बाँके‚ धनकुटा — उनीहरूबीच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भयो । मित्रता झाँगिँदै गएपछि दैनिकजसो ‘भिडियो च्याट’ हुन्थ्यो । बाँकेको राप्ती सोनारीकी १६ वर्षीया किशोरी र बैजनाथ गाउँपालिका–८, झिँगौराका हेमराज थारूबीच सामाजिक सञ्जालबाट ‘प्रेम’ गाँसिएको थियो । त्यही प्रेमको बदलामा किशोरीले ठूलो पीडा भोग्नुपरेको छ ।
पीडित किशोरीले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार हेमराजले शनिबार फोन गरेर ‘मेरो जन्मदिन छ’ भन्दै निम्तो दिए । किशोरी बस चढेर नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत मानखोलानजिकै पुगिन् । त्यतिबेला अपराह्न ४ बजिसकेको थियो । किशोरीलाई लिन हेम र उनका साथीहरू त्यहाँ आए । किशोरीलाई मोटरसाइकलमा चढाएर बर्दियाको पर्यटकीय क्षेत्र बढैयाताल पुर्याए ।
‘अब जन्मदिन मनाउनुपर्छ भनेर हेमराजले विक्रान्त थारूमार्फत घरेलु मदिरा मगाए,’ पीडित किशोरीले बयानमा उल्लेख गरेकी छन्, ‘विक्रान्तले आफ्ना लागि बियर ल्याएर खाए । मैले नाइँ खादिनँ भन्दै प्रतिकार गर्दा जबर्जस्ती खुवाइदिए । मदिरा नखाने बानी भएकाले बेहोस भएछु, त्यसपछि मलाई तीन जनाले सामूहिक बलात्कार गरे । मैले केही गर्न सकिनँ ।’ प्रहरीका अनुसार मानखोला जंगलमा सामूहिक बलात्कारपछि किशोरी बेहोस भइन् । हेमराजका साथी नीरज र विक्रान्तले बेहोस किशोरीलाई मानखोलामा पुर्याएको खुलेको छ । शरीरमा पानी छम्केपछि अलिअलि होसमा आएको किशोरीले बयानमा उल्लेख गरेकी छन् ।
बाँके र बर्दियाको सीमा मानखोलाबाट उनीहरूले किशोरीलाई बैजनाथ–८ पिपरी गाउँस्थित विक्रान्तले बंगुरपालन गरेको टहरामा पुर्याएको खुलेको छ । ‘टहरामा पनि बेहोसी अवस्थामै रहेका बेला विक्रान्तलगायत तीन जनाले फेरि पनि सामूहिक बलात्कार गरे । म फेरि बेहोस भएँ,’ किशोरीको बयानमा उल्लेख छ, ‘रातभरि मदिराको नशा र सामूहिक बलात्कारले थला परेजस्तै भएको थिएँ ।’ होस खुलेपछि हेमराजले गाउँकै साथीहरू विश्वनाथ र निर्देशन थारूलाई बोलाएर घर छाडिदिनु भन्दै त्यहाँबाट भागेको किशोरीले उल्लेख गरेकी छन् । जिल्ला प्रहरी प्रवक्ता डीएसी मधुसूदन न्यौपानेका अनुसार पीडित किशोरी अर्को दिन बिहानसम्म लट्ठिएको अवस्थामा थिइन् । ‘मदिरा र बलात्कारका कारण मानसिक तनावमा छिन्,’ उनले भने, ‘घटनाको गम्भीर अनुसन्धान भइरहेको छ ।’ पीडित किशोरी एक संस्थाको सेल्टरमा छिन् ।
आइतबार बिहान करिब ४ बजे इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोली नेपालगन्ज–गुलरिया राजमार्गको खजुरा–५ स्थित प्रतीक्षालयमा ड्युटीमा थियो । पछाडि निर्देशन, बीचमा किशोरी राखेर विश्वनाथले मोटरसाइकल हाँकिरहेका थिए । प्रहरी टोलीले रोकेर केरकार गर्दा किशोरी राम्रोसँग बोल्न सक्ने अवस्थामा थिइनन् । त्यसपछि उनीहरूलाई धनौली चौकी पुर्याइयो । ‘पहिले किशोरी बोल्न चाहेकी थिइनन् । केरकार गर्दै जाँदा सामूहिक बलात्कारमा परेको घटना सुनाइन्,’ धनौली प्रहरी प्रमुख प्रेम रेग्मीले भने, ‘सामूहिक बलात्कार गर्ने हेमराज, विक्रान्त, नीरजलगायत पाँच जना र किशोरीलाई घरमा पुर्याउन जाने दुई जनालाई पक्राउ गरेका छौं ।’ थप अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद लिइसकेको उनले बताए ।
बलात्कार आरोपितलाई पक्राउ गर्न माग
आफ्नै साथीको बुबाबाट बलात्कृत धनकुटाकी एक बालिकाका परिवार न्याय माग्दै निरन्तर प्रदर्शनमा छन् । अनुसन्धान फितलो भएको भन्दै पछिल्लो समय पीडित परिवारका साथ विद्यार्थीले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन जारी राखेका हुन् । गत फागुन ६ मा घटनामा संलग्नविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारले जाहेरी दिएका थिए । तर आरोपित पक्राउ परेका छैनन् ।
धनकुटा नगरपालिका–६ बस्दै आएका मिलन भनिने ४२ वर्षीय लीलबहादुर भुजेलले ११ वर्षीयालाई बलात्कार गरेको जाहेरी दर्ता भएको थियो । ०७७ वैशाख ४ देखि विभिन्न समयमा भुजेलबाट बालिका बलात्कृत हुँदै आएको जाहेरीमा उल्लेख छ । हदम्याद नाघेका कारण जाहेरीमा ‘बालयौन दुरुपयोगसम्बन्धी कसुर’ उल्लेख गरिएको प्रहरीले जनाएको छ । ०७८ माघ २३ मा श्रीपञ्चमीको दिन आफ्नै घरतर्फ भुजेल आउँदै गरेको देखेपछि बालिका आत्तिएर चिच्याएपछि परिवारका सदस्यले सोधखोज गर्दा घटनाबारे रहस्य खुलेको थियो । घटनाबारे प्रहरीमा जाहेरी दिएको चार महिना पुग्दा पनि आरोपित पक्राउ गर्न प्रहरीले तदारुकता नदेखाएका पीडित परिवारको गुनासो छ ।
बालिकाले सुरुमा साथीहरूलाई घटनाबारे सुनाएकी थिइन् । प्रहरीलाई जाहेरी दिन लागेको अग्रिम जानकारी पाएकै कारण आरोपित अघिल्लै दिन फरार भएको स्थानीयले बताए । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले जाहेरीअनुसार अनुसन्धान भइरहेको दाबी गरे । ‘अनुसन्धान प्रभावित पार्ने गरी प्रदर्शन नगरिएको भए हुन्थ्यो,’ उनले भने । प्रहरी कार्यालयको मुख्यद्वारमा प्रदर्शनको तयारी गरिरहेका विद्यार्थी पेशल निरौला र कुशल खनाललाई आइतबार बिहान प्रहरीले दुई घण्टा नियन्त्रणमा लिएर छाडेको छ । जघन्य घटनामा पनि अनुसन्धान कार्य फितलो हुनुले आफूहरू सुरक्षित छैनौं भन्ने चिन्ता लागेको सहभागी सष्टिका विशंखेले बताइन् । अपराधमा संलग्नलाई तत्काल पक्राउ नगरे चरणबद्ध आन्दोलनमा उत्रने उनको भनाइ छ ।
जिल्ला प्रहरी प्रमुख लक्ष्मीराज अधिकारीले घटनाप्रति आफूहरू गम्भीर रहेको र निर्वाचनलगायत काममा जुट्नुपरेकाले ढिलाइ भएको बताए । ‘आरोपित भुजेलले अहिले पनि सामाजिक सञ्जाल र मोबाइलसमेत प्रयोग गरिरहेकाले पक्राउ गर्न समस्या नहुनुपर्ने हो,’ एक स्थानीयले भने, ‘खै किन प्रहरीले चासो देखाएन, बुझ्न सकिएन ।’
फेसबुक प्रतिक्रियाहरु