होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वडासम्मै मतको लेखाजोखा गर्दै गठबन्धन
समाचार

वडासम्मै मतको लेखाजोखा गर्दै गठबन्धन

  • नागरिक रैबार
वडासम्मै मतको लेखाजोखा गर्दै गठबन्धन

काठमाडौँ — स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका पाँच दल स्थानीय राजनीतिक लेखाजोखामा जुटेका छन् । गठबन्धनको चैत १७ मा बसेको बैठकले वडासम्मकै राजनीतिक प्रतिवेदन मागेपछि पाँचदलीय स्थानीय संयन्त्रले काम थालेका छन् ।

सात प्रदेश, ७७ वटै जिल्ला र ७ सय ५३ वटै पालिकामा गठित संयन्त्रले चैत २२ भित्र देशभरको प्रतिवेदन दिने र त्यसका आधारमा केन्द्रबाट निर्णय लिने तयारी छ । स्थानीय संयन्त्रले बुँदागत आधारमै सबै पार्टीको २०७४ को र हालको अवस्थाको विश्लेषणात्मक अध्ययन गरेर केन्द्रमा प्रतिवेदन पठाउने तयारी गरेका छन् । स्थानीय तहमा विगतको निर्वाचन परिणाम र पछिल्लो राजनीतिक अवस्थाका आधारमा चुनावी रणनीति बनाउने गठबन्धनको तयारी छ ।

‘आइतबार मात्रै मधेस प्रदेशमा गठबन्धनको बैठक बसेको थियो । बैठकले जिल्ला तहका संयन्त्रहरूलाई त्यहाँको अहिलेसम्मको यथार्थ धरातलको विश्लेषण गरेर २२ गतेभित्र रिपोर्ट प्रदेश संयन्त्रलाई बुझाउन भनिएको छ,’ एकीकृत समाजवादी पार्टीका मधेस प्रदेश कमिटीका अध्यक्ष रामचन्द्र यादवले भने, ‘त्यो रिपोर्टअनुसार सबैले गठबन्धनलाई तार्किक निष्कर्षमा पुर्‍याउन पहल गर्ने समझदारी भएको छ ।’

विज्ञापन

इटहरीमा शनिबार बसेको पाँच दलको प्रदेश १ स्तरीय बैठकले १ सय ३७ वटै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति उद्धव थापाले गत स्थानीय तह निर्वाचनको मतभारलाई आधार मानेर तालमेल गर्ने निर्णय भएको बताए । ‘बैठकले सबै दलका जिल्ला नेतृत्वलाई तालमेलका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिने निर्णय गरेको छ,’ उनले भने, ‘पालिका र पदको भागबन्डा गर्दा जनमतको मापदण्डलाई आधार मानिने छ ।’ बैठकले कांग्रेसका प्रदेश सभापतिको संयोजकत्वमा गठबन्धन संयन्त्र गठन गरेको छ । सोही संयन्त्रले निर्वाचनमा संयुक्त परिचालन र अनुगमन गर्ने कांग्रेस प्रदेश सभापति थापाले बताए । बैठकमा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्वाङ, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बलदेव चौधरी र जसपाका प्रदेश कोषाध्यक्ष उमेश थापा सहभागी थिए ।

अर्घाखाँचीमा केन्द्रमा चुनावी गठबन्धनको निर्णय नहुँदै फागुन २९ मा पाँचदलीय संयन्त्र गठन भएको थियो । कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले प्रमुख प्रतिपक्षी एमालेविरुद्ध एकढिक्का भएर चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय भएको बताए । २०७४ को स्थानीय तह निर्वाचनमा पनि अर्घाखाँचीमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । जिल्लाका ६ पालिकामध्ये ४ वटामा तालमेल भएकोमा मालारानी गाउँपालिकाबाहेक अन्यमा सफल भएको थियो । माओवादी नेता टोपबहादुर रायमाझी पार्टीको ठूलो हिस्सासहित एमाले प्रवेश गरेपछि गठबन्धनलाई चुनौती थपिएको छ । ‘हामीले पालिकास्तरमा पनि गठबन्धन दलको संयन्त्र बनाएर गतिविधि गरिरहेका छौं, तीनै तहका निर्वाचनमा एक भएर जाने सैद्धान्तिक सहमति भइसकेको छ,’ उनले भने ।

माओवादी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङका अनुसार सबै दलले आ–आफ्ना कमिटीलाई गठबन्धनका विषयमा सर्कुलरसमेत जारी गरेका छन् । ‘पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूले हस्ताक्षर गरेको संयुक्त सर्कुलर त छैन तर आ–आफ्ना पार्टीले जारी गरेका छन् । त्यसकै आधारमा १८ चैतमा गण्डकी प्रदेशमा गठबन्धनको बैठक बसेका थियौं । अब फेरि २२ गते बैठक बसी कुन दलको अवस्था के थियो, के छ भन्नेबारे मसिनो गरी रिपोर्ट तयार गरेर केन्द्रमा पठाउने तयारीमा छौं,’ गुरुङले भनिन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको पाँच दलको बैठकले चुनावी गठबन्धन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा दलहरूले मातहतका निकायलाई प्रदेश, जिल्ला र स्थानीय तहमा संयन्त्र गठन गर्न निर्देशन दिएका थिए । कांग्रेसले पठाएको निर्देशनमा कांग्रेस सभापति संयोजक र सत्ता गठबन्धनका प्रदेश तथा जिल्लास्थित प्रमुख सदस्य रहने गरी संयन्त्र गठन गर्न भनिएको छ । जिल्लास्थित संयन्त्रलाई पाँचवटा विषयमा विश्लेषण गरी राय–सुझाव प्रस्तुत गर्न निर्देर्शन दिइएको छ ।

गत स्थानीय तह निर्वाचनमा हाल गठबन्धनमा रहेका दलहरूको जिल्ला समन्वय समिति, जिल्लास्थित सबै पालिका तथा वडामा प्राप्त मतको अवस्था, एमाले तथा अन्य प्रतिस्पर्धी पार्टीले प्राप्त गरेको मतको अवस्था, गठबन्धनमा रहेका दलको अलग–अलग सबै स्थानीय तहमा रहेको वर्तमान सांगठनिक अवस्था (मतभारको प्रतिशत), गठबन्धनमा रहेका दलहरूको संयुक्त वर्तमान सांगठनिक अवस्था (मतभारको प्रतिशत) र एमाले तथा प्रतिस्पर्धी अन्य पार्टीको वर्तमान सांगठनिक अवस्था (मतभारको प्रतिशत) बारे अध्ययन तथा विश्लेषण गरी केन्द्रीय निर्वाचन परिचालन समितिमा पठाउन भनिएको छ ।

समितिका सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले मंगलबारसम्म सबै जिल्लाबाट विश्लेषणसहितको प्रतिवेदन आउने बताए । ‘वडासम्मकै अवस्था स्पष्ट हुने गरी ‘ग्राउन्ड रिपोर्ट’ आएपछि दलहरूलाई चुनावी रणनीति बनाउन सहयोग पुग्नेछ र सफलता पनि पाइनेछ,’ उनले भने । केन्द्रको निर्देशनअनुसार सत्ता गठबन्धन दलले स्थानीय तहमा पनि संयुक्त बैठक गरी अवस्था विश्लेषण र तालमेलको रणनीति बनाउन थालेका छन् । तीनै तहको रिपोर्टको बलमा कहाँ, कस्तो गठबन्धनको खाँचो छ भन्ने ठोस रणनीति बनाइने शीर्ष नेताहरूको भनाइ छ । ‘२२ गतेसम्म रिपोर्ट आउँछ, त्यसपछि संयन्त्रको बैठक बसेर, कसरी अगाडि बढ्ने भन्ने तय गरिन्छ,’ एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै