होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • ‘हरेक व्यक्तिसँग विशेष खूबी छ, तर स्वयम्ले भेउ पाएका छैनन्’
स्वास्थ्य-जीवनशैली

‘हरेक व्यक्तिसँग विशेष खूबी छ, तर स्वयम्ले भेउ पाएका छैनन्’

  • नागरिक रैबार
‘हरेक व्यक्तिसँग विशेष खूबी छ, तर स्वयम्ले भेउ पाएका छैनन्’

मलाई लाग्छ, हरेक व्यक्तिमा कुनै न कुनै विशेष खूबी हुन्छ । प्रतिभा हुन्छ । त्यसैगरी हरेकको आ–आफ्नै कमजोरी पनि ।

मान्छेको सक्षमता वा अक्षमता भन्ने कुरा तपाईं कहाँ उभिएर हेरिरहनुभएको छ भन्ने कुराले पनि निर्धारण गर्छ । जस्तो सबै आँखा देख्ने व्यक्तिहरूको बीचमा म दृष्टिविहीन उभिएँ भने, त्यहाँ सबैभन्दा कमजोर देखिन सक्छु । तर, दृष्टिविहीनको भीडमा एक जना आँखा देख्ने मान्छे उभ्याइयो भने उनी त्यहाँ कमजोर लाग्न सक्छन् ।

 

विज्ञापन

हामी दृष्टिविहीनहरू अँध्यारोसँग भाग्दैनौं । अँध्यारोले हामीलाई कत्ति पनि बाधा गर्दैन । जहाँ कुनै उज्यालो छैन, त्यहाँ पनि हामी आफ्नो ढंगले हिंडडुल गर्न सक्छौं । लेख्न र पढ्न सक्छौं । आफ्नो दिनचर्यालाई उही लयमा गतिशील बनाउन सक्छौं । तर, दृष्टियुक्त व्यक्तिका लागि यो संभव छैन ।

यसको अर्थ के भने, कुन व्यक्ति कति अशक्त वा सशक्त भन्ने कुरा हामी कहाँ उभिएर उसको मूल्यांकन गर्छौं भन्ने कुराले निर्धारण गर्छ ।

त्यसैले कुनै पनि व्यक्ति शारीरिक रूपले अशक्त छ भन्दैमा ऊ सक्षम छैन भनेर हेर्नु हाम्रो दृष्टिदोष हो ।

 

चाहे शारीरिक रूपले सद्दे मान्छे होस् वा शारीरिक रूपले अशक्त, दुवैमा कुनै न कुनै विशेष दक्षता हुन्छ । तर, यस्तो दक्षता त्यो घडीमा मात्र प्रकट हुन्छ, जब चुनौती र अप्ठ्याराहरूले घेरा हाल्न थाल्छ ।

भनिन्छ नि– समस्या, अप्ठ्यारा, चुनौती हामीलाई तहसनहस गर्नका लागि आउँदैन । बरु, हामीभित्र रहेको दक्षतालाई उजागर गर्नका लागि आउँछ । मान्छेको प्रवृत्ति कस्तो हुन्छ भने सामान्य अवस्थामा उनीहरू केही गर्दैनन् । सबै कुरा ठीकठाक छ भने मान्छेले केही गर्दैन । उसको जीवनमा कुनै उतारचढाव आउँदैन । उसले कुनै उन्नति प्रगति गर्दैन ।

तर, जुन दिन मान्छे भयानक संकटमा फस्छ उसले त्यो संकटबाट उन्मुक्ति पाउने अनेक यत्न गर्छ । उपाय खोज्छ । संघर्ष गर्छ । चुनौती मोल्छ । हो, यहीबेला उसले आफूसँग भएको क्षमता भरपुर प्रयोग गर्छ ।

एउटा सामान्य उदाहरण ।

तपाईं कति दौड्नुहुन्छ ? यो प्रश्नको जवाफ स्वयम् तपाईंसँग छैन । अर्थात् तपाईंलाई आफ्नै दौड्ने क्षमता पनि थाहा छैन । कुनैबेला तपाईं दौड्नुहुन्छ । सक्दो दौड्नुहुन्छ । तीव्रतासाथ दौड्नुहुन्छ । घडी हेरेर दौड्नुहोस् तपाईंले कति समय अवधिमा कति दूरी पार गर्नुभयो ? एउटा खाका निकाल्न सक्नुहुन्छ ।

तर, के तपाईंको दौड्ने क्षमता यति नै हो ?

होइन । तपाईं सामान्य अवस्थामा जतिसुकै द्रुत दौड्नुहोस् त्यो तपाईंको दौड्ने अन्तिम क्षमता होइन । तर, जब तपाईंलाई हिंस्रक बाघले लखेट्छ, त्यसबेला तपाईं बेतोडले दौड्नुहुन्छ । दौडिएन भने ज्यान जोखिममा छ । त्यसैले मृत्युबाट उम्कनका लागि तपाईं भएभरको शक्ति लगाएर दौड्नुहुन्छ । हो, यतिबेला तपाईं जुन गतिमा, जुन तीव्रताका साथ दौड्नुहुन्छ, तपाईंको वास्तविक दौड्ने क्षमता यही हो ।

तर, हामी अन्य दिनमा कहाँ यसरी दौडन्छौं ?

समस्यारूपी बाघले नखेदेसम्म हामी आफ्नो क्षमताको पूर्ण प्रयोग गरेर अगाडि नै बढ्दैनौं । त्यसैले समस्या जरूरी छ, अगाडि बढ्नका लागि ।

यसो भन्दैमा समस्या नआई केही गर्न हुन्न भन्ने पनि होइन । जीवनमा हामीले केही लक्ष्य तय गर्नुपर्छ । केही गर्ने अठोट लिनुपर्छ । तब लक्ष्य प्राप्तिका लागि हामी जोडदार रूपले आफ्नो क्षमताको प्रयोग गर्नुपर्छ ।

दृष्टिविहीन हुनु भनेको मेरो लागि समस्यारूपी बाघ थियो । समाजबाट म अलग जस्तै भएकी थिएँ । मप्रति गलत व्याख्या गरिन्थ्यो । टीकाटिप्पणी गरिन्थ्यो । मलाई करुणा र दयाको पात्र बनाइन्थ्यो । हो, यही धारणा नै मेरो लागि समस्यारूपी बाघ थियो ।

यस्तो अवस्थामा मैले के संकल्प गरें भने म अपाङ्गतामा होइन, आफ्नै क्षमता र खूबीको जगमा बाँच्नुपर्छ भन्ने लाग्यो । त्यसपछि मैले आफैंभित्र हेरें, आखिर मभित्र के छ ? मेरो खूबी वा दक्षता के हो ?

यही कुरा पहिल्याएँ । त्यसको भरपुर प्रयोग गरें । आफ्नो क्षमता, सक्षमतालाई निखार्दै अगाडि बढें । दृष्टिविहीन हुनु भनेको म आफ्नो लक्ष्यमा अर्जुनदृष्टि लगाउन सक्ने भएकी हुँ । दायाँबायाँ कुरामा भड्किन नदिई आफ्नो काममा एकाग्रता हुनका लागि हो । अतः त्यही अनुरूप मैले शतप्रतिशत ध्यान पढाइ र आफ्नो प्रतिभा उजागर गर्नमा लगाएँ । मैले केही गर्नुपर्छ भनी बारम्बार आफैंलाई घचघच्याइरहें । आज म जुन ठाउँमा उभिएकी छु, त्यहाँसम्म आइपुग्न मलाई समस्यारूपी बाघले लखेटेर नै हो ।

बाघले लखेट्दा आत्तिनु, विचलित हुनुपर्दैन । बरु त्यससँग कसरी जुध्ने वा मुक्त हुने भनेर उपाय खोज्नु । र, जतिसक्दो उच्च गतिमा दौडिएर सफलताको शिखरमा पुग्नु ।

 

१६ वर्षको उमेरमै सृष्टिका दुवै आँखाको दृष्टि गुम्यो । सामान्य जीवनमा रमाइरहेकी सृष्टिले दृष्टिविहीन भएपछि के–कस्ता दुःख भोग्नुप¥यो ? जीवनका कठिन क्षणहरूसँग कसरी पौंठेजोरी खेलिन् ? आफ्ना इच्छा र आकांक्षालाई कसरी दृढतासाथ ज्यूँदो राखिन् ? अटुट संघर्ष, उच्च आत्मबल र निरन्तरको प्रयासबाट कसरी आफ्नो जीवनलाई उन्नत र सप्तरंगी बनाइन् ? प्रस्तुत छ, सृष्टि शृंखला । यो उनको जीवन–भोगाइ र केही प्रेरणाका कुरा हुन् । –

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै