नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आइतबार प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिए। राजीनामा दिए पनि सभामुख अग्निप्रसाद सापकोटाले उनको राजीनामा स्वीकृत भएकोबारे सोमबार दिउँसोसम्म औपचारिक सूचना प्रकाशित गरेका छैनन्।
संविधानको धारा ८९ को (क) अनुसार सांसदले राजीनामा दिएपछि उक्त स्थान रिक्त भएको मानिन्छ। सभामुखले स्वीकृत वा अस्वीकृत गर्न सक्ने व्यवस्था संविधानमा छैन।
प्रतिनिधि सभा नियमावलीमा सांसदले राजीनामा दिएपछि सभामुखले स्थान रिक्त भएको सूचना निकाल्नु पर्ने व्यवस्था छ।
सांसदले राजीनामा दिएपछि त्यसको सूचना सभामुखले संसद चलिरहेको अवस्थामा संसद बैठकमा दिनुपर्छ। बैठक नचलेको अवस्थामा सूचना टाँसेर सांसदको राजीनामाबारे सार्वजनिक जानकारी दिनुपर्छ।
सभामुख सापकोटाको सचिवालय अनुसार अछाम-१ बाट निर्वाचित सांसद रावलले आइतबार बानेश्वरस्थित संसद भवनमा रहेको सभामुखको कार्यकक्षको टेबलुमा राजीनामा छाडेका थिए।
त्यो बेला सभामुख सापकोटा र रावलबीचमा खासै संवाद हुन पाएन। त्यसैले सभामुख सापकोटाले अहिलेसम्म रावलको राजीनामाको सूचना प्रकाशित गरेका छैनन्।
औपचारिक रूपमा राजीनामा दिएपछि सभामुखले सूचना प्रकाशित गर्ने अथवा संसदलाई जानकारी दिने प्रचलन भए पनि अनौपचारिक रूपमा सभामुखले त्यस्ता सांसदसँग भेटेर सनाखत गर्ने प्रचलन छ। कतिपय अवस्थामा सांसदहरूले सभामुखसँगको भेटपछि राजीनामा फिर्ता लिने गरेका छन्। कतिपय अवस्थामा भने सनाखतपछि राजीनामाको जानकारी संसदलाई दिने गरिएको छ।
सभामुख सापकोटाले रावलको राजीनामा सनाखत गर्न बाँकी छ। सभामुखनिकट स्रोतका अनुसार रावल सनाखत गर्न नआउँदासम्म सभामुखले कुर्नेछन्।
‘राजीनामा अगाडि बढाउने/नबढाउने भीम रावलको हातमै छ। राजीनामा अगाडि बढाउने हो भने सभामुखलाई भेटेर अगाडि बढाइदिनू भनेर सनाखत गर्नुपर्छ’, सभामुखनिकट स्रोतले भन्यो।
यसअघि जनता समाजवादी पार्टीका सप्तरी क्षेत्र नंम्बर-१ सांसद सूर्यनारायण यादवले पनि तत्कालीन सभामुख कृष्णबहादुर महरालाई राजीनामा बुझाएका थिए। प्रत्यक्ष निर्वाचित सांसद यादवले पार्टीलाई समेत जानकारी नदिई स्वास्थ्यको कारण देखाउँदै सभामुखलाई राजीनामा दिएका थिए। २०७६ को साउन २८ गते राजीनामा बुझाएका यादवले केही दिन पछि राजीनामा फिर्ता लिएका थिए।
तत्कालिन एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले संविधान सभाबाट संविधान जारी भएसँगै २०७२ असोज ३ गते सांसद पदबाट राजीनामा दिएका थिए। तत्कालीन सभामुख सुवास नेम्वाङले उनको राजीनामाबारे सार्वजनिक सूचना दिने हतारो गरेनन्। नेम्वाङले भट्टराईसँग छलफल र सनाखत गरेपछि मात्र राजीनामाको सूचना संसदमा गराए। भट्टराईले राजीनामा बुझाएको तीन हप्तापछि मात्र असोज २५ गते संसदमा राजीनामा स्वीकृत भएको सूचना दिइएको थियो।
तत्कालीन सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले सांसद पदबाट राजीनामा दिए पनि तत्कालीन सभामुख सुवास नेम्वाङले महिना दिनभन्दा लामो समयसम्म सूचना प्रकाशित गर्न रोकेका थिए। सांसदको राजीनामा कतिपय अवस्थामा राजनीतिक विरोधका रूपमा आउने गरेकाले सभामुखले सूचना प्रकाशित गर्न रोक्ने गरेका छन्। महिना दिनभन्दा लामो समय राजीनामा रोकिएका कर्ण पछि संसदको बैठकमा सहभागी भएका थिए।
एमाले सांसद रावलले दलभित्रको किचलोलाई देखाएर राजीनामा दिएका छन्। उनले ‘प्रतिनिधि सभाको विघटनदेखि पुनर्स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र घरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अंह, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवं कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न’ भएका कारण राजीनामा दिएको उल्लेख गरेका छन्।
रावलले आइतबारै राजीनामा सार्वजनिक गर्दा एमालेेका सांसद सुरेन्द्र पाण्डेले रोक्न खोजेका थिए। तर रावल रोकिएनन्। पाण्डेका अनुसार आइतबार बिहानसम्म रावल राजीनामा दिने पक्षमा थिएनन्। दिउँसो एक्कासी उनले राजीनामाको घोषणा गरेका थिए। राजीनामा घोषणापछि रावलसँगै कुराकानी नभएको पाण्डेले बताए।
फेसबुक प्रतिक्रियाहरु