होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादीको बैशाखी टेकेर चुनाव जित्ने ओली समूहका नेताहरु
समाचार

माओवादीको बैशाखी टेकेर चुनाव जित्ने ओली समूहका नेताहरु

  • नागरिक रैबार
माओवादीको बैशाखी टेकेर चुनाव जित्ने ओली समूहका नेताहरु

काठमाडौं। गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले नेकपाको एकता प्रक्रिया भंग भएपछि नेकपा चार टुक्रामा फुटेको छ। साविक २०७० को निर्वाचनमा दोस्रो दल बनेको नेकपा (एमाले) यतिबेला ३ टुक्रामा फुटेको छ। नेकपा (माओवादी केन्द्र) भने मूलतः साविककै अवस्थामा फर्किएको छ।

संसदको अंकगणितमा अप्ठ्यारो परिस्थितिमा रहेका प्रधानमन्त्री ओली संसद भंग गरेर निर्वाचनमा जाने ‘बालहठ’ अझै छोडेका छैनन्। ताजा जनादेशमा गएर दुईतिहाइ बहुमत ल्याउने र फेरि सिंहदरबारको शासन गरिरहने उनको सार्वजनिक अभिव्यक्ति एमालेको वस्तुगत धरातलसँग कति मेल खाला ? यो कुरा आगामी निर्वाचनले देखाउने नै छ। तर, तत्कालका दृष्टिले हेर्दा यही परिस्थितिमा निर्वाचन भएमा ओली समूह राष्ट्रिय राजनीतिबाटै बडारिने खतरा उत्तिकै छ।

नेपालका कम्युनिस्ट पार्टीहरुलाई आउने मत स्थीर देखिँदैन। २०६४ को निर्वाचनमा माओवादीलाई मतदान गरेका मतदाता २०७० सम्म आउँदा एमालेको पक्षमा उभिए। २०७० को निर्वाचनमा माओवादी कमजोर हुनुका मूलतः तीन कारण थिएः १. प्रतिवद्धताअनुसार काम गर्न नसक्नु, २. पार्टी विभाजित हुनु, ३. संविधान सभाको म्याद थपेर संविधान निर्माण गर्न नसक्नु। अहिले एमाले त्यही नियतिमा छ। वाम गठबन्धनको चुनावी घोषणापत्र अलपत्र पर्नु, एमाले तीन टुक्रामा विभाजित हुनु, प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गर्नु, भ्रष्टाचार र कुशासनको जालो राज्य नै अस्तव्यस्त हुनुजस्ता कारण अहिलेको एमालेले २०७० को माओवादीको भन्दा खराब परिणाम भोग्नुपर्ने देखिएको छ।

विज्ञापन

एमाले तीन टुक्रामा विभाजित भएको छ। विभाजितमध्ये माधव नेपाल समूह शक्तिशाली समूहमा पर्दछ। गत नवौं महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित डा. भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिवमा निर्वाचित घनश्याम भुसाल, सचिवमा निर्वाचित योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्यदेखि अध्यक्ष ओलीसँग ५६ भोटले हारेका माधवकुमार नेपाल, महासचिवमा ६ भोटले पराजित सुरेन्द्र पाण्डेसम्मका नेताहरु नेपाल समूहमा उभिएका छन्।

१५ वर्षभन्दा लामो अवधि एमालेको महासचिव रहेका नेपालसँग बौद्धिक र जनस्तरमा भिजेका पाका नेताहरुको पंक्ति छ। युवा, विद्यार्थी र संसदीय मोर्चामा केही कमजोर भए पनि अन्य संगठनमा बलियो प्रभाव राख्ने नेपाल समूह ओलीको विपक्षमा उभिँदा ओलीले आगामी निर्वाचन ‘फेस’ गर्न सजिलो छैन।

ताजा जनादेशका लागि मरिहत्ते गरेका ओलीले २०५६ को मालेको नियति भोग्नुपर्ने तर्क गर्नेहरु धेरै छन्। २०५४ मा एमाले विभाजित हुँदा संस्थापनको नेतृत्व गरेका नेपाल, प्रतिपक्षी धाराको नेतृत्व गरेका वामदेव गौतम र एमालेको संस्थापन कालको नेतृत्व गरेका झलनाथ खनालजस्ता नेताहरु नहुँदा ओलीको भोलि चुनौतीको पहाड देखिन्छ।

२०७४ को निर्वाचनमा वाम गठबन्धन बनाई साझा घोषणापत्रसहित चुनाव लडेका कारण त्यसको सबैभन्दा बढी फाइदा ओली समूहलाई नै हुन गएको छ। २०६४ को निर्वाचनमा पराजित भएका, २०७० को निर्वाचनमा झिनो मतले जितेका ओलीदेखि एक्लै लड्दा कहिल्यै चुनाव नजित्ने ईश्वर पोखरेलसम्मका नेताहरुले २०७४ मा माओवादीको मत र वाम गठबन्धनको चुनावी माहौललाई ‘चुनावी भर्‍याङ’ बनाएका थिए। तर, अब त्यो परिस्थिति रहेन।

ओलीनिकटकै नेताहरुले एमाले फुटेमा आगामी निर्वाचनमा ओली समूहले एकसिट पनि जित्न नसक्ने भन्दै एकताको बिकल्प नरहेको बताउन थालेका छन्। एकातिर एमाले ३ टुक्रामा फुट्ने अर्कोतिर प्रचण्ड–माधव नेपालको एकता र उपेन्द्र–बाबुरामसहितको चुनावी मोर्चा बन्ने सम्भावना बढिरहेका बेला ओली पक्षका नेताहरु राजनीतिक भविष्यलाई लिएर चिन्तित देखिनु स्वाभाविकै हो।

यहाँ २०७४ को निर्वाचनमा वाम गठबन्धनका आधारमा निर्वाचित ओली समूहका केही नेताहरुको मतपरिणामको विवेचना गरिएको छ। यद्यपि, नेपालमा वामपन्थी शक्तिहरु विभाजित भएको अवस्थामा वामपन्थी मत अस्थीर भइरहने कारण २०५६, २०६४, २०७० को मतपरिणामको पनि हिसाब राखेर २०७४ को विश्लेषण गर्नुपर्ने हुन्छ।

१. केपी शर्मा ओलीः– झापा क्षेत्र नं.– ५ बाट निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीका लागि आगामी निर्वाचन सहज देखिँदैन। २०७४ को निर्वाचनमा ५७१३९ मत प्राप्त गरेका ओली माओवादी र राप्रपाको समेत समर्थनमा चुनावी मैदानमा खडा भएका थिए। उक्त निर्वाचनमा नेपाली कांग्रेसका खगेन्द्र अधिकारी २८२९७ मत प्राप्त गरेका थिए। महागठबन्धनसँग प्रतिस्पर्धा गर्दा अधिकारीले ल्याएको २८२९७ मतलाई सामान्य मान्न सकिँदैन, जुन मत आगामी निर्वाचनमा विजयका लागि सहज मत हो।

झापा जिल्लामा समानुपातिकतर्फ नेकपा एमालेले १६०६३९, नेपाली कांग्रेसले १२१४८९, नेकपा माओवादी केन्द्रले ३३३९९ र राप्रपाले ३२८२० मत प्राप्त गरेका थिए। उक्त सबै मतबिच एकल प्रतिस्पर्धा हुँदा निर्वाचन जित्न ओलीका निम्ति सहज छैन। त्यसमाथि एमाले तीन टुक्रामा फुटेका कारण साविक एमालेकै मतमा भारी गिरावट आउने निश्चित छ।

२. ईश्वर पोखरेलः– निर्वाचनमा पटकपटक पराजित हुँदै आएका ओली समूहका नेता ईश्वर पोखरेल २०७४ मा वाम गठबन्धनको बलमा निर्वाचित भएका थिए। काठमाडौं–५ बाट प्रतिस्पर्धा गरेका पोखरेलले २३०२९ मत ल्याउँदा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले १३१६९ मत प्राप्त गरेका थिए। काठमाडौंका अधिकांश स्थानमा ओली समूहले माओवादी केन्द्रका उम्मेदवारहरुलाई अन्तर्घात गरे पनि माओवादीको सबैजसो मत पोखरेललाई गएको दावी गरिन्छ। निर्वाचनमा काठमाडौं–५ बाट विवेकशील साझाका उज्जवल थापाले ६८५३ मत प्राप्त गरेका थिए, जुन मतका कारण पनि पोखरेलका लागि विजय सहज भएको देखिन्छ।

काठमाडौं जिल्लामा समानुपातिकतर्फ नेकपा एमालेले १४७७९६, नेपाली कांग्रेसले १२२०९४, विवेकशील साझाले ६१८०५, माओवादी केन्द्रले ३१४३२ र राप्रपाले १४८९९ मत प्राप्त गरेको थियो। झापामा एमाले–राप्रपा तालमेल गरिएका कारण काठमाडौंमा राप्रपाको मत पनि पोखरेलको पक्षमा परेको थियो। तर, समानुपातिकको मत परिणाम हेर्दा आगामी निर्वाचनमा पोखरेलका लागि जीत निकाल्न असम्भवजस्तै देखिन्छ।

३. प्रदीपकुमार ज्ञवालीः– ओली समूहका बौद्धिक र शालिन नेता मानिने ज्ञवाली २०६४ र २०७० को निर्वाचनमा पराजित भए पनि २०७४ को निर्वाचनमा गुल्मी क्षेत्र नं.–१ बाट विजयी भएका थिए। ज्ञवालीले ३७८१४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीले ३०२५६ मत प्राप्त गरेका थिए। माओवादीको समेत बलियो मत रहेको गुल्मीमा आगामी निर्वाचन ज्ञवालीका लागि सहज देखिँदैन।

४. पृथ्वीसुब्बा गुरुङः– लमजुङ जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले २३०८८ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद कोइरालाले १५१०२ मत प्राप्त गरेका थिए। माओवादीको बलियो संगठन मानिने लमजुङमा आगामी निर्वाचन गुरुङका लागि जोखिमपूर्ण नै देखिन्छ।

५. शंकर पोखरेलः– दाङ जिल्लाको निर्वाचन क्षेत्र नं.–२ (क) बाट प्रदेश सभामा निर्वाचित पोखरेलले २०७२३ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कमलकिशोर शर्मा घिमिरेले १११७२ मत प्राप्त गरेका थिए। माओवादी र कांग्रेसको प्रभाव क्षेत्र मानिने दाङमा वामगठबन्धनबाट चुनाव लडेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलका लागि आगामी निर्वाचन जोखिमपूर्ण छ। प्रदेश राजधानीका कारण केही सहानुभूति रहे पनि उनी जिल्लामा लोकप्रिय मानिँदैनन्। एमाले विभाजित रहेको अवस्थामा पोखरेलका लागि चुनाव फलामको च्यूरा सावित हुने देखिन्छ।

६. सुवासचन्द्र नेम्वाङः– इलाम क्षेत्र नं.–२ बाट निर्वाचित संविधान सभाका अध्यक्ष नेम्वाङले २०७४ को निर्वाचनमा ३६५१७ मत प्राप्त गरेका थिए। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका केशव थापाले २६८६५ मत प्राप्त गरेका थिए। जनता समाजवादी पार्टीको मत प्रभाव रहेको उक्त क्षेत्रमा आगामी निर्वाचनमा जीत निकाल्न कठिन देखिन्छ। एमाले विभाजनको प्रत्यक्ष असर उनको क्षेत्रमा पनि देखिनेछ।

७. कृष्णगोपाल श्रेष्ठः– पटकपटक पराजित हुने गरेका श्रेष्ठ यसपटक वामपन्थी मतका कारण काठमाडौं–९ बाट निर्वाचित भएका थिए। २०७४ को निर्वाचनमा उनले २२८५२ मत प्राप्त गरेका थिए भने कांग्रेसका ध्यानगोविन्द रञ्जितले १४८०२ प्राप्त गरेका थिए। काठमाडौंमा समानुपातिकतर्फ एमाले र कांग्रेसको मत समानान्तर रहेको, नेकपाको एकता भंग भएको र एमाले विभाजित भएकाले उनका लागि जीत असम्भव बन्दै गएको देखिन्छ।

८. गोकुल बास्कोटाः– चुनावी टिकटकै बेला विवादमा आएका नेता बास्कोटालाई ओली समूहकै पूराना नेताहरुले मत राखेर निर्वाचन जित्न सहज बनाएका थिए। काभ्रे–२ बाट ५५५२६ मत प्राप्त गरी चुनाव जितेका उनको जनमत दिन प्रतिदिन ओरालो लाग्दै गएको छ। भ्रष्टाचार अभियोगमा मन्त्रीबाट बर्खास्तीपछि उनका आलोचकहरु ज्यामितीय रुपमा बढेका छन्। वाम गठबन्धनका कारण कांग्रेसका मधुप्रसाद आचार्यले ३६७५३ मत मात्र प्राप्त गरे पनि काभ्रेमा कांग्रेस र माओवादीको बलियो जनमत देखिन्छ।

काभ्रेमा २०७४ को निर्वाचनमा समानुपातिकतर्फ एमालेले ७०३६०, कांग्रेसले ६५७४२ र माओवादीले ३१६२० मत प्राप्त गरेको थियो। भर्खरै नेपाल समूहले काभ्रेमा समानान्तर कमिटी बनाएर आफ्ना गतिविधि अगाडि बढाएका कारण बास्कोटा थप अप्ठ्यारोमा परेका छन्।

९. शेरबहादुर तामाङः– सिन्धुपाल्चोक क्षेत्र नं.–२ बाट निर्वाचित तामाङ एमालेमा नेपाल समूहबाट भर्खरै ओली समूहमा प्रवेश गरेका नेता हुन्। २०७४ को निर्वाचनमा उनले ३८४०१ मत ल्याउँदा राप्रपाका पशुपति शमशेर जबराले ३०३६९ मत प्राप्त गरेका थिए। जिल्लामा सबैभन्दा बलियो माओवादी केन्द्र, त्यसपछि नेपाली कांग्रेस, तेस्रोमा राप्रपा, चौंथोमा माधव नेपाल समूह देखिन्छ। एमालेभित्र नेपाल समूहको पकड रहेका कारण आगामी निर्वाचनमा तामाङले हात धुनुपर्ने देखिन्छ।

१०. खगराज अधिकारीः– कास्की क्षेत्र नं.–१ बाट निर्वाचित अधिकारीले २०७४ को निर्वाचनमा ३९२४२ मत प्राप्त गरेका थिए। निर्वाचनमा पटकपटक पराजित हुँदै आएका अधिकारी यसपालि माओवादीको बलमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए। २०७४ को निर्वाचनमा कांग्रेस नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले २५८२६ मत प्राप्त गरेका थिए, जो २०७० को निर्वाचनमा त्यही क्षेत्रबाट विजयी भएका थिए।

११. भानुभक्त ढकालः– मोरङ क्षेत्र नं.–३ बाट ढकाल झिनो मतले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनले २०७४ को निर्वाचनमा ४२४१३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुनिलकुमार शर्माले ४०५०६ मत प्राप्त गरेका थिए। मेडिकल उपकरण खरिदमा अर्बौंको भ्रष्टाचारको अभियोग लागेका ढकालका निम्ति आगामी निर्वाचन जित्न सम्भव देखिँदैन।

१२. लालबाबु पण्डितः– कुनै बेला नेपाल समूहनिकट मानिने पण्डित प्रतिनिधि सभा भंग गर्ने पुस ५ गतेको कदमपछि ओली समूहमा लागेका छन्। उनले २०७४ को निर्वाचनमा मोरङ–६ बाट ३३९४१ मत प्राप्त गरेका थिए। गठबन्धनसँगको निर्वाचनमा कांग्रेस नेता डा. शेखर कोइरालाले ३३२६६ मत प्राप्त गरेका थिए। निर्वाचन क्षेत्रमा पण्डितभन्दा कोइराला निकै स्थापित र जनमतका दृष्टिले समेत अगाडि मानिन्छन्। यसपटक पण्डितले माओवादीकै मतका आधारमा निर्वाचित भएका थिए।

१३. रघुवीर महासेठः– धनुषा क्षेत्र नं.–४ बाट निर्वाचित महासेठले २०७४ को निर्वाचनमा २२५३२ मत प्राप्त गरेका थिए। निर्वाचनमा कांग्रेसका महेन्द्र यादवले १९९९१ मत प्राप्त गरेका थिए। मधेशवादी दलको समेत बलियो उपस्थिति रहेको उक्त क्षेत्रमा माओवादीको मतले महासेठ प्रतिनिधि सभामा निर्वाचित भएका हुन्।

यथास्थितिमा निर्वाचन भएमा ओली समूह चौंथो दलसमेत बन्न मुस्किल देखिन्छ। फुटको मनोविज्ञानले निर्वाचनमा कति धेरै असर पर्छ भन्ने कुरा ओली समूहले हेक्का राखेको देखिँदैन। तर, भविष्यमा सायदै विजयी हुने नेताहरु माओवादीको मतले विजयी भए पनि उनी माओवादीप्रति असहिष्णु देखिँदै आएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार