काठमाडौँ — एमाले नेता वामदेव गौतमले गत फागुन २८ को निर्णय नसच्याएसम्म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ नदिने प्रस्ट्याएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बेलुकी भएको डिनर मिटिङमा पनि आफूले ओलीलाई सोही कुरा बताएको उनले जनाएका छन् ।
गौतमले विज्ञप्तिमा उल्लेख गरेअनुसार बेलुकी ८ बजे भएको डिनर मिटिङमा ओलीले उनलाई पार्टी काममा फर्कन अनुरोध गरेका थिए । त्यसको बदलामा गौतमले फागुन २८ को बैठकले गरेको निर्णय अवैधानिक रहेको भन्दै फिर्ता लिन अनुरोध गरे । ‘उहाँले ती निर्णय फिर्ता हुुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ,’ गौतमले विज्ञप्तिमा भनेका छन्, ‘डिनर चल्दै थियो, नमस्कार गरेर म बिदा भएँ ।’
डिनर मिटिङमा कानुन मन्त्री लीला श्रेष्ठ र एमाले मुख्य सचेतक विशाल भट्टराई पनि सहभागी थिए ।
ओली समूहले फागुन २८ गते एकपक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर महाधिवेशनबाट निर्वाचित भएका माधव नेपाल समूहका नेताहरूको जिम्मेवारी खोस्नुका साथै पदसमेत खारेज गरिदिएको थियो ।
गौतमसँग भेट्नुअघि बिहीबार दिउँसो ओलीले माधव नेपालसँग वान टु वान वार्ता गरेका थिए । तर दुवै नेता आ–आफ्नै लय नछोड्ने उद्घोषसहित छुट्टिएका थिए ।
भेटमा नेपालले फागुन २३ यता एमाले पार्टीका नाममा एकलौटी गरिएका सबै निर्णय फिर्ता लिए मात्रै सहमति जुट्न सक्ने अडान राखेकामा ओलीले असहमति जनाएका थिए । नेपाल समूहसँग कुरा मिल्ने छाँट नदेखिएपछि ओलीले अर्का नेता गौतमको साथ खोजेका हुन् ।
फेसबुक प्रतिक्रियाहरु