होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
समाज

एक आमाको अटल विश्‍वास

  • नागरिक रैबार
एक आमाको अटल विश्‍वास

६ चैत, काठमाडौं । सन्तानप्रति एउटी आमाको मन कति समर्पित हुन्छ होला ! यसको दुरुस्त उदाहरण हो- ७७ वर्षीया गीता जोशीको सक्रियता । सबेरै उठेर उनी हरेक दिन पूजापाठ गर्छिन् । हतार हतार थापथलीस्थित नर्भिक अस्पताल पुग्छिन्, जहाँ उनका छोरा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचार चलिरहेको छ ।

७७ वर्षको उमेरमा पनि उनको आत्मविश्वास कत्ति पनि डगमगाएको भान हुँदैन । ‘हरेक दिन मैले पुज्ने भगवान हुँदाहुँदै मेरो छोरालाई केही हुँदैन’, उनले दृढताका साथ यसो भनेपछि उनको परिवार मात्र होइन, नवीन्द्रका समर्थकलाई पनि ढाडस मिल्छ ।

पूजापाठ गरेर लगेको टीका गीताले बिरामी छोराको निधारमा लगाइदिन्छिन् । डाक्टरसँग भेटेर छोराको स्वास्थ्य अवस्था बुझ्छिन् र फर्किन्छिन् अस्पतालको रिसेप्सनमा ।

विज्ञापन

त्यहीं बसेर हेरिरहन्छिन् एकोहोरो छोराको उपचार भइरहेको कोठातिर । उनलाई एउटै कुराको व्यग्रता छ– छोराको स्वास्थ्यमा सुधार भएको खबर सुन्ने । उनी धेरैबेरसम्म छोराको स्वास्थ्यमा सुधार आएको खबर लिएर आउने डाक्टरको प्रतीक्षा गर्छिन् ।

यट्खास्थित घरबाट हरेक दिन ८ बजे नवीन्द्रकी आमा अस्पतालका लागि निस्किन्छिन् । पूजा गरेर ल्याएको टीका त्यसैगरी बिरामी छोरालाई लगाइदिन्छिन् र रिसेप्सनमा आएर स्वास्थ्यलाभको खबर सुन्ने प्रतीक्षा गर्छिन् ।

खाना खान ११ बजे अर्का छोरा राजुराज जोशीसँग उनी घर जान्छिन् । फेरि अस्पताल आउँछिन् । साँझ घर फर्कनुअघि पुनः एकपटक अचेत छोराको अनुहार हेर्छिन् ।

यो दृश्य देख्दा लाग्छ, उनको मातृ मनले नवीन्द्रले धेरैपछि उसैगरी ‘आमा’ भनिदिउन् भन्ने चाहन्छ । उनको मनले त यस्तै अवस्थामा भए पनि छोरा आफ्नै आँखा अगाडि भइरहोस् भन्ने चाहन्छ । तर अस्पतालको नियमले रिसेप्सनमा बस्न बाध्य पारिदिन्छ ।

मनभित्रको छट्पटीले आमा गीतालाई रिसेप्सनको सोफामा बसिरहन दिंदैन । बेला बेला जुरुक्क उठ्छिन्, निरुद्देश्य यताउता गर्छिन् । अस्पतालको शय्यामा अचेत अवस्थामा सुतिरहेको छोरालाई देख्दा पोलेको मन शीतल पार्न अरु उपाय नभएपछि उनी यताउता गरेर मन भुलाउँछिन् ।

भाइ अस्पताल भर्ना भएपछि आमा र दाइ राजुराज घरदेखि अस्पताल, अस्पतालदेखि घर गरिरहेका छन् । राजुराज भन्छन्, ‘आमा बिहान अस्पताल आउने, खाना खान घर जाने फेरि अस्पताल आउने र साँझमात्रै घर जाने गर्नुहुन्छ।
।’

हरेक दिन आमा गीता यसरी अस्पताल धाउनुको एउटै लक्ष्य हो अस्पतालको बेडमा मृत्युसँग लडिरहेको छोराको अनुहारको रङ नियाल्नु । छोराको अनुहारमा छिनछिनमा फेरिने रङले उनलाई छिनमा आशा दिलाउँछ, छिनमै हतास बनाउँछ ।

आमा, परिवार र आफन्तको यही दैनिकीबीच भएको गलत प्रचारले आफन्तलाई अत्यायो । परिवारका अन्य सदस्यहरु रन्थनिए । तर हरेक दिन आफैंले छोराको अवस्था नियालिरहेकी गीतालाई छोराका बारेमा आएका नानाथरी प्रचारले असर पार्न सकेन । किनकि उनी दिनमा तीन पटकसम्म छोराको अनुहार हेरिरहन्छिन् । मनैदेखि अवस्था बुझिरहन्छिन् ।

छोरा नवीन्द्र अस्पताल भर्ना भएको २३औं दिन स्वास्थ्य कमजोरीका कारण अस्पताल जान सकिनन् । छोरा राजुराज र बुहारी शोभा जोशीलाई राम्ररी हेरेर, बुझेर आउन भनिन् । शोभा (नवीन्द्रराजकी भाउजु)ले भनिन्, ‘मुवा (आमा) को पूजा गर्ने, छोरालाई हेर्ने समय, डाक्टरसँग अवस्था बुझ्ने काम नियमित ड्युटी नै बनेको छ ।’

१४ फागुनमा मस्तिष्कघात भएर थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छोराको अनुहारको उज्यालो रंग बदलिरहेको देखेपछि केहीदिनअघि उनले निराश हुँदै भनेकी थिइन्, ‘एउटी आमाको आश टुट्दै गइरहेको छ ।’

तर उनको मनमा पीडा भए पनि हार मानिनन् । छोरोको अवस्था थप जटिल बन्दै गएको महसूस गरिरहेकी आमालाई डाक्टरले आराम गर्न भनेपछि उनी घरमै बसिन् । तर आमाको मन न हो उनीभित्र आशा जीवितै छ । शोभा भन्छिन्, ‘मुवाका कारण हामीलाई पनि चमत्कार नै भइहाल्छ कि भन्ने आशा छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार