जुम्ला- विश्वको सबैभन्दा अग्लो स्थानमा फल्ने काली मार्सी धान अहिलेसम्म सूचीकृत छैन । समुद्री सतहदेखि २ हजार ८ सय ५० मिटर उचाइको जुम्लामा मात्रै फल्ने धान अहिलेसम्म सूचीकृत गर्न कसैले ध्यान नदिएका हुन् ।
मानव स्वास्थ्यका लागि लाभदायक मानिने यो अन्नबाली केही समयदेखि नेपाली बजारको आकर्षण पनि बनेको छ । तत्कालीन राजा महाराजाले खाने उच्चकोटिको अन्नका रूपमा हेरिने काली मार्सीलाई त्यतिबेला मात्र नभएर यतिबेला पनि विशेष महत्त्वको रूपमा लिने गरिन्छ ।
मूल्यका हिसाबले हुनेखाने र उत्पादक किसानबाहेक सजिलै यो चामल सामान्य वर्गको पहुँचमा पुग्न सक्दैन । अहिले पनि शक्तिशाली र उच्च ओहोदाकाहरूले बढी मात्रामा यसको प्रयोग गरिरहेका छन् । अर्गानिक हिमाली उत्पादनका रूपमा पनि परिचित छ, जुम्ली मार्सी धान ।
यसको मूल्य जुम्ला बजारमा १ सय ७० रुपैयाँ पर्ने गरेको छ । अरू चामलभन्दा महँगो छ । काली मार्सीको खाना, स्वाद, यसबाट प्राप्त हुने पौस्टिक तत्त्व र ऐतिहासिक वर्णन सामाजिक सञ्जाल अहिले पनि उत्तिकै महत्त्व पाइरहेको छ ।
जुम्ली मार्सीलाई मुलुककै जेठो धानबाली मानिँदै आएको छ । सर्वाधिक उचाइमा धान फल्ने स्थानका रूपमा जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्युलो काली मार्सी धान निकै प्रख्यात छ ।
नेपाल कृषि अनुसन्धान परिषद्, खाद्य अनुसन्धान विभाग, खुमलटार (२०२०) को तथ्यांकअनुसार जुम्ली मार्सी धान र अन्य रैथाने तथा उन्नत जातका धान (खुमल–४) सँगको तत्त्वसँग तुलना गर्दा प्रोटिन, पोलिफिनोल, एन्टिअक्सिडेन्ट र फ्ल्यावोन्वाइड काली मार्सीमा धेरै मात्रमा पाइने गर्छ ।
अन्य धानभन्दा जुम्ली मार्सीमा फाइबर पनि बढी पाइने भएकाले स्वास्थ्यका हिसाबले अधिकतम उपयोगी मानिन्छ । कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले भने मार्सी धान दर्ता नभएको र यस पटक दर्ताका लागि सिफारिस गरिएको बताएको छ ।
काली मार्सी धानमा प्रोटिन एवं सूक्ष्म तत्त्व आइरन, फस्फोरस, पोलिफिनोल र एन्टिअक्सिडेन्ट धेरै मात्रामा पाइने गरेको कृषि अनुसन्धान केन्द्र जुम्लाका प्राविधिक अधिकृत हरिनारायण मण्डलले बताए ।
‘जुम्ली मार्सीमा पाइने पोलिफेनोल र फ्ल्यावोन्वाइडले मानव तन्तुलाई सक्रिय बनाउँछ,’ उनले भने, ‘यसैले यो धानले मानव तन्तुलाई नष्ट हुनबाट जोगाउँछ ।’
काली मार्सी धानको सामाजिक मात्र होइन, सांस्कृतिक, धार्मिक महत्त्व र उपयोग पनि उत्तिकै छ । ऐतिहासिक कथनअनुसार गुरु चन्दननाथ बाबाले बिजारोपण गरेको उच्चकोटिको धान बालीका रूपमा यसलाई चिनिन्छि ।
चन्दननाथ बाबाको तत्कालीन तपस्या र हालको अनुसन्धानबाट यसको प्रतिपादन भएको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य बताउँछन् ।
‘केहीले इतिहासलाई तोडमोड गरेर काली मार्सी धान भारतको कास्मिरबाट ल्याइएको भनेका छन् । यो नितान्त गलत हो’, आचार्यले भने, ‘गुरु चन्दननाथ बाबाको आफ्नै तपस्या र खोजबाट यसको जुम्लामै उत्पादन भएको हो ।’
यसबारे इतिहासकार राजाराम सुवेदीले ‘जुम्लाको मध्यकालीन इतिहास’ मा चन्दननाथ बाबाले १४५० तिर जुम्ला राज्य खडा गर्दा तत्कालीन राजा बलिराज शाहीलाई यही काली मार्सी धानको चामलले राजतिलक (टीका लगाएको) उल्लेख गरिएको उनले बताए ।
उनी भन्छन्, ‘साके संवत् १५१५ मा हरिदास विद्वान्ले लेखेको ५० श्लोकको ‘सिद्ध पञ्चाशती’ मा पनि काली मार्सी धान जुम्लामा उत्पादन भएको उल्लेख छ । ’
किंवदन्तीअनुसारपछि गुरु चन्दननाथ बाबाको उपदेश लिएर लक्षालकृति पैकलाले तातोपानीको गुरु फोक्टोबाट काली मार्सी धानको सुरुआत गरिएको र त्यो पछि साविकको कर्णालीका अन्य जिल्लामा पनि फैलिएको कथन ऐतिहासिक लेखमा पाइन्छ ।’
यसको उत्पत्ति गरिब ५५० वर्ष पहिले भएको जनाउँदै संस्कृतिसम्बन्धी जानकार आचार्यले ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक र भौगोलिक परिचय बोकेको साथै उत्पत्तिको लामो कालखण्ड पार गरेको काली मार्सी धानको स्वामित्वको अधिकार ‘प्याटेन्ट राइट’ आजसम्म पनि कायम हुन नसक्नु दुःखद भएको उनको प्रतिक्रिया छ ।
पछिल्लो समय जुम्लामा रैथाने अन्नबाली उत्पादनका लागि सबै तह लाग्न थालेका छन् । जलवायु परिवर्तन र पछिल्लो समय विभिन्न विषादी प्रयोगले यसको अस्तित्व संकटमा पर्न थालेको छ ।
कृषि अनुसन्धान केन्द्रमा जनशक्ति अभाव
कृषि अनुसन्धान केन्द्र जुम्लाका प्राविधिक अधिकृत हरिनारायण मण्डल भन्छन्, ‘बर्खेबाली चिनो, कागुनो, फापर, मकै, कोदो, मार्सी धान, गहत र सिमी अनुसन्धान भइरहेको छ । हिउँदे बाली जौ गहुँ, मुसुरो, चौली जौ अनुसन्धान हुने गरेको छ ।’
मण्डलका अनुसार चन्दननाथ वडा नम्बर १ ३ र लेकाली १ र ३ हजार ४८, १ के ३, ७, ९ र जुम्ली मार्सी, धान यस पटक सिफारिस गरिँदै छ । त्यस्तै, सिमी केबिएल १,२,३ सिफारिस गरिएको मण्डलले जानकारी दिए ।
मण्डलले भने, ‘कृषि अनुसन्धान केन्द्र जुम्लामा सम्बन्धित बाली विज्ञ छैनन् । तर , दक्ष जनशक्ति र अनुसन्धानका लागि चाहिने आवश्यक प्रक्रिया थलिएको छ । कृषि अनुसन्धान केन्द्रसँग १/२ हेक्टर मात्रै अनुसन्धानका लागि बाली उत्पादन गर्ने जग्गा छ ।’
एक हेक्टरमा कृषि अनुसन्धान केन्द्रका क्वार्टर निर्माण भएका छन् । प्राविधिक अधिकृत मण्डलका अनुसार कृषि अनुसन्धान केन्द्रलाई २० देखि २५ हेक्टरसम्म जग्गा आवश्यक पर्छ । जुम्ली काली मार्सी धानको ‘प्याटेन्ट राइट’ सुनिश्चित गर्ने उद्देश्यले पछिल्लो समय कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले सिफारिसका लागि अगाडि बढाएको छ ।
यसलाई बिउबिजन गुणस्तर तथा नियन्त्रण केन्द्र काठमाडौंले सूचीकृत गर्ने भएको छ । सूचीकृत नभएकै कारण अहिलेसम्म जुम्लाले काली मार्सी धानमा आफ्नो स्वामित्वको अधिकार प्याटेन्ट राइट कायम राख्न सकेको छैन ।
काली मार्सीको उत्पत्ति नै जुम्लामै भएको दाबी गर्दै यसको ‘प्याटेन्ट राइट’ लिन सरोकारवालाले जतिसक्दो छिटो पहल गर्नुपर्ने हो तर त्यो भएको छैन ।
फेसबुक प्रतिक्रियाहरु