दाङ । राजनीतिकर्मी, त्यसमा पनि सार्वजनिक पद धारणा गरिसकेपछि हत्तपत्त श्रममा फर्किन रुचाउँदैनन् । दाङका पूर्व जिल्ला समन्वय समिति (जिसस) प्रमुख जितेन्द्रमान नेपाली भने फरक भइदिए ।
०७४ सालमा नेकपा एमालेबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका जितेन्द्रमान आफूले वर्षौदेखि गर्दै आएको टेलरिङ पेशामा फर्किएका हुन् । अहिले उनको दिनचर्या ग्राहकहरुको नापो लिने, कपडा काट्ने र सिलाउने भएको छ । ‘पाँच वर्ष जनताको काम गरें’ उनले भने, ‘कार्यकाल सकिएपछि आफ्नै टेलरिङ पेशामा फर्किएको छु ।’
जितेन्द्रमान एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि हुन् । तर राजनीतिसँगै टेलरिङ पेशालाई निरन्तरता दिएका छन् । किनकी राजनीतिक गर्ने हरेक अनिवार्य रुपमा श्रमसँग जोडिनुपर्ने धारणा राख्छन् । ‘राजनीतिमा लागेपछि श्रम नगरी पैसा कमाउने प्रवृति बढ्यो,’ उनले अनलाइनखबरसँग भने, ‘यसले राजनीतिलाई फोहोरी र धमिलो बनायो ।’
श्रम गर्दा उनलाई ‘नेता जस्तो मान्छेले के काम गरेको’ भनेर खिसिटिउरी गर्नेहरु नभएका होइनन् । तर उनले आफ्नो काम छाडेका छैनन् । ‘हरेक मान्छेले बाचुञ्जेल श्रम गर्नुपर्छ,’ श्रम गर्दा गर्वको अनुभूति हुने सुनाउँदै उनी भन्छन्, ‘म श्रम गरेर यहाँसम्म आएको हुँ । श्रम गर्न के लाज ?’
अपमानले सुरु गरेको व्यापार
जितेन्द्रमानले जीवनमा थुप्रै अभाव झेले, विभेद भोगे । सानैमा बाबु बितेपछि आमा, उनलाई छाडेर अन्यत्र हिंडिन् । त्यसपछि रोल्पाको होलेरीस्थित मामाको घरमा बसेर उनी हुर्किए । उनका मामा गाउँकै ‘विष्ट’का घरमा कपडा सिलाउन जान्थे । उनी पनि मामालाई सघाउँथे । वर्षभरी काम गरेको बदलामा केही धान, अन्न चामल पाउँथे ।
१६ वर्ष हुँदा उनी भारत गए । त्यहाँ कपडा सिलाउने पनि सम्मानित पेशा हुँदोरहेछ भन्ने बुझे । भारतमा पाँच वर्ष टेलरिङसम्बन्धी शिप सिके । ‘त्यो बेला धेरै दुःख गरेर टेलरिङसम्बन्धी सबै सिलाइ सिकें’ उनले भने ।
त्यसपछि दाङ फर्किए र टेलरिङ व्यवसाय सुरु गरे । त्यतिबेला जिल्लामा टेलरिङ खोल्ने उनी पहिलो नेपाली थिए । ‘भारतीयहरुले मात्र टेलरिङको काम गर्दथे,’ विगत सम्झिँदै जितेन्द्रमान भन्छन्, ‘सुरुमा त नेपालीले काम जानेको हुँदैन भनेर धेरैले पत्याएनन् ।’
विस्तारै उनको शिपलाई त पत्याए । तर जातीय विभेद रत्तिभर कम भएको थिएन । कोट लगाएर बजार जाँदा समेत होचोहेला भएको उनी सम्झिन्छन् । दलित भएर के लगाएको भनेर होच्चाएकै कारण लामो समयसम्म कोट लगाएनन् । ‘त्यो समय जातीय विभेदले जरा गाडेर बसेको थियो’ उनले भने, ‘प्रत्येक पाइलामा विभेद भोग्नु पर्थ्यो ।’
हरेक ठाउँमा विभेद भोगेका उनी कम्युनिष्ट विचारबाट प्रभावित हुँदै गए । २०३५ सालदेखि राजनीतिमा होमिए । २०३७ सालमा पञ्यायतका विरुद्धमा आन्दोलनका क्रममा भूमिगत समेत भए । ०४५ सालतिर पक्राउ समेत परे र १० दिन हिरासतमा बसे । भूमिगत हुँदा व्यवसायलाई निरन्तरता दिन सकेनन् । बहुदलप्राप्ती पछिको केही वर्षपछि भने उनले आफ्नो व्यवसाय जारी राखे । दलित आन्दोलनको समेत अगुवाइ गरे ।
जिसस प्रमुखको कार्यकाल सकिनु केही समयअघि मात्र उनी लण्डन घुमेर फर्किएका थिए । त्यहाँ उनले समाजवादको अभ्यास देखे ।
समाजवाद ल्याउने भनिरहेका दलहरुप्रति पनि उनी त्यती विश्वस्त छैनन् । नेपालमा श्रम गर्ने संस्कृतिको विकास नभएसम्म समाजवाद नआउने उनी सुनाउँछन् । बेलायतसँग तुलना गर्दै उनी भन्छन्, ‘हाम्रा दलहरु सिद्धान्तमा समाजवाद भन्छन्, तर व्यवहारमा पुँजीवाद झल्कन्छ । त्यहाँ भन्दैनन्, तर व्यवहार समाजवादको अभ्यास गर्छन् ।’
फेसबुक प्रतिक्रियाहरु