नेपाल प्रज्ञा–प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतिदेवीस्थित जिर्ण घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि साबिकको घरको बाह्य स्वरूप आउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणको प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै प्रस्तावित सङ्ग्रहालय निर्माण प्रयोजनका लागि साबिकको घर भत्काउनु बाध्यात्मक भएको जनाएको छ ।
‘प्रस्तावित सङ्ग्रहालय भवन विभिन्न उमेर अवस्थाका अवलोकनकर्ताहरूलाई दृष्टिगत गरी सुविधाका दृष्टिले आधुनिकता र कलाका दृष्टिले नेपाली मौलिकता कायम हुने गरी निर्माण गर्न लागिएको हो । सङ्ग्रहालय निर्माण गर्ने क्रममा प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको प्रतिमा राखिने छ’,प्रतिष्ठानले प्रस्ट पारेको छ । साथै सवलिकरणका क्रममा देवकोटाको प्रतिमा स्थापना गरिएको क्षेत्रमा हरियालीयुक्त सानो उद्यानसमेत रहने र प्रतिमासँगैको पश्चिमतिरको भागमा पानीको फोहोरा राखिने छ ।
‘परिसरमा अवलोकनकर्ताहरूले प्रयोग गर्ने दुई/तीनवटासम्म हलुका सवारी साधन पार्किङ गर्न मिल्ने गरी व्यवस्था गरिने छ । सङ्ग्रहालयको भुइँतलामा स्वागत कक्ष, प्रतीक्षा कक्ष र देवकोटासँग सम्बन्धित श्रव्यदृश्य सामग्री रहने छन्’, प्रतिष्ठानका कुलपति गंगा उप्रेती र सदस्यसचिव जगतप्रसाद उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिष्ठानका अनुसार यसरी बनाइएको संग्रहालयमा पहिलो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध भएसम्मका सामग्रीहरू रहने छन् । दोस्रो तलामा देवकोटाका प्रकाशित कृतिहरू, प्राप्त भएसम्मका अप्रकाशित पाण्डुलिपिहरू र स्वदेशी तथा विदेशी विद्वान्हरूद्वारा देवकोटाका विषयमा लेखिएका उपलब्ध भएसम्मका कृतिहरू÷शोधपत्रहरू रहने छन् । तेस्रो तला अर्थात् अन्तिम तलामा सङ्ग्रहालय अवलोकन गरिसकेपछि देवकोटाको जीवन, व्यक्तित्व र कृतित्वका विषयमा विचार–विमर्श, अन्तरक्रिया तथा गोष्ठी गर्न एउटा सभाकक्ष रहने छ । साथै भवनमा अशक्त अवस्थाका अवलोकनकर्ताहरूका लागि लिफ्टको व्यवस्था गरिने छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिवारबाट मोहियानी हक हस्तान्तरण भई नेपाल प्रज्ञा–प्रतिष्ठानका नाममा हकभोगमा आएको घर ‘कविकुञ्ज’ र प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूबाट आएका समाचारहरूका सन्दर्भमा प्रज्ञा–प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ३०, मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा परिवारको नाममा मोहियानी हक रहेको उक्त घर ‘कविकुञ्ज’ र उक्त घरले चर्चेको १२ आना १ दाम जग्गा नेपाल सरकारको सहयोगमा देवकोटा परिवारलाई रु. २ करोड ५० लाख उपलब्ध गराई ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानको हकभोगमा ल्याएको थियो ।
उक्त घर–जग्गामा गुठी संस्थानको स्वामित्व यथावत् राख्दै मोहियानी हकभोग मात्र देवकोटा परिवारबाट नेपाल प्रज्ञा–प्रतिष्ठानमा आएको हो ।
देवकोटा परिवारका अनुसार २००० सालमा बनेको र सोही वर्षदेखि प्रयोगमा आएको उक्त घरको तेस्रो तला २०१४ सालमा थपिएको थियो । विगत १५ वर्षदेखि प्रयोगमा नभएको र २०७२ सालको विनाशकारी भूकम्पबाट थप क्षतविक्षत भएको उक्त घर नेपाल प्रज्ञा–प्रतिष्ठानको हकभोगमा आएलगत्तै पटक पटक विशेषज्ञ प्राविधिकहरू र सरोकारवालाहरूसँग बसेर सबलीकरण गर्न सकिने÷नसकिने विषयमा स्थलगत अवलोकनसहित छलफल गरिएको थियो ।
फेसबुक प्रतिक्रियाहरु