हर्मोन नै निस्किन नपाएपछि आमा र बच्चाबीच माया ममता हुन पाउँदैन । देखावटी माया ममता हुन्छ । कर्तव्य मात्र पालना भएको जस्तो देखिन्छ ।
स्तनपान नगराउँदा बच्चाको शारीरिक र मानसिक विकासमा असर गर्छ । त्यस्तै स्तनपान गराउने आमाभन्दा नगराउने आमामा स्तन क्यान्सरदेखि मधुमेहसम्मको खतरा हुनसक्छ । बगेर जानुपर्ने दूध गानिएर अपरेसनसमेत गर्नुपर्ने हुन सक्छ ।
स्तनपानसम्बन्धी सरकारले विभिन्न अवधारणाहरू ल्याउँछ । तर न निरन्तरता दिन्छ न कार्यान्वयन गर्छ । अनि आमाहरू पश्चिमा मुलुकका नराम्रा कुराहरू नक्कल गर्छन् । गाउँघरमा आमाहरूले स्तनपान गराएको पाइन्छ । स्तनपान नगराउने प्रवृत्ति शिक्षित, सम्पन्न र सहरीयामा धेरै छ । कृत्रिम दूधको कारखाना उनै मोर्डन आमाहरूले फस्टाइदिरहेका छन् । मोर्डन आमाले बच्चालाई ल्याक्टोजिन खुवाउँदा आर्थिक रुपमा भार त पर्छ नै बच्चाको स्वास्थ्यमा पनि असर गर्छ । यस्ता कुरा पनि स्वास्थ्यकर्मीले नै चिच्याउनुपर्छ । चिच्याउँदा पनि मोर्डन आमाले व्यवहार परिवर्तन गरिदिदैनन् ।
रोग प्रतिरोधात्मक क्षमताका लागि आमाको दूधजस्तो पोषणयुक्त खानेकुरा अरु केही छैन । कोभिडले हामीलाई रोग प्रतिरोधात्मक क्षमताको महत्वबारे सिकाएको छ । शिशुलाई ६ महिनासम्म एक थोपा पनि पानी नखुवाइ पूर्ण स्तनपान गराउनुपर्छ । यसले बच्चालाई मात्रै नभएर आमालाई पनिे फाइदा गराउँछ । ६ महिनापछि पनि थप खानेकुरा खुवाएर कम्तिमा पनि दुई वर्षसम्म स्तनपान गराउनुपर्छ । यसो गर्नाले बच्चाको मनोवैज्ञानिक विकासमा सहयोग पु¥याउँछ । बच्चाको ८० प्रतिशतभन्दा बढी मस्तिष्कको बनोट र विकास यही दुई वर्षमा हुन्छ ।
नेपाल सरकारको नीतिअनुसार कार्यालयमा स्तनपान कक्षको अवधारणा आएको थियो । त्यस्ता अवधारणा केही समय आउँछन् अनि बिलाउँछन् । नेपाल सरकारले एकातिर पूर्ण स्तनपानको कुरा गर्छ । ६ महिनासम्म अनिवार्य स्तनपान गराउनुपर्छ भन्छ । अर्कोतिर प्रसूति बिदा तीन महिना मात्र दिन्छ । यस्तो अवस्थामा महिलालाई कि छ महिनासम्म बिदा दिनुपर्छ कि ‘ब्रेस्टफिडिङ कर्नर’को व्यवस्था गर्नुपर्छ । दूध खुवाउँदा बानी हुन्छ, छुटाउन गाह्रो हुन्छ भनेर पनि धेरै कामकाजी महिलाले आफ्ना शिशुलाई कृत्रिम दूधमा बानी बसाउँछन् । महिलाको यस्तो बाध्यात्मक परिस्थितिले बच्चा र आमालाई हानी गर्छ । सहरमा प्रायजसो एकल परिवार हुन्छ । यस्तो परिवारमा काम गर्ने र कृत्रिम दूधको भरमा बच्चा हुर्किन्छन् ।
हामी पोषणका कुरा गर्दै हिँड्छौँ । खास पोषण आमाको दूधबाट सुरु हुन्छ । आमाको दूध खाएका बच्चाहरूमा झाडापखाला, निमोनिया, श्वासप्रश्वाससम्बन्धी रोगहरू कम लाग्छ । तर, हामी स्तनपानको कुरा गर्दैनौँ । अनि व्यवसायिक उद्योग फस्टाउने भिटामिनको विज्ञापनको पछाडि पर्छौँ । निःशुल्क रुपमा पाउने आमाको दूधलाई हामी हेला गर्छौँ । यसले बजारको कृत्रिम धुलो दूधको व्यापार बढ्छ ।
प्राकृतिक रुपमा ६ महिनासम्म शिशुको आन्द्रा आमाको दूधकै लागि मात्रै बनेको हुन्छ । ६ महिनासम्म अप्राकृतिक कुरा हाल्दा आन्द्रा बिग्रिन्छ । हामीले बच्चाको पाचन प्रणालीमा जे हाल्छौँ ऊ त्यस्तै बन्छ । तर, यस्ता कुरा आमाहरूलाई कसले बुझाइदिने ? अनेक बहानाबाजीमा जुन आमाले स्तनपान गराउँदैनन् त्यस्ता आमा र उनीहरूका सन्तानले शारीरिक तथा मानसिक पीडा दीर्घकालीन रुपमा भोग्नुपर्छ । इकागज साभार
मिडवाइफ्री सोसाइटी अफ नेपाल, अध्यक्ष
फेसबुक प्रतिक्रियाहरु