कालीकोट — शुभकालिका–७ र ८ लाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ । बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सामाजिक सुरक्षामा प्रतिकूल असर पारेको ठहर गर्दै संघीय संरचनापछि जिल्लाकै पहिलो बालविवाह निषेधित वडा घोषणा गरिएको हो ।
गाउँपालिकाको नेतृत्वमा २ वडालाई बालविवाह निषेधित घोषणा गरिएको वडा नं–८ का वडाध्यक्ष दीपराज महताराले बताए । ‘अब बालविवाह गर्नेलाई सामाजिक बहिष्कार गरिनेछ,’ उनले भने, ‘बालबालिकाको वृत्तिविकासलगायतका सबै प्रगतिको बाधक बालविवाह सधैंका लागि अन्त्य हुनुपर्छ ।’ उनले ३ वर्षदेखि बालविवाहविरुद्धको अभियान सञ्चालन गरी बालविवाहलाई शून्यमा झार्न सफल भएको बताए ।
घोषणाअघि वडाका सबै बस्ती र टोलवासीले प्लेकार्ड र ब्यानर बोकेर पञ्चेबाजासहित बालबालिका, किशोरकिशोरीलगायतले मुग्राहा बजारको परिक्रमा गरेका थिए । बालविवाहले बालबालिकाको पठनपाठनमा अवरोध पुर्याएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले बताए । ‘सबै अभिभावकले नानीबाबुहरूले प्रगति गरेको देख्न चाहने भए उमेर पुगेपछि मात्र विवाह गरिदिनुपर्छ,’ उनले भने, ‘बालविवाह नगर्न/नगराउन सबैले देवीदेवता साक्षी राखेर बालबालिकालाई प्रतिबद्ध गराउनुपर्छ ।’
पछिल्लो समयमा कालीकोटमा आमाबाबुले मगनी गरेर बाजागाजा बजाएर बालविवाह गर्ने चलनमा कमी आए पनि बालबालिकाले आफैं भागेर विवाह गर्ने चलन बढेको छ । महिला हिंसा अन्त्य गर्न पनि उमेर पुगेपछि मात्र विवाह गर्नुपर्ने गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाहीले बताइन् । उनका अनुसार उमेर नपुगेर विवाह गर्दा बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । शुभकालिका–७ र ८ मा ३ वर्षअघिसम्म ५६ प्रतिशत रहेको बालविवाहलाई शून्यमा झारिएको उनले जानकारी दिइन् ।
बालविवाह न्यूनीकरणका लागि स्थानीय तहहरूले पहल थालेपछि ५ वर्षअघिसम्म ६१ प्रतिशत बालविवाह हुने कालीकोटमा हाल घटेर २५ प्रतिशतमा झरेको छ । बालविवाहमध्ये बालबालिका आफैंले भागेर विवाह गर्ने दर घट्न नसकेको जिल्ला समन्वय समितिका सदस्य विर्षबहादुर शाहीले बताए । ‘अभिभावक र समुदायमा आएको सचेतनाले बाजागाजा बजाएर बालविवाह गर्ने चलन घट्दै गएको छ,’ उनले भने, ‘तर मोबाइल, फोन र फेसबुकले बालविवाहलाई मलजल गरिरहेको छ ।’
गरिबी, गुणस्तरीय शिक्षाको कमी, छोरीलाई बोझको रूपमा लिने कुसंस्कार, प्रभावकारी कानुन कार्यान्वयनको अभाव, सामाजिक उत्तरदायित्वको कमीले बालविवाह घट्न नसकेको गाउँपालिका अध्यक्ष चौलागाईंले बताए । उनका अनुसार बालबालिकाप्रति उदासिन राज्य संयन्त्र, बालविवाहलाई सामाजिक अपराधको रूपमा नलिनु, अपराधलाई राजनैतिक संरक्षण हुनुले पनि बालविवाहलाई प्रोत्साहन गरिरहेको छ । ‘कलिलैमा आमा बन्दा मातृ र शिशु मृत्यु बढिरहेको छ, कुपोषण, पाठेघर खस्ने, पढाइमा अवरोध हुने असर पनि बढिरहेका छन्,’ उनले भने, ‘पारिवारिक बेमेल, सम्बन्धविच्छेद, मनोसामाजिक समस्याजस्ता असर पनि बालबालिकाले भोग्दै आएका छन् ।’
फेसबुक प्रतिक्रियाहरु