कैलाली : धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को भानुचोकमा २०५० सालसम्म ३५ हजार ६ सय ६० वर्गमिटरमा फैलिएको लम्बा ताल ठूलो देखेको स्मरण स्थानीय सहदेब चौधरीको छ। ‘पहिलो त ताल धेरै ठूलो थियो,’ उनले सम्झदै भने, ‘माछा मारेर खाने गरेका थियौँ। अहिले त घर मात्रै देखिन्छन्। ताल हराइसकेको छ।’
अहिले लम्बा ताल भएको ठाउँमा सानो पोखरी मात्रै बाँकी रहेको छ भने अन्य क्षेत्रफलमा बस्ती विस्तार भएको छ। लम्बा तालसहित देवहरियामा रहेको आटा गढैया तालमा पनि अतिक्रमण गरेर घर निर्माण गरिएको छ। तालको जग्गा किनबेच हुने गरेको स्थानीयको भनाइ छ। आटा गढैया ताल नजिकै रहेको सडुवा तालमा पनि विभिन्न व्यक्तिले घर निर्माण गरेका छन्। यसैगरी लम्बा तालको ठिक उत्तरतर्फ करिव ९ सय मिटरको दुरीमा रहेको सिङ्गो मनिया ताल पुरेर दर्जन बढी घर निर्माण गरिएका छन्। गत फागुन महिनासम्म ताल नै रहेको भागमा समेत माटो भरेर मकैबारी बनाइएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष सिताराम रानाले घर निर्माण गरेका स्थानीयले भूमि आयोगमा लालपुर्जा प्राप्तिका लागि फाराम भरिसकेको बताए। ‘वडाले मात्रै संरक्षण गर्न सक्दैन्,’ उनले भने, ‘संरक्षणको ठोस योजनाका लागि हामीले उपमहानगरपालिकालाई पनि आग्रह गरेका छौँ।’
पर्यटकीय क्षेत्रको विकास गर्ने भनेर धनगढी उपमहानगरपालिकाले विभिन्न वडाका २१ ताल छनोट गरेको छ। तर वडा नम्बर ७ का नौँ तालमध्ये जाखौर ताल मात्रै छनोटमा परेको छ। विभिन्न वडामा दर्जनौ ताल अतिक्रमित भएको थाहा हँुदाहँुदै पनि खाली गराउने योजनाबारे भने उपमहानगर मौन देखिएको छ।
वडा नम्बर ७ मा रहेका जाखौर ताल, मुर्कटा ताल, मुर्कट्टी ताल, सिलसिला तथा मनिया गढैया ताल आशिंक रुपमा संरक्षण भए पनि आटा गढैया ताल, मनिया ताल, सडुवा ताल र सबैभन्दा ठूलो लम्बा ताल अतिक्रमण गरेर बस्ती नै बसेको हुन्।
फेसबुक प्रतिक्रियाहरु