होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा स्वास्थ्य संस्था छन् तर उपकरण छैनन्
देश/प्रदेश

सुदूरपश्चिममा स्वास्थ्य संस्था छन् तर उपकरण छैनन्

  • नागरिक रैबार
सुदूरपश्चिममा स्वास्थ्य संस्था छन् तर उपकरण छैनन्

महेन्द्रनगर/दार्चुला: मुलुकको कार्यकारी पददेखि राज्य संयन्त्र सञ्चालन हुँदै राजनीति समेतमा प्रभाव राख्ने हस्ती भएको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवाको अवस्था भने जर्जर छ।

नौ जिल्ला भएको प्रदेशमा सात पहाडी जिल्ला छन्। मुलुककै विकट पहाडी जिल्ला बाजुरादेखि यसअघि क्षेत्रीय सदरमुकाम रहीसकेको डोटीले हालसम्म नत जिल्लामा आइसियु सेवा दिन सक्यो नत भेन्टिलेटर सेवा नै।

पछिल्लो दशकयता स्वास्थ्य सेवा प्रवाहमा प्रदेशमा अब्बल धनगढी देखिए पनि अन्य आठ जिल्लामा स्थानीय बिरामी पर्दा होस या दुर्घटनामा परेर घाइते हुँदा पनि सघन कक्षमा राखेर उपचार हुनसक्ने अवस्था छैन।

विज्ञापन

महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण दिनानु दिन फैलिँदै जाँदा यहाँ स्वास्थ्य सेवा, आवश्यक स्वास्थ्य उपकरण र दक्ष जनशक्तिको अभाव अझ बढी खड्किन थालेको छ। विसं २०६८ को जनगणनाअनुसार यस प्रदेशमा २५ लाख ५२ हजार ५१७ जनसंख्या रहेको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा दश र कञ्चनपुरमा आठ गरी सुदूरपश्चिमभरी मात्रै १८ शैंयाको आइसियु सेवा सञ्चालनमा रहेको छ। डडेल्धुरामा चार, कैलालीमा पाँच र कञ्चनपुरमा तीन भेन्टिलेटर रहेको जनाइएको छ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले पहाडी जिल्लामा आइसियु र भेन्टिलेटर सेवा पु¥याउन नसकिएको बताए। ‘सामान किनेर राख्नु ठूलो कुरो छैन’, उनले भने, ‘त्यो सञ्चालन गर्ने जनशक्ति हामीसँग छैनन्।’

उनले आइसियु र भेन्टिलेटर सेवा सञ्चालनका लागि सम्वन्धित विषयको विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली आवश्यक पर्ने जानकारी दिए। ‘विशेषज्ञ चिकित्सकको पहाडी जिल्लामा दरबन्दी नै छैन’, उनले भने, ‘भएको जनशक्तिलाई तालिम र प्रशिक्षण गराउन पनि कोरोना कहरले सकिरहेको अवस्था छैन।’

प्रदेश सरकारको पहलमा यहाँका सात पहाडी जिल्लामा भेन्टिलेटर राख्ने तयारी रहेको छ। ‘पहाडमा एउटा जिल्लामा दुई वटा भेन्टिलेटर राख्ने प्रदेश सरकारको निर्णयअनुसार अहिले खरिद प्रक्रियामा गइसकेको छ’, निर्देशक डा. अवस्थीले भने, ‘त्यो सञ्चालनका लागि यहाँ भएको जनशक्ति तालिम गराउन वीर अस्पताल र शिक्षण अस्पताल पठाउन पर्ने भएपनि अहिलेको अवस्थाले सकिएको छैन।’

कोरोना सङ्क्रमण फैलिँदै गएर गम्भीर खालका बिरामीहरुको चाप बढ्दै गए यहाँ उपचार गर्नसक्ने सम्भावना नै छैन्। ‘आजका दिनसम्म कोरोना सङ्क्रमितलाई आइसियु र भेन्टिलेटरमा राखेर उपचार गराउन परेको छैन’, उनले भने, ‘त्यो अवस्था आयो भने सुदूरले मात्रै होइन देशले नै सक्दैन्।’

स्वास्थ्य संस्था छन्, उपकरण छैनन्
भारतसँग सीमा जोडिएको दार्चुला र बैतडीमा पनि कोरोना सङ्क्रमितको संख्या बढिरहेको भएपनि त्यहाँ स्वास्थ्य सेवा र आवश्यक उपकरणको छैन। सुदूरपश्चिममा हालसम्म सबैभन्दा कम संख्यामा कोरोना सङ्क्रमित देखिएको जिल्ला हो, दार्चुला।

शनिबारसम्म यहाँ ५० जना सङ्क्रमित देखिएका छन्। तीमध्ये ४७ जना निको भएर घर फर्किसकेका छन्। नौ वटा स्थानीय तह रहेको यहाँ दुई वटा अस्पताल र जिल्लाभरीमा ४१ वटा स्वास्थ्य चौकी, १८ वटा सामुदायिक स्वास्थ्य एकाई, १४ वटा आधारभूत स्वास्थ्य केन्द्र र नौ वटा शहरी स्वास्थ्य केन्द्र रहेका छन् ।

यहाँ दुई वटा अस्पतालमा आइसोलेसन कक्ष २१ वटा निर्माण गरिएको छ, भने हरेक स्थानीय तहमा १० वटासम्म आइसोलेसन कक्ष बनाउन भनिएको छ।

स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड–१९ सम्पर्क व्यक्ति वीरेन्द्र भट्ट जिल्लामा सघन कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्थाका बिरामी नदेखिएको जानकारी दिए । उनले कोरोना कहरको लामो समय बितिसक्दा पनि जिल्लामा आइसियु सेवा सञ्चालन बारे कुनै पनि निकाय वा तहको ध्यान नपुगेको बताए।

‘जिल्लामा आइसियु सुविधा नहुँदा गर्भवती महिला तथा जोखिमपूर्ण अवस्थामा पुगेका बिरामीलाई धनगढी वा भारत रिफर गर्नुपर्ने अस्पतालको बाध्यता छ’, उनले भने, ‘स्वास्थ्य सेवा थप्ने विषयमा पनि सरोकारवाल सबै निकाय गम्भीर हुनु आवश्यक छ।’

जिल्ला अस्पताल दार्चुलाका डा. गजेन्द्र दुवालले आइसियु सेवा सञ्चालनमा अग्रसता देखाए सम्भव रहेको जानकारी दिए। उनले जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिइनसकेको बताए।

यहाँ समुदायस्तरमा पनि पीसीआर जाँचका लागि स्वाब संकलन भइरहेको छ। बैतडीमा पिसीआर विधिबाट कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना भइरहेको भए पनि जिल्लामा स्वास्थ्य सेवाको अवस्था उस्तै छ। जिल्लामा आइसियु र भेन्टिलेटर सेवा छैन। ३४२ जनामा कोरोना सङ्क्रमित रहेको जिल्लामा १९ जना मात्रै आइसोलेसनमा बसेका छन्।

जिल्लामा ६५ वटा स्वास्थ्य चौकी, एक जिल्ला अस्पताल, दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र, र २० वटा सामुदायिक स्वास्थ्य एकाइ छन्। पिसीआर मेसिन जडानको काम अन्तिम चरणमा पुगेको र सञ्चालनका लागि चार जना स्वास्थ्यकर्मीको टोली समेत छनौट भइसकेको जनस्वास्थ्य अधिकृत योगेशप्रसाद भट्टले जानकारी दिए। यहाँका स्थानीय तहले पनि जिल्लामा आइसियु सञ्चालन सघन उपचारका सेवा प्रभावकारी बनाउनतर्फ कसैको ध्यान पुगेको छैन।

पाँच दशकपछि महाकालीमा आइसियु सेवा

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा भने स्थापनाको पाँच दशकपछि आइसियु र भेन्टिलेटर सेवा सञ्चालनमा आएको छ। अस्पतालका मेसु डा. हरि श्रेष्ठले केही दिनयता अस्पतालमा छ शैंयाको आइसियु सेवा सञ्चालनमा आएको जानकारी दिए।

उनले दुई वटा भेन्टिलेटरसमेत सञ्चालनमा रहेको बताए। ‘यसअघि गम्भीर खालका बिरामीलाई यहाँबाट रिफर गर्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘सघन उपचार सुरु हुँदा बिरामीलाई पनि धेरै सहज भयो।’ उनले तीन वटा भेन्टिलेटर रहेपनि एउटा पुरानो भएर मर्मतकार्य भइरहेको जानकारी दिए।

भौतिक संरचनाले सुविधा सम्पन्न भएपनि यसअघि यहाँ स्वास्थ्य उपकरण र चिकित्सक थिएनन् । पछिल्लो समय महाकाली अस्पतालले आफ्नो सेवालाई बढाउँदै लगेको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले सुदूरपश्चिम प्रदेशबाट आइसियु सञ्चालनका लागि रु एक करोड सहयोग भएको बताए।

‘अक्सिजन प्लान्टका लागि छुट्टै ८० लाख रकम आएपनि लकडाउनका कारण बाहिरबाट मगाउन नसक्दा हाल त्यो रोकिएको छ’, उनले भने, ‘अहिले अक्सिजन प्लान्टका नभएपछि हाल अक्सिजनका दश वटा सिलिण्डरमार्फत अस्थायीरुपमा आइसियु सञ्चालन गरिरहेका छौँ ।’ २८ जना चिकित्सकको दरबन्दी रहेको अस्पातालमा अझै पदपुर्ति हुन भने सकेको छैन।

डडेल्धुरा अस्पतालका निमित्त मेसु डा. जगदीशचन्द्र विष्टले जिल्लामा चार वटा भेन्टिलेटर सेवा सञ्चालनमा रहेको जानकारी दिए। ‘तीन वटा भेन्टिलेटर पहिल्यै थिए’ उनले भने, ‘एउटा भर्खरै थपिएको छ।’

उनले डडेल्धुरामा आइसियु सेवा भने स्वास्थ्य संस्थामा नभएको बताए। ‘यस बर्षको कार्यक्रममा आइसियु सेवा सञ्चालन गर्ने तयारी छ’, उनले भने, ‘केही समयपछि हुन्छ होला।’ उनले जिल्लाका सबै पालिकामा स्वास्थ्य संस्था भए पनि सामान्य बाहेकका बिरामी उपचारका लागि सदरमुकाम र तराईका जिल्लामा जाने गरेको जानकारी दिए। जिल्लामा अन्य पहाडी जिल्ला समेतबाट बिरामी उपचारका लागि आउने गरेका छन्।

स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले डोटी जिल्लामा अहिलेसमम आइसियु सेवा र भेन्टिरलेटर नरहेको बताए। ‘यहाँ निजी स्वास्थ्य संस्था, अस्पतालले पनि यो सेवा सुरु गरेका छैनन्।’ उनले भने, ‘जिल्ला अस्पतालमा आइसियु सेवा सञ्चालनको गृहकार्य भइरहेको छ।’

उनले जनप्रतिनिधि, अस्पताल र सरोकारावाल निकायमा सघन स्वास्थ्य सेवा सञ्चालनबारे छलफल भइरहेको जानकारी दिइए। यहाँ रहेको १५ श्ययाको अस्पतालमा प्रदेश सरकारबाट सहयोग आउने क्रम जारी रहेको उनले बताए।

त्यसैगरी सुदूरपश्चिमको ठुलो जिल्ला कैलालीमा दश शैंयाको आइसियु र सात वटा भेन्टिलेटर रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। जिल्लामा निजी अस्पतालले पनि आइसियु र भेन्टिलेटर सेवा दिइरहेका छन्।

विकट पहाडी जिल्ला बाजुरामा स्वास्थ्य सेवाको अवस्था दयनीय छ। कोरोना कहरसँगै जिल्लामा केही समयअघि आएको बाढी र पहिरोका कारण स्वास्थ्य सेवा प्रवाह गर्न नै समस्या भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए।

‘प्रायः स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका कर्मचारी छैनन्’, उनले भने, ‘प्रदेश सरकारबाट भेन्टिरलेटर आए बिरामीले सहज हुने आशामा छौँ।’ उनले अहिलेसम्म जिल्लामा पनि आइसियु र भेन्टिरलेटर नरहेको बताए।

जिल्लामा एक–एक जिल्ला अस्पताल, प्राथमिक संस्था केन्द्र र २७ वटा स्वास्थ्य चौकी छन्। त्यसैगरी यहाँको अछाम र बझाङ्गमा पनि आइसियु र भेन्टिलेटर सेवा हालसम्म जिल्लामा उपलब्ध छैनन् । गम्भीरखालका बिरामीहरुलाई त्यहाँबाट रातारात भए पनि डडेल्धुरा अस्पताल र धनगढी पुर्‍याउनुपर्ने बाध्यता छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार