बाजुरा । संघीय सरकारले ‘नयाँ हिमाली सहर’ निर्माणका लागि गुरुयोजना निर्माण गरेको छ। हिमाली क्षेत्रको बसाइँसराइ कम गर्ने उद्देश्यले हिमाली सहर बनाउने योजनासहित गुरुयोजना तयार गरिएको हो। कूल १ लाख ३८ हजार ९९८ जनसंख्या रहेको बाजुरा(कोल्टी) मा हिमाली सहर निर्माणका लागि गुरुयोजना निर्माण गरिएको नयाँ सहरी आयोजना समन्वय कार्यालयले जनाएको छ।
बेरोजगारीलाई न्यूनिकरण गर्न नयाँ सहरी योजना सहयोगी सावित हुने अपेक्षा समेत गरिएको छ। नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ अनुसार बाजुराबाट कामका लागि बाहिरिएको संख्या ८ हजार ५४ छ भने गरिबीको रेखामुनि रहेको संख्या ८५ हजार ८ सय ६७ रहेको छ। तराई झर्ने प्रवृति घटाउने र थप सम्भावनाहरुको खोजी गर्न नयाँ सहर निर्माणको योजना अघि सारिएको नयाँ सहरी आयोजना समन्वय कार्यालयका निर्देशक रोशन श्रेष्ठले बताए।
तराई तथा सहरी क्षेत्रमा केन्द्रित बसाइँसराइ कम गरी नयाँ र आधुनिक सहर विकास गर्ने रणनीति सरकारको थियो। सोही रणनीतिअनुसार तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले मध्यपहाडी लोकमार्गको सेरोफेरोमा २० वटा नयाँ सहर विस्तार गर्ने घोषणा गरेका थिए। योजनाअनुसार काम हुन भने सकेन।
सरकारले यस्तो रणनीति अघि सारेको दशक बित्दा पहाडी तथा हिमाली क्षेत्रबाट तराईतर्फ झर्नेहरू रोकिएका छैन। सहर विस्तारको काम गर्न बोलेजस्तो सजिलो नभएकाले समय लाग्ने नयाँ सहरी आयोजना समन्वय कार्यालयका निर्देशक श्रेष्ठ बताउँछन्।
सरकारले हिमाली क्षेत्रको संस्कृति, परम्परा झल्किने गरी हिमाली सहर विकास गर्ने गरी गुरुयोजना तयार गरेको छ। सहरीकरणमार्फत स्थानीय मौलिकतालाई जोगाउँदै त्यहाँको स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउने विषय हिमाली सहरको गुरुयोजनामा समेटिएको छ।
सरकारले प्रदेशअनुसार हिमाली सहर छनोट गरेको छ। बस्तीहरू हिमाली सहरका रूपमा विकास गर्ने सरकारी योजना छ। यही योजना अन्तर्गत बाजुराको मार्तडी र कोल्टी सहर छनोट भएका छन्। योजना अघि सारे पनि तत्कालै हिमाली सहर विकास भइहाल्ने अवस्था छैन। संघीय सरकाले चालु आर्थिक वर्षका लागि नयाँ सहर विकास गर्न ३ अर्ब बजेट छुट्याएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गतका १० वटा सहरका लागि ७० तथा ३० प्रतिशत अन्य सहर विकासका लागि खर्च गर्ने योजना छ। दिनेश खबरबाट साभार
फेसबुक प्रतिक्रियाहरु