होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • यसरी हुन्छ राजनीतिक कार्यक्रममा ‘गरिब’ को प्रयोग
देश/प्रदेश

यसरी हुन्छ राजनीतिक कार्यक्रममा ‘गरिब’ को प्रयोग

  • नागरिक रैबार
यसरी हुन्छ राजनीतिक कार्यक्रममा ‘गरिब’ को प्रयोग

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि नेपालमा विभिन्न राजनीतिक दलहरु सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाको एउटा पक्षले प्रतिनिधिसभा विघटनको समर्थनमा प्रदर्शन तथा सभाहरु आयोजना गर्दै आएको छ भने नेकपाकै प्रचण्ड–माधव पक्ष, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतले विरोधमा सडक संघर्ष गर्दै आएका छन् ।

जुनसूकै दलले कार्यक्रम आयोजना गरे पनि भीड जम्मा भएकै हुन्छ । प्रतिनिधिसभा विघटनको पक्षमा होस् वा विरोधमा आयोजना गरिएको कार्यक्रम नै किन नहोस्, जनसहभागिता उस्तै–उस्तै देखिन्छ ।
सामाजिक अभियन्ताहरु भने यस्ता भीडलाई हेरेर जनमत आँकलन गर्न नहुने तर्क गर्दछन् । उनीहरुका अनुसार राजनीतिक दलहरुले आयोजना गर्ने यस्ता कार्यक्रममा सहभागी हुने अधिकांशले राजनीतिक मुद्दा बुझेकै हुँदैनन् ।
दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिक–मजदूरहरुलाई ज्यालादारीबाट आउने रकमको तुलनामा केही बढी रकम दिएर यस्ता सभा–प्रदर्शनमा सहभागी गराइने गरेको अभियन्ताहरुको दावी छ । उनीहरुका अनुसार फरक फरक राजनीतिक दलका कार्यक्रममा समेत एकै अनुहार सामेल हुने गरेको पनि पाइन्छ ।

दलित अभियन्ता भोला पासवान भन्छन्, ‘वास्तवमा अचेल गाउँघरतिर जनता प्रयोग भएका छन्, दिनदिनै राजनीतिक ठेकेदारहरु गाउँगाउँ घुमेर निमुखा जनतालाई विभिन्न प्रलोभन दिइरहेका हुन्छन् ।’
मुसहर समुदायको विकास तथा चेतनाको अभियानमा लागेका राजकुमार महतो पनि गरिब जनतालाई केही रकम र खानाको प्रलोभनमा राजनीतिक दलहरुले प्रयोग गरेको दावी गर्दछन् । उनले भने, ‘राजनीतिक दलका नेताहरुले विभिन्न लोभ, लालच दिएर दलित तथा पिछडिएका समुदायको आदत बिगारेका छन्, ती समुदाय नै कोही आएर आफूलाई केही रकम दिएर कुनै कार्यक्रममा लैजाओस् भनेर प्रतीक्षा गर्न थालेका छन् ।’

विज्ञापन

केहीदिन अघि सर्लाहीको मुसहर बस्तीमा गएर रिजवान अन्सारीको पार्टीले प्रत्येक घरमा हातेपम्प (पिउने पानीकालागि) दिने भनेर घरधुरीको नाम संकलन गरेको थियो । सबैले नाम पनि लेखाए । त्यही लोभमा सबैलाई ट्याक्टरमा चढाएर कार्यक्रममा लगिए पनि अहिलेसम्म कसैको घरमा हातेपम्प जडान भएको छैन ।

‘दलित तथा मुसहर बस्तीमा गएर राजनीतिक दलका ठेकेदारहरु जमिनको लालपूर्जा दिलाईदिने, मोहियानी हक दिलाईदिने, सबैलाई एक–एक घर बनाईदिने, घरघरमा ग्यास चुल्हो दिने जस्ता प्रलोभन दिएका हुन्छन्, सबैको नाम पनि टिपेका हुन्छन्,’ दलित अभियन्ता पासवान भन्छन्, ‘त्यसैका लागि भन्दै सबैलाई गाडीमा ओसार्दै जनसभाहरुमा लगिन्छ ।’ यी सबै कार्य जनतामा चेतनाको अभावका कारणले भइरहेको उनले बताए ।

पहिलाको जमिन्दारी प्रथाकै शैलीमा अहिले राजनीतिक दलहरुले गरिब तथा विपन्न जनतालाई आफ्नो स्वार्थमा प्रयोग गरेको अभियन्ताहरुको भनाइ छ । ‘पहिलाका जमिन्दारहरु जसरी गाउँघरका दलित तथा पिछडिएकालाई शोषण गरेर खेत तथा घरमा काम गर्न लगाउँथे, आज तिनै जमिन्दारहरु राजनीतिक ठेकेदार भएका छन्,’ सिरहाका दलित अभियन्ता राकेश विद्रोही भन्छन्, ‘उनै जमिन्दारहरु आज आफ्नो वर्चस्व देखाउन, राजनीति दलमा पकड बनाउन ती दलित, पिछडिएका गरिब निमुखालाई प्रयोग गरिरहेका छन् ।’

दलित तथा मुसहर बस्तीमा शिक्षा तथा चेतनाको कमीका कारण उनीहरुको आर्थिक अवस्थासमेत कमजोर रहेको राति खाए बिहान के खाने भन्ने चिन्ता हुने भएकाले पनि त्यस्ता समुदायलाई राजनीतिक दलहरुले दुई छाक खाना र केही रकमको भरमा आफ्ना कार्यक्रममा लैजाने गरेको उनले बताए ।

माघ १९ गते सिरहामा प्रधानमन्त्रीकै उपस्थितिमा आयोजित हेमनारायण स्मृतिसभामा समेत गाउँगाउँबाट त्यसरी नै भीड जम्मा गरिएको दलित अभियन्ता राकेश विद्रोहीको दावी छ । उनले भने, ‘सिरहाबाट लहान नगरपालिकाको १ नम्बर वडा र ५ नम्बर वडामा चारवटा गाडी लिएर ओलीका कार्यकर्ता आएका थिए, कसैलाई पैसाको प्रलोभन दिए भने कसैलाई जग्गाको लालपूर्जा दिलाईदिने प्रलोभन दिएर कार्यक्रमस्थल सिरहा सदरमुकामसम्म लगिएको थियो ।

आफ्नै आँखा अगाडि यस प्रकारको घटना भएको भन्दै उनले राजनीतिक कार्यक्रममा मान्छे उतार्नका लागि पैसा खर्च गर्नेमा नेकपाको ओली समूह अग्रणी रहेको बताए । ‘सरकारमा रहेका कारण उसले जिल्ला तथा स्थानीय तहका सरकारी संयन्त्रलाई पनि प्रयोग गरेको हुन्छ,’ उनले भने, ‘जसको जे आवश्यकता हुन्छ, उसलाई त्यो पूरा गरिदिन्छु भनेर आफ्नो कार्यक्रममा लगेका हुन्छन् ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै