धनगढी: आगामी मंसिर ४ गते आम निर्वाचन हुने भनेर सरकारले निर्णय गरेसँगै विभिन्न दलका शिर्ष नेता सुदूरपश्चिम आउने क्रम बढेको छ। मुख्य दलका नेता एकपछि अर्को प्रदेशका विभिन्न जिल्लामा आउनुले राष्ट्रिय राजनीतिको केन्द्रमा सुदूरपश्चिम देखा पर्न थालेको भन्ने प्रष्ट हुन्छ।
हरेक निर्वाचनमा फरकफरक नतिजा दिने गरेको सुदूरपश्चिमलाई मुख्य दलका शिर्ष नेताले प्राथमिकतामा राखेर भ्रमण गर्न थालेका हुन्। नेताहरूका एकपछि अर्को भ्रमणले राष्ट्रिय राजनीतिमा सुदूरपश्चिम प्रदेशको महत्त्व निर्णायक छ भन्ने प्रष्ट भएको विश्लेषण हुन थालेको छ।
दलहरूसँग नयाँ ऐजेण्डा नभए पनि भोट तान्ने रणनीतिका साथ सुदूरपश्चिम भ्रमणले निरन्तरता पाएको टिप्पणी राजनीतिक विश्लेषक डाक्टर केदारचन्द्र भट्टको छ। ‘सुदूरपश्चिमले २०४८ देखि अहिलेसम्म भएका चुनावमा फरकफरक नतिजा दिएको छ,’ उनले भने, ‘सुदूरपश्चिमले राष्ट्रिय राजनीतिलाई विगतदेखि नै प्रभावित पार्दै आएको छ। त्यसैले नेताहरूले यो क्षेत्रलाई बढी महत्त्व दिएको हुनुपर्छ।’
प्रदेशमा प्रतिनिधिसभाका लागि प्रत्यक्षमा १६ तथा प्रदेशसभातर्फ प्रत्यक्षमा ३२ र सामानुपातिक २१ गरी ५३ सदस्यका लागि चुनाव हुनेछ। त्यसैले यो चुनावमा आफ्नो पार्टीको पल्ला भारी बनाउन दलका शिर्ष नेताको दौडधुप चलिरहेको छ।
भदौमा मात्रै विभिन्न दलका शिर्ष नेताले भिन्न भिन्न समयमा सुदूरपश्चिमको भ्रमण गरेका छन्। भदौ ११ गते नेकपा एकीकृत सामाजवादीका महासचिव डाक्टर बेदुराम भुसाल कैलाली आएका थिए। उनी सामाजवादी पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्न सुदूरपश्चिम आएका थिए।
भदौ १५ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कञ्चनपुर आएका थिए। उनले सामाजवादीका विभिन्न नेतालाई पार्टी प्रवेश गराएका थिए। अध्यक्ष ओली सहभागी रहेको पार्टी कार्यक्रमबाट नेकपा एमालेले अन्य पार्टीमा गएका नेता तथा कार्यकर्ता एमालेमै फर्किदैछन भन्ने सन्देश दिन खोजेको देखिन्छ।
विभिन्न पार्टिका शिर्ष नेताको सुदूरपश्चिम भ्रमणलाई चुनाव लागेको संज्ञा राजनीति विश्लेषकले दिएका छन्। तर, नेताहरूले जति दौडधुप गरे पनि मतदाताको मनोविज्ञान पहिलेको जस्तो नरहेको राजनीतिक शास्त्रका प्राध्यापक सुरेन्द्र पाण्डे बताउँछन्। ‘चुनाव लागेसँगै नेताहरूको दौड सुरु भएको छ तर मतदाताले भने नेताले भन्दैमा मत दिँदैनन्,’ उनले भने, ‘मतदाताले गठबन्धन पनि रुचाएका छैनन् भने दलहरूले पाँच वर्षमा केही गर्न सकेका पनि छैनन्। तसर्थ नेताहरूको प्रदेश भ्रमण फगत दौडधुप मात्रै हो।’
नेकपा एमालेका अध्यक्ष फिर्ता भएसँगै पार्टीका महासचिव शंकर पोखरेलले भदौ १८ गतेबाट कैलाली, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाको भ्रमण गरेका थिए। सोमबार मात्रै नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई पार्टीको कार्यक्रममा भाग लिन कैलाली आएका थिए।
यस्तै मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेता पार्टीको प्रादेशिक प्रशिक्षण भेलामा सहभागी हुन कैलाली आएका छन्।
नेपाली काँग्रेसले भने ‘जनताको साथमा काँग्रेस अभियान’ अन्तर्गत प्रदेशका सबै निर्वाचन क्षेत्रमा नेताहरूलाई खटाएको छ। सुदूरपश्चिमको चुनावी नतिजा परिवर्तन भइरहने हुँदा नेताहरूले चुनाव केन्द्रित भ्रमण गरेर आफ्नो पार्टीको पक्षमा जनमत बढाउन भ्रमणलाई तीव्रता दिएको राजनीतिक विश्लेषक डाक्टर भट्टको अनुमान छ।
वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा नेपाली काँग्रेसले सुदूरपश्चिमका ८८ पालिकामध्ये ४० मा प्रमुख/अध्यक्ष र ४७ स्थानमा उपप्रमुख/उपाध्यक्ष जितेको थियो। नेकपा एमालेले २६ प्रमुख/अध्यक्ष र २५ स्थानमा उपप्रमुख/उपाध्यक्ष जितेको थियो।
प्रदेशमा माओवादीले केन्द्रले १४ प्रमुख/अध्यक्ष र ११ स्थानमा उपप्रमुख/उपाध्यक्ष जितेको थियो। यस्तै नागारिक उन्मुक्ति पार्टीले ४ प्रमुख र ३ उपप्रमुख जितेको थियो। दुई स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले प्रमुख पदमा जित हाँसिल गरेकोमा नेकपा समाजवादीले २ प्रमुख र ३ उपप्रमुख जितेको थियो।
मंसिर ४ मा हुने चुनावमा सत्ता गठबन्धनले निर्वाचन क्षेत्र बाँडफाँड गर्ने देखिएको छ भने नेकपा एमाले प्रदेशभर गठबन्धनसँग भिड्ने देखिन्छ। तर, जनताले गठबन्धन नचाहेकाले पार्टीका नेताले जति देश दौडाहा गरे पनि चुनावको नतिजा भने अनपेक्षित आउने प्राध्यापक चन्दको भनाइ छ।
‘चुनावको मुखमा नेताहरूले देश दौडाहा गर्ने पूरानै परम्परालाई यो पटक पनि दोहर्याउँदै छन्,’ उनले भने, ‘जनताको पक्षमा पाँच वर्षसम्म केही नगर्ने भोट माग्न मात्रै नेता आउने भएकाले यो पटक मतदाताले स्वतन्त्र भएर भोट हाल्छन्।’
फेसबुक प्रतिक्रियाहरु