होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रचण्ड-नेपाल र भट्टराई-यादवबिच हाेला त एकता ?
राजनीति

प्रचण्ड-नेपाल र भट्टराई-यादवबिच हाेला त एकता ?

  • नागरिक रैबार
प्रचण्ड-नेपाल र भट्टराई-यादवबिच हाेला त एकता ?

काठमाडौं। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन गरेपछि संसद विघटनको विपक्षमा रहेका दलहरुको भावनात्मक र भौतिक दूरी घटेको छ। संसद विघटनलाई ‘प्रतिगमन’को संज्ञा दिएका दलहरु आन्दोलनका क्रममा एकापसमा नजिकिन थालेका छन्।

ओलीनिकट नेकपा, कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी र नारायणमान बिजुक्छेको नेपाल मजदूर किसान पार्टीबाहेकका सबै दलहरु संसद विघटनको विपक्षमा देखिएका छन्। मझधारमा देखिएका कांग्रेस सभापति शेरबहादुर देउवा पनि पार्टीभित्रको चर्को दवावपछि ‘पानीलौरो’कै रुपमा भए पनि संसद विघटनको विपक्षमा उभिएका छन्।

प्रचण्ड–नेपालको संस्थापन नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरुले संसद विघटनका विरुद्धमा विभिन्न कार्यक्रमहरु गरिरहेका छन्। त्यसमध्ये प्रचण्ड–नेपाल नेतृत्वको नेकपा आक्रमण रुपमा प्रस्तुत भएको छ भने कांग्रेस र जनता समाजवादी पार्टी लगायतका दलहरु औपचारिक कार्यक्रम गरिरहेका छन्।

विज्ञापन

त्यसो त दलहरुले संयुक्त रुपमा समेत विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरु गरिरहेका छन्। नागरिक समाजसमेत संसद विघटनको विरुद्धमा एकीकृत सडक संघर्षमा छ। दलहरुले आन्दोलनका कार्यक्रम अलगअलग गरे पनि संयुक्त रुपमा गरिएका अन्तरक्रियाहरुमा संयुक्त आन्दोलन र पार्टी एकताको सम्भावनाबारेसमेत चर्चा हुन थालेको छ। त्यसमा पनि प्रचण्ड–बाबुरामको एकताको चर्चा फेरि सतहमा आएको छ।

गत हप्ता जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको पुस्तक लोकार्पण कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु एउटै मञ्चमा उपस्थित भएर प्रतिगमनविरुद्ध संयुक्त संघर्षको आवश्यकता औल्याएका थिए। कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले बाबुराम र आफू अलग राजनीतिक शक्तिमा भए पनि ‘परिस्थितिले एकताको माग गरिरहेको’ भन्दै अनौपचारिक रुपमा भट्टराईसँग एकताको प्रस्ताव गरेका थिए। उनले आफूहरु अलग हुँदा पनि समयले सँगै रहन दवाव दिइरहेको भन्दै एकताको गृहकार्य जरुरी रहेको बताएका थिए।

शर्माले भने, ‘‘त्यसले कार्यकर्ता पंक्तिमा राम्रो म्यासेज दिएको छ। प्रचण्ड–बाबुराम मिलेपछि देशले केही निकास पाउँछ भन्ने कार्यकर्ताको अपेक्षा छ।

कार्यक्रममा भट्टराईले प्रतिगमनविरुद्धको संघर्षमा संयुक्त संघर्षको आवश्यकता औल्याउँदै तत्काल संयुक्त मोर्चा सम्भव भएको र पार्टी एकताका निम्ति वैचारिक विषयहरुमा गहन छलफल जरुरी रहेको संकेत गरेका थिए। दुवै नेताहरुले तत्काल कार्यगत एकता र त्यसकै आधारमा एकताको प्रक्रियामा अघि बढ्न सकिने संकेत गरेका थिए।

त्यसो त प्रचण्ड–नेपाल नेकपाले माघ १४ गते गरेको विरोध प्रदर्शनपछि प्रचण्ड र डा. भट्टराई उपराष्ट्रपति निवासमा पुगेर राजनीतिक विषयमा छलफल गरेका थिए। यसअघि पनि प्रचण्ड, भट्टराई र उपेन्द्र यादवबिच औपचारिक÷अनौपचारिक सम्वाद हुँदै आएको छ। उपराष्ट्रपति नन्दकिशोर पुन, अध्यक्ष प्रचण्ड र नेता भट्टराईबिच के विषयमा कुराकानी भयो ? त्यो कुरा बाहिर सार्वजनिक भएको छैन। तर, उपराष्ट्रपति निवासमा २ नेताबिच भएको ‘भेटवार्ताको रणनीतिक महत्व’ हुनसक्ने विश्लेषण गरिएको छ।

स्रोतका अनुसार जनता समाजवादी पार्टीभित्र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईको समूह प्रचण्ड–नेपाल नेकपासँग मिलेर जानुपर्ने पक्षमा छ। तर, महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, महेन्द्र राय लगायतका नेताहरु भने कांग्रेससँग नरम देखिएका छन्।

एक नेताका अनुसार जनता समाजवादी पार्टीका नेताहरुमा आफ्नो पूर्ववत पृष्ठभूमिको छायाँ देखिएको छ। डा. भट्टराई, यादव, राई र राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु प्रचण्ड–नेपालको नेकपासँग नजिक देखिनु र ठाकुर, महतो, झा र राय लगायतका नेताहरु कांग्रेससँग नजिक देखिनुमा त्यही पृष्ठभूमिको अनुराग रहेको हुनसक्ने उनले बताए। यसले पनि भविष्यमा जसपामा ध्रुवीकरण आउने र उक्त शक्ति वामपन्थी र दक्षिणपन्थी ध्रुवमा ध्रुवीकृत हुनसक्ने विश्लेषण गरिएको छ।

जसपाका भट्टराई, यादव, राई र श्रेष्ठ लगायतका नेताहरु संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति पनि नेकपासँग सहकार्य जरुरी रहेको ठान्छन्। उनीहरुका अनुसार ओली समूह र नेपाली कांग्रेस संघीय गणतन्त्रप्रति इमान्दार छैनन्। तसर्थ, नेकपाको संस्थापन समूहसँग एकता गरेर परिवर्तन र संविधानका आंशिक उपलब्धी रक्षा गर्नुपर्ने विश्लेषणमा नेताहरु पुगेको बताइन्छ।

त्यसो त पूर्वमाओवादी पृष्ठभूमि बोकेका जसपाका नेता कार्यकर्ता अहिले पनि प्रचण्डसँग एकताको पक्षमा देखिन्छन्। उनीहरु जसपाका दक्षिणपन्थी धारका नेताहरुसँग मिल्नुभन्दा वामपन्थी शक्तिबिचको एकता मुद्दाका हिसाबले पनि स्वाभाविक हुने ठान्छन्। तर, नेतृत्व भने तत्काल सहकार्य गर्न सकिने र सहकार्यले नै एकताको आधार तयार पार्ने पक्षमा देखिएको छ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं नेपाल बौद्धिक पेशाकर्मी महासंघका अध्यक्ष कृष्ण शर्माले ‘नेताहरुको मनोगत चाहनाले भन्दा पनि वस्तुगत आवश्यकताले एकताको माग गरेको’ बताए। उनले भने, ‘‘एकता भन्ने कुरा नेताहरुको मनोगत चाहनामा मात्र निर्भर हुँदैन। वस्तुगत आवश्यकताले एकताको माग गर्दछ। आज त्यही परिस्थिति देखिएको छ। क्रान्तिका उपलब्धीहरु संस्थागत गर्न पनि एकता आवश्यक छ।’’

के जसपाभित्र पार्टी एकताका निम्ति छलफल चलेको हो ? भन्ने प्रश्नमा शर्माले भने, ‘‘जसपामा बेग्लाबेग्लै र एक्लाएक्लै ढंगले छलफल चलेको छ। अग्रगामी शक्तिहरु एक ठाउँमा आउनुपर्छ भन्ने हाम्रो पनि मान्यता हो। तर, पार्टीभित्र संस्थागत रुपमा छलफल चलिसकेको छैन। पहिला एजेण्डा मिल्नेहरुसँग आन्दोलनमा आउँ, कार्यगत एकता गरौं, त्यसपछि बल्ल पार्टी एकताको आधार तयार हुन्छ भन्ने बहस भने संस्थागत रुपमा नै चलिरहेको छ।’’

शर्माले ‘अग्रगामी शक्तिहरु बिभाजित हुँदा प्रतिगामी शक्तिले फाइदा उठाएको’ बताए। उनले भने, ‘‘हिजो अग्रगामी शक्तिहरु बिभाजित हुँदा प्रतिगामी शक्तिले फाइदा उठाए। अब हामी एकै ठाउँमा हुनुपर्छ भन्ने बहस कार्यकर्ता पंक्तिबाट उठेको छ।’’

वैशाख ८ यता प्रचण्ड र डा. भट्टराईबिच उपराष्ट्रपति निवासमा भएको छलफल फलदायी भएको शर्माले बताए। उनले भने, ‘‘त्यसले कार्यकर्ता पंक्तिमा राम्रो म्यासेज दिएको छ। प्रचण्ड–बाबुराम मिलेपछि देशले केही निकास पाउँछ भन्ने कार्यकर्ताको अपेक्षा छ। हामी सबैले अग्रगामी शक्तिहरुको एकतामा जोड दिनुपर्छ। एकताको वातावरण बनाउँदा देशलाई नै फाइदा हुन्छ, हामी सबै त्यतातिर लाग्नुपर्छ।’’

जनता समाजवादीका वामपन्थी पृष्ठभूमिका नेताहरु भने तत्काल प्रचण्ड–नेपाल नेकपासँग कार्यगत एकता गर्ने र आन्दोलनकै बलमा पार्टी एकताको आधारभूमि तयार पार्ने मनस्थितिमा छन्। यता प्रचण्ड–नेपाल नेकपा पनि विचार र मुद्दाका आधार एकताका निम्ति खुला रहेको बताएको छ। यसले प्रचण्ड–नेपाल र भट्टराई–यादवबिच पार्टी एकताकै आधार तयार पार्ने दुवै पक्षको विश्वास देखिन्छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार