होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • किन पटक–पटक सर्दैछ एमाले बैठक ?
राजनीति

किन पटक–पटक सर्दैछ एमाले बैठक ?

माधव– झलनाथ पक्षलाई कारवाही गर्न ओली डराएकै हुन् ?

  • नागरिक रैबार
किन पटक–पटक सर्दैछ एमाले बैठक ?

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङलाई भने – ‘आज आइतबार साझ ५ बजे स्थायी समिति बैठक बस्ने खबर सबै सदस्यहरुलाई जानकारी दिनू ।’

अध्यक्ष ओलीको निर्देशनअनुसार तामाङले आइतबार दिउँसो १२ बजे नै स्थायी समितिका सदस्यहरुलाई ५ बजे बैठक बस्ने तय भएको जानकारी गराए ।तामाङले सदस्यहरुलाई यस्तो खबर पठाएको केही क्षणमै फेरि प्रधानमन्त्रीको सचिवालयबाट अर्को खबर आयो– आज बैठक बस्न नभ्याइने भयो, आजको बैठक भोलि बिहान १० बजे बस्नेगरी सदस्यहरुलाई जानकारी दिनू ।

तामाङले पुनः पौने ३ बजे सदस्यहरुलाई अत्यन्त जरुरी सुचना भन्दै आइतबार बेलुका ५ बजेको बैठक सोमबार बिहान १० बजे बस्ने गरी सरेको अर्को खबर पठाए ।सोमबार बिहान सदस्यहरु बैठकमा सहभागी हुन जाने तयारी गर्दै थिए । तर, सोमबार बिहान ८ बजे कार्यालय सचिव तामाङले फेरि अर्को जरुरी सूचना पठाए – अहिले १० बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक भोलि १८ गते बालुवाटारमा ११ बजे बस्ने ।

विज्ञापन

यसअघि नेकपा हुँदा बैठक बस्नै नमान्ने ओलीले अहिले पनि त्यही गर्न त खोजेका होइनन् ? पूर्वनेकपाका एक नेताले भने, ‘ओलीलाई बैठक बस्नु र नबस्नुमा केही फरक छैन । उनलाई मन लागे बैठक बसाउँछन्, नलागे रद्द गर्छन् । त्यही पनि बैठक बसेर छलफल गर्ने होइन । उनको बानी भनेको आफ्नो कुरा सुनाउने अनि त्यसैलाई निर्णय भन्ने चलन छ ।’

किन स्थगित हुन्छ पटक–पटक बैठक ?

नेकपा एमालेका नेताहरुलाई किन पटक–पटक बैठक स्थगित भइरहेको छ भन्ने प्रश्न गर्दा उनीहरुको एउटै जवाफ हुन्छ –आवश्यक तयारी र समय अभावले नै हो ।‘आज लुम्बिनीको राष्ट्रिय सभाको उपनिर्वाचन भएका कारणले भोलिलाई सरेको हो अरु केही कारण छैन’, एमाले संसदीय दलका नेता सुवास नेम्वाङ भन्छन्, ‘अरु त्यस्तो कुनै कारण होइन ।’

केन्द्रीय कार्यालयका सचिव तामाङ पनि आइबार प्रधानमन्त्रीको व्यस्तता र सोमबार लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रिय सभा उपनिर्वाचन कारणले आइतबार बोलाएको बैठक मंगलबार पुगेको बताउँछन् ।

‘आइतबारको बैठक प्रधानमन्त्री तथा अध्यक्षज्यूको समयको व्यस्तताले सरेको हो । सोमबार लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन भएकाले त्यसतर्फ पनि ध्यान केन्द्रित गर्नुपर्ने भएकाले बैठक मंगलबारलाई सारिएको हो’, तामाङको भनाइ छ ।

अरु कारण छैनन् ?

नेकपा एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । यही विवादका कारण गत सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहित अन्य ११ जना नेतालाई पार्टीको साधारण सदस्य नै नरहनेगरी निष्कासन गरेको थियो । सोही दिनको बैठकले थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

विपक्षी गठबन्धनमा सामेल भएको भन्दै नेपाल खनालसहित २३ जना प्रतिनिधि सभाका सदस्यमध्ये पहिला ११ र पछि बुधबार पुन १२ जनालाई पत्र पठाएर एमालेले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

पछिल्लो पटक स्पष्टिकरण सोेधिएका नेताहरूमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञराज सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा छन् । उनीहरु कसैले पनि स्पष्टीकरणको जवाफ दिएका छैनन् ।

एमाले विवाद समाधानका लागि गठित कार्यदलमा रहेका नेताहरुलाई नै स्पष्टीकरण सोधेपछि ओली पार्टी एकताको पक्षमा नरहेको भन्दै एमालेभित्रै आलोचना भएको थियो ।

आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन अग्रसर हुने तथा संसदीय मूल्यमान्यता विपरीत हिँडेकाले उनीहरुलाई पार्टीको साधारण सदस्यबाटै निस्कासन गर्ने तयारी अध्यक्ष ओलीको छ ।

खनाल नेपाल पक्षले आफ्नो विपक्षमा गठबन्धन बनाएकोमा ओली आक्रोशित बनेका छन् । आइतबारमात्रै बालुवाटारमा राष्ट्यि महिला दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले खनाल नेपालले अराजकता निम्त्याएको र अनिष्टको काम गरिरहेको बताएका थिए ।

‘तिनले खाएका सपथ देशकै विरुद्ध, बहुत ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तह यस्तो हुन्छ, माथिबाटै धमिलो पानी बगेपछि तल सङ्लो पानी कहाँ आउँछ ? माथिबाटै धमिलो पानी बगाउने काम भइराखेको छ । यो चिन्ताको विषय छ’, ओलीले खनाल नेपालप्रति लक्षित गर्दै भनेका थिए ।

त्यस्तै फ्लोर क्रस गर्ने, पार्टी फोड्ने र पार्टीका विरुद्ध अर्कै उम्मेदवार उठाउने काम गरेको भन्दै खनाल नेपाललाइ भनेका थिए

‘फ्लोर क्रस, पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्कै उम्मेदवार उठाउने दुनियाँमा कहीँ अहिलेसम्म नभएको, आफ्नो सरकारविरुद्ध कहिले सरकार ढाल्नका लागि विश्वासको मत नहाल्ने, मतदान नगरेर बाहिर बस्ने, कहिले अर्को सरकार बनाउनका लागि पुग्ने,’ ओलीले भने, ‘दलीय अनुशासन, दलीय मर्यादा, संसदीय प्रणाली या कुनै पनि अनुशासनको प्रणाली, तिनले खाएको शपथ झुटो हो । तीनको शपथ बेइमानी हो । तिनको शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ ।’

ओलीका यी आक्रोश र अभिव्यक्तिबाट बुझ्न सकिन्छ कि खनाल नेपाल समूहका सबै नेतालाई कारवाही गरेमात्रै एमाले सही ट्रयाकमा आउँछ भन्ने उनलाई लागेको । तर, ओलीको यो भनाइमा उनकै समुहका केही नेताहरु भने समहमत हुन सकेका छैनन् । जसले अझै पनि खनाल नेपाल समूहसँग वार्ताको प्रयास कायमै राखेका छन् ।

यद्यपि उनीहरुको आवाजलाई ओलीले गम्भीरतापूर्वक लिएका छैनन् । बैठक सर्नुमा यो कारणले पनि काम गरेको केही नेताको बुझाइ छ ।‘नेताहरुलाई कारवाही गरेर मात्र पनि समस्याको समाधान हुँदैन भन्ने आवाज नउठेको होइन । तर, त्यो आवाज अत्यन्तै झिनो छ’ ओली निकट एक नेता भन्छन्, ‘तत्काललाई कारवाही गर्दा समस्या समाधान भएजस्तो देखिए पनि यसको दीर्घकालीन असर पर्न सक्छ भनेर हामीले भनेका छौं ।’

ती नेताले कारवाही गर्दा पार्टी फुट्ने र त्यसको अपजस ओली समूहलाई जाने भएकाले पनि सकभर सहमतिबाटै अघि बढ्नुपर्नेमा जोड दिएको बताए ।‘नेकपा एमालेको इतिहास अत्यन्त लामो छ । पार्टी फुट्यो भने त्यो इतिहासका साथै लाखौँ नेता कार्यकर्ताको भावनामा चोट पुग्छ । त्यतिमात्रै होइन यसो गर्दा २०५४ सालमा वामदेवले पार्टी फुटाएपछिको अवस्थालाई पनि नजरअन्दाज गर्नुपर्छ’, ती नेताको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार