काठमाडौँ — वैदेशिक रोजगारीका लागि अफगानिस्तानको राजधानी काबुल पुगेर झन्डै एकदेखि १८ महिनासम्म कामविहीन भएका नेपाली कामदार अलपत्र परेका छन् । त्यसरी अलपत्र हुनेमध्ये ३० जना कान्तिपुरको सम्पर्कमा आएका छन् ।
अफगानिस्तानको काबुल ।
श्रम स्वीकृति नलिई भारतीय बाटो हुँदै काबुलमा पुगेर काम नपाएका नेपाली कामदार अलपत्र परेका हुन् । उनीहरुको उद्धारको जिम्मेवारी कसैले लिएका छैनन् । अलपत्र पर्ने नेपालीलाई होटल र घर भाडा लिई राखिएको छ ।
‘कम्पनीमा काम गर्ने नेपालीको विषयमा खासै चिन्ता छैन । उनीहरुलाई कम्पनीले नै सुरक्षित ढंगले उद्धार गरिरहेको छ । हाम्रो कम्पनी पनि छैन । अफगानिस्तानमा बस्ने भिसा पनि छैन,’ काबुलको गुजरागाँमा १९ महिनादेखि बस्दै आएका एक नेपालीले भने,‘हामी ३ जना एउटा पुरानो तीन कोठाको घरमा बसिरहेका छौं । एजेन्टले नेपाल पठाइदिन्छु त भनेको छ । तर उसले कसरी पठाउन सक्छ र ?’
उनी बसिरहेको ठाउँबाट काबुल विमानस्थलमा पुग्न गाडीमा ३० देखि ४५ मिनेट लाग्छ । उनी बाहेक दुई वटा होटल र एउटा घरमा २७ जना भिसा र कामविहीन नेपाली रहेका छन् । उनीहरु कसैले पनि सुरक्षाको कारणले आफ्नो व्यक्तिगत विवरण सार्वजनिक गर्न चाहेका छैनन् । ‘काबुल आएदेखि नै सुत्ने र बस्ने मात्रै भएको छ । एकदिन काम गर्न पाइएको छैन,’ काबुलबाट टेलिफोन सम्पर्कमा आएका उनले भने,‘ज्यानको माया लाग्न थालेको छ ।’ अलपत्र पर्नेमा कास्की, गोरखा, कैलाली, स्याङ्जा, तनहुँ, लम्जुङ र चितवनका रहेका छन् ।
उनीहरुले जतिसक्दो छिटो नेपालबाट उडान पठाएर आफूहरुलाई बाहिर निकाल्नको लागि आग्रह गरेका छन् । ‘हामीलाई यहाँबाट छिटो उद्धार गर्न उडान पठाउनको लागि सरकारलाई अनुरोध गर्दछौं,’ एक होटलमा बसिरहेका अर्का नेपालीले भने,‘हामी होटलमा १३ जना छौं । हाम्रो जिम्मेवारी लिने कोही छैन ।’ ती नेपालीका अनुसार काम नपाएका, भीसा नभएका र दुईदेखि १० जनासम्म समूहसमूहमा भएका नेपालीहरु एक सय ५० जनासम्म छन् ।
उनीहरु कोठाबाट बाहिर निस्किएका छैनन् । स्थानीय दलालहरुले नै खाना र पानीको प्रबन्ध गर्दै आएका छन् । ‘हामी तीन तहको च्यानलबाट काबुल आइपुगेका हौं । स्थानीय एजेन्टले हामीलाई संकलन गरी दिल्लीको एजेन्टलाई पठायो । दिल्लीको एजेन्टले काबुलको एजेन्टलाई जिम्मा लगायो,’ उनले भने, ‘यसरी काबुलको रोजगारी हात पार्न ९ लाख रुपैयाँसम्म खर्च भयो । घरमा नौ लाखको ब्याज दिन सकेको छैन । एक लाखको वार्षिक ब्याज ३० हजार रुपैयाँ तिर्नुपर्छ ।’ उनले अफगानिस्तानको रोजगारीले परिवारमा झन् ऋणको भार थपिएको बताए । ‘मेरो श्रीमतीसँग बोलचाल नै कम छ । बच्चाहरुसँग मात्रै कुराकानी हुन्छ । आफू यता भएपछि फाइल अपडेट नगरेपछि पेन्सन पनि रोकिएको छ । यताको पनि पीर आफैसँग छ । उताको पीर पनि आफैसँग छ,’ उनले भने ।
भिसाको अवधि समाप्त भएकाहरुको अवस्था झन् कठिन छ । ‘हाम्रो भिसा नै छैन । भिसा वापतको जरिवाना मात्रै १२ हजार डलर छ । दैनिक ३० डलरको हिसाबले १८ महिनाको जरिवाना तिर्नुपर्छ । यो जरिवाना त हामी तिर्न सक्तैनौं,’ उनले भने, ‘जरिवाना बिना नै मुलुक फिर्न पाइने हो कि होइन ? हामीले दूतावासबाट ट्राभल डकुमेन्ट कसरी पाउने ? यस्तो अवस्थामा स्वदेश फिर्न काबुल विमानस्थलसम्म कसरी पुग्ने, कसले लैजाने ?’
भिसाविहीन र सानातिना कम्पनीमा काम गर्ने नेपालीको तथ्यांक सरकारसँग छैन । वैदेशिक रोजगार विभागका अनुसार म्यानपावर कम्पनी र व्यक्तिगत श्रम स्वीकृति लिई अफगानिस्तान पुगेका नेपालीको मात्रै विवरण छ ।
फेसबुक प्रतिक्रियाहरु