नागरिक रैबार/बाजुरा २५ जेठ।बडीमालिका नगरपालिका वडा नम्बर ९ का स्थानीयहरुलाई सुधारिएको चुलो वितरण गरिएको छ । जलवायु उर्जा तथा वातावरण कार्यक्रम अन्तरगत युनिसेफ नेपाल र बडीमालिका नगरपालिकाको सहयोगमा बडीमालिका ९ का ३ सय ८३ घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको हो ।
सुधारिएको चुलोको प्रयोग, विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा वृक्षारोपण र हरित क्षेत्र स्थापना मार्फत कार्वन उत्सर्जन घटाई, बन जंगलको संरक्षण गरी नगरपालिकालाई बार्षिक रुपमा कार्वन राजश्व प्राप्त गर्ने लक्ष्यका पहिलो चरणमा बडीमालिका ९ का स्थानीयलाई सुधारिएको चुलो वितरण गरिएको कार्यक्रम संयोजक कृष्ण शाहीले बताएका छन् ।
बडीमालिका नगरपालिकालाई घर भित्रको धुवाँरहित पालिका घोषणा गर्ने अभियानका रुपमा नगरपालिकाका २ हजार घरधुरीहरुमा ३ तहको १ मुखे फलामे पंखे चुलो बितरण गर्न सूरु गरिएको संयोजक शाहीले बताए । सुधारिएको चुलो वितरण गर्ने योजना रहेकोमा यही जेठ १९ गते देखि वडा नं. ८ बाट औपचारिक रुपमा वितरण गर्ने कार्य शुरु गरिएको थियो ।
बडीमालिका नगरपालिका ९ को चुलो वितरण कार्यक्रममा बडीमालिका नगरपालिकाका ९ का वडा अध्यक्ष सुर्यकिरण विकले ३ जना स्थानीय महिलालाई सुधारिएको चुल्लो हस्तान्त्रण गरेका थिए । चुलो हस्तान्त्रण कार्यक्रममा बोल्दै वडा अध्यक्ष विकले सुधारिएको चुलोको प्रयोगले विशेष गरेर महिलाहरुलाई भान्छामा काम गर्न सहज हुने बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु