होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • साथीको सहयोगमा परीक्षा दिँदा….
समाचार

साथीको सहयोगमा परीक्षा दिँदा….

  • नागरिक रैबार
साथीको सहयोगमा परीक्षा दिँदा….

काठमाडौं । काँडाघारीकी सविता थापा १२ कक्षाको परीक्षा दिएपछि हिजोआज फुर्सदमा छिन् । करेन्ट लागेर दुबै हातको हत्केला गुमाएकी उनले साथीको सहयोगमा परीक्षा दिइन् । परीक्षा दिने साथी राम्रो पाएकामा खुशी उनी राम्रो आउनेमा आशावादी छिन् ।

त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा विज्ञान विषय पढेकी उनले विद्यालयले खोजिदिएको सहयोगी जीना तामाङको सहयोगमा दिइन् । जीना विश्व निकेतनमा नै व्यवस्थापन विषय पढिरहेकी छिन् । परीक्षाको अवधिमा उनीहरुबीच गहिरो मित्रता भयो । सवितालाई जीनाको सहयोगबाट राम्रो अंकमा पास हुने अपेक्षा छ ।

सविताले विद्यालयले लिने आन्तरिक परीक्षा आफैं लेखेर दिएकी थिइन् । तर अन्तिम परीक्षा भने सहयोगी मार्फत नै दिएकी हुन् ।

विज्ञापन

विद्यालय प्रधानाध्यापक हेरम्बराज कँडेल सविता एकदम मेहनती र उत्कृष्ट विद्यार्थीको रुपमा मूल्यांकन गर्छन् । उनी भन्छन् ‘उनी म अरुभन्दा कम छैन भन्ने आत्मविश्वासका साथ पढ्ने, प्रस्तुत हुने गर्छिन् । पढाइमा पनि एकदम राम्रो विद्यार्थी हुन् । विद्यालयको कोशिस पनि अरु भन्दा कमजोर महशुस नगराउनु नै हो ।’

प्लस टु सकेपछि एमबीबीएस पढ्ने उनको चाहना हो । तर आफ्नै शारीरिक अवस्था र परिवारको आर्थिक स्थितिका कारण उनी एमबीबीएस नपढ्ने योजनामा छिन् । ‘एमबीबीएस नै पढ्न नसके पनि फार्मेसी पढेर राम्रो गर्ने सोँचमा छु । मेडिकल सेक्टरमा नै काम गर्ने हो’ उनले भनिन् ।

सविता १३ वर्षकी हुँदा घरको छतमा लुगा उठाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर दुबै हातको हत्केलाको भाग गुमाइन् । त्यो घटना सम्झिँदै उनी भन्छिन् ‘पानी पर्न थालेपछि लुगा उठाउन गएको थिएँ । जीआईपाईप छुन पुगेछु, त्यहाँ बिजुलीको तारले छोएर करेन्ट आएको रहेछ ।’

त्यसपछिका दुई वर्ष उपचारलगायतका कारण उनले पढ्न पाइनन् । पहिले पढेको विद्यालयले पछि भर्ना लिन मानेन । अरु केही विद्यालयमा जाँदा पनि उनले भर्ना पाइनन् ।

त्यसपछि उनका बुवा राम थापाले छोरी लिएर भक्तपुर सानोथिमीस्थित शिक्षा विभागमा पुगे । विभागले जोरपाटी स्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यामिक विद्यालयका प्रधानाध्यापक राघब दवाडीसँग सम्पर्क गराइदिए ।

 

त्यसपछि सविता त्यही विद्यालयमा भर्ना भइन् । शुरुको केही समय उनलाई लेख्न गाह्रो भयो । दुबै हातको नारीको बीचमा कलम च्यापेर लेख्दै जाँदा विस्तारै बानी पर्दै गयो । पहिलो तथा दोस्रो त्रैमासिक परीक्षा आफैंले लेखेर दिन्थिन् भने अन्तिम परीक्षामा सहयोगी राख्थिन् । कक्षा १० को अन्तिम परीक्षा सहयोगी राखेर दिँदा उनलाई डर थियो । ‘पहिलो पल्ट अरुको सहयोगमा परीक्षा दिँदा डर लागेको थियो । त्यसपछि बानी भयो’ उनले भनिन् ।

त्यसपछि एसईई पनि सहयोगीको साथमा दिइन् । उत्कृष्ट अंक ल्याएर पास गरिन् । सानैदेखि विज्ञान विषयमा रुची भएकी सविताले केही निजी विद्यालयमा पढ्ने चाहना गरिन् । तर उनको शारीरिक अवस्था देखेर ती विद्यालयले भर्ना लिन आनाकानी गरे ।

उनी भन्छिन् ‘मेरो मार्कसिटलाई हेर्नु भन्दा पनि मेरो हातलाई हेरेर स्वास्थ्य समस्या आउन सक्छ भनेर भर्ना लिन गाह्रो माने ।’

विद्यालयले नै त्यसरी हतोत्साहित गर्दा उनलाई चित्त दुख्यो । ‘विद्यालय भनेको त सबैले आफ्नो महशुस गर्नुपर्ने हुन्छ । शारीरिक बनावटलाई लिएर हौसला दिनको सट्टा सक्दैनौ भन्दा त चित्त दुख्छ नि ।’

विद्यालय खोज्दै जाँदा सविताका अभिभावक त्रिपुरेश्वरस्थित विश्व निकेतन विद्यालय पुगे । त्यहाँ भने उनले भर्ना पाइन् । पढाइमा पनि सबै शिक्षकको सहयोग, साथीहरुको सहयोग रह्यो । उनलाई विज्ञानको पनि जीवविज्ञानमा बढी रुची छ । भन्छिन् ‘मलाई कीटाणु, ब्याक्टेरियाको विषयमा पढ्न, उनीहरुको गुण, दोष, विशेषता जान्न रमाइलो लाग्छ ।’

No description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार