२ वैशाख, गुल्मी । प्युठानको स्वर्गद्वारी नजिकै बुधबार भएको दुर्घटनामा परी मृत्यु हुने ५ जनाको शव आफन्तलाई बुझाइएको छ । गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको थियो ।
मृतक प्रशासकीय अधिकृत स्याङजाका ३८ वर्षीय श्याम न्यौपानेको शव घटनास्थलबाटै बुझाइएको थियो । अन्य ४ जनाको शव जिल्ला प्रशासन कार्यालय गुल्मीमा शोकसभा गरेर आफन्तलाई बुझाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।
शोकसभामा प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा, जिल्लास्थित राजनीतिक दलका नेता, आफन्तलगायतले श्रद्धाञ्जली दिएका थिए ।
५ दिन प्रशासन बन्द
दुर्घटनामा परी कर्मचारीको निधन भएको शोक जिल्ला प्रशासन कार्यालय गुल्मी पाँच दिन गरिने भएको छ । बुधबार भएको जीप दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका ४ जना कर्मचारीको मृत्यु भएको शोकका ५ दिन कार्यालयका सेवाहरु बन्द गरिने भएको हो ।
दुर्घटनामा मृत्यु भएका कर्मचारीहरुको शोकमा कार्यालयका अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पन्थीले बताए ।
७ जनाको उपचार काठमाडौंमा
दुर्घटनामा गम्भीर घाइते भएका सन्दीप परियार, मुना पाण्डे, कमला पन्थी, सुनिता कँडेल, सार्थक ज्ञवाली, गीता मुखिया, अनिश बोहरालाई हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ । दुर्घटनामा परेर घाइते भएका ५ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।
फेसबुक प्रतिक्रियाहरु