राजेन्द्र विक/बाजुरा १४ असोज। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ६ को वडा कार्यालयले दलित तथा पिछडिएको वर्ग भनेर सिफारिस गर्ने शुल्कमा पाँचसय रकम लिने गरेको खुलासा भएको छ ।
सोही वडाका कमल मिजारको दलित तथा पिछडिएको क्षेत्रको स्थायी बासी भएको भनि वडा कार्यालयले प्रमाणित गरेको सिफारिसमा पाँच सय रकम लिएको खुलासा भएको हो ।
मिजारले असोज ११ गते वडा कार्यालयमा दलित तथा पिछडिएको क्षेत्रमा बसोवास गर्दै आएको भन्ने सिफारिस गरिपाउँ भनेर निवेदन दिएको र वडाबाट सिफारिस दिँदा आफुुले सिफारिस गरे वाफत वडा कार्यालयलाई पाँच सय रकम तिरेको बताएका छन् ।
त्यस्तै वडाकै कल्पना लवारले पनि वडा कार्यालयमा दलित भएको भनि गरेको सिफारिसमा ५ सय शुल्क तिरेको बताईन् । उनले भनिन् सिफारिस बनाउन यति धेरै पैशा लाग्छ भनेर वडा सचिव विवेक शाहलाई सोधपुछ गर्दा वडा सचिव शाहले यो सिफारिस बनाउन पाँच सय नै लाग्ने गरेको छ भनेर आफुलाई जवाफ दिएकोले आफुले पाँच सय नै तिरेको कल्पनाले बताईन् ।
अचम्मको कुरा त के छ भने वडामा भएका कर्मचारीहरुले एउटै सिफारिस गर्दा फरक फरक रकमको रसिद काटेको पाईएको छ । असोज ११ गते वडा सचिव विवेक शाहले कमल मिजारलाई सोही सिफारिस गर्दा पाँचसयको रसिद काटेको देखिन्छ भने त्यस्तै वडाकै प्राविधिक उमेश वडुवालले असोज १३ गते धर्मेन्द्र लुहारको सिफारिस शुल्कमा १ सय रुपैयाको रसिद काटेको देखिएको छ ।
यस विषयमा वडा अध्यक्ष कला बडुवालले भनिन् नगरपालिकाको कार्यविधि अनुसार गत वर्ष २ सय ५० लिने गरेका थियौं भने यस वर्षबाट उक्त सिफारिस गरिए बाफत एक सय मात्रै लिने गरेका छौ । वडामा वडा सचिवले सिफारिस वाफत पाँचसय लिएको रसिद काटेको भए तत्कालै सम्वन्धित व्यक्तिलाई बाँकी रकम फिर्ता गर्ने बताईन् ।
यता बडीमालिका नगरपालिकाको अर्थ सम्वन्धि प्रस्तावलाई कार्यान्वय गर्न बनेको २०७७/७८ को आर्थिक ऐन अनुसार वडा कार्यालयबाट उक्त प्रकृतिको सिफारिस गर्ने शुल्कमा १ सय रुपैयाँ मात्र लिन पाईने व्यवस्था छ ।
फेसबुक प्रतिक्रियाहरु