काठमाडौंमा आयोजित आमसभामा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘धरहरा र रानीपोखरी केपी ओलीले बनाएको होइन’ भन्दै भाषण गरेपछि सामाजिक सञ्जालमा ट्रोल बन्यो । टिकटकमा मानिसले रमाइलो गरे ।
संसद विघटनविरोधी आन्दोलनमा भाषण गर्दा एमाले बरिष्ठ नेता खनालले धरहरा र रानीपोखरीबारे दिएको प्रतिक्रिया यस्तो थियो –
‘के केपी ओलीले रानीपोखरी बनाको हो ? त्यो त कालीगढहरुले बनाए नि । धरहरा केपी ओलीले बनाको हो ? केपी ओलीको पालामा बन्यो होला । तर, त्यो त सिकर्मीहरूले बनाए । कालिगढहरुले बनाए । इञ्जिनियरहरुले बनाए । वहाँहरुलाई हामीले धन्यवाद दिनुपर्छ । निक्कै चाँडै बनाए उनीहरुले ।’
अन्ततः अहिले रानीपोखरीपछि धरहरा ठडिएको छ । प्रधानमन्त्री शर्मा ओलीले धरहराको उदघाटन गरिसकेका छन् । यद्यपि सबै संरचनाहरु बनिसक्न बाँकी रहेकाले सर्वसाधारणका लागि टिकट बुकिङ भने खुलिसकेको छैन । सामाजिक सञ्जालमा धरहरा बनेको जस प्रधानमन्त्री केपी शर्मा ओलीले पाइरहेका छन् ।
यसै सन्दर्भमा हामीले पूर्वप्रधानमन्त्री खनाललाई उनले पुसमा गरेको धरहरासम्बन्धी भाषण सम्झायौं । खनाललाई हामीले सोध्यौं, ‘यहाँले गर्नुभएको भाषणको ट्रोल बनेको तपाईले थाहा पाउनुभयो कि भएन ? थाहा पाउनुभयो भने यसबाट तपाईलाई कस्तो अनुभूति भयो ? त्यसबेला धरहरा र रानीपोखरीबारे तपाईले खासमा के भन्न खोज्नुभएको थियो ?’
पूर्वप्रधानमन्त्री खनालले आफ्नो पुरानै भनाइप्रति अडान दोहोर्याउँदै धरहरा र रानीपोखरी निर्माणबारे आफ्नो दृष्टिकोण यसरी प्रष्ट्याए–
कहिलेकाहिँ हामीले बोलेका कुराहरुलाई कतिपय मिडियाहरुले बङ्ग्याउने टिंग्याउने भाचँभुच पार्ने र आफ्नै ढंगले त्यसलाई प्रयोग गर्ने कामहरु गर्छन्, ठीक त्यस्तै भएको हो त्यो ।
म अहिले पनि भन्छु, धरहरा… केपी ओलीले इँटा चैं राख्नु भो कि राख्नुभएन ! शिलान्यास गर्दा राख्नुभो होला । त्योभन्दा बाहेक अर्को कुनै इँटा उहाँले राख्नुभएको छ त ? छैन नि । उहाँको कार्यकालमा बन्यो । हो, नाक फुलाउने कुरा यतिमात्र हो ।
यस्ता पुनर्निर्माणका कामहरु सबै नै स्थायी सरकारले गरिरहने कुरा हो । त्यहाँ केपी ओली नभएर अर्को कुनै ओली भएको भए पनि यो धरहरा बन्थ्यो । केपी ओलीकै कारणले धरहरा बन्यो, मलाई त्यस्तो लाग्दैन । केपी ओलीकै कारणले रानीपोखरी बन्यो, मलाई त्यस्तो लाग्दैन ।
त्यो काठमाडौं महानगरपालिकाले बनाएको योजनाअनुसार बनेको छ । त्यो पुनर्निर्माण प्राधिकरण भन्ने हामीले बनाएका छौं, त्यो पुनर्निर्माण प्राधिकरणका सचिवले मलाई हिजोमात्रै फोन गरेर यसको उदघाटन गर्ने कार्यक्रम बनाएका छौं भनेर सूचना गर्नुभएको थियो । बनाएको त त्यो पुनर्निर्माण प्राधिकरणले हो नि । अब जस पो केपी ओली आफैं लिँदै हुनुहुन्छ । यो जस उहाँले एकलौटी नगरेपनि हुन्छ ।
यो साँच्चि नै त्यहाँका सारा कालिगढहरुले, स्थानीय सरकार, अनि सारा प्राविधिकहरु, सारा ईन्जिनियरहरु, त्यो अवधारणा निर्माण गर्ने अध्येताहरु सबैले बनेको सामुहिक फल हो । यसकारणले त्यस्ता कुराहरुका बारेमा कसैले पनि प्रशस्ती लिन कोशिस गर्नुहुँदैन । यो कुनै व्यक्तिलाई देवत्वकरण गरेजस्तै हो ।
राजाका पालामा जे–जे बने, सबै राजाले बनाए भन्दै हिँडे नि, यो त्यस्तै होे । त्यस्तो हुनुहुँदैन । कम्युनिष्ट पार्टीको नेतृत्वमा पार्टीको कुनै नेता हुन्छ, अनि सबै कुराहरु उसको कार्यकालमा बनेका चिजहरु उसले बनाएको हुन्छ त ? हुँदैन । तर, जस कहिलेकाँही जुन व्यक्तिको नेतृत्वमा भएको हुन्छ, त्यो व्यक्तिको कालखण्डमा बन्यो भने हुन्छ ।
वास्तविक अवधारणा भन्ने हो भने त रानीपोखरीको अवधारणा प्रताप मल्लकी रानीले बनाएको हो । त्यो अवधारणाबाट विकसित भयो । एउटा सम्झनामा केही बनाइदेऊ, मलाई साह्रै शोक लाग्यो छोराको भनेपछि सम्झनामा के बनाउने भनेर सल्लाह गर्दा रानीलाई त्यतिबेलाका कालिगढहरुले यस्तो बनाऔं भनेर सुझाव दिए, त्यसपछाडि रानीपोखरी खडा भयो ।
त्यसरी नै भीमसेन थापाले धरहरा बनाएको हो, त्यो अवधारणा त त्यतिबेला आएको हो ।
फेसबुक प्रतिक्रियाहरु