मुगु — मुगुमकार्मारोङ गाउँपालिकाको पुलुमा रहेको नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीमा कोरोना भाइरस पुष्टि भएको छ ।
विद्यार्थीहरुमा ज्वरो आउने, टाउको दुख्ने, हल्का खोकी लाग्ने जस्ता लक्षण देखा परेपछि स्वास्थ्यकर्मीले एन्टिजेन परीक्षण गर्दा २६ जनालाई करोना पोजेटिभ देखाएको विद्यालयका प्रधानध्यापक कुशल शाहीले बताए । समान्य रुघाखोकीको लक्षण देखिएका विधार्थीहरुलाई कोरोना पोजेटिभ देखिएको उनको भनाइ छ ।
झन्डै १ सय ३२ जना विद्यार्थीहरुलाई एन्टिजेन परीक्षण गर्दा २६ जना विधार्थीलाई कोरोना पोजेटिभ देखा परेपछि विद्यार्थीहरुलाई राष्ट्रपति शैक्षिक सुधार भवनमा राखेर औषधि उपचार गरिरहेको प्रधानध्यापकले बताए ।
विद्यार्थीहरुलाई कोरोना देखिएकपछि विद्यालयमा सामूहिक पढाइलेखाइ बन्द गरी विद्यार्थीहरुलाई अलग–अलग कोठामा राखेर शिक्षकले गृह कार्य दिने, विद्यार्थीले नजानेको कुरा सिकाइदिने गरेका छन् ।
विद्यालयमा ३ सय ७९ जना विद्यार्थी अध्ययनरत छन् भने ७ जना शिक्षक ११ जना सहयोगी कार्यरत छन् ।
फेसबुक प्रतिक्रियाहरु