नागरिक रैबार
बाजुरा १३ मंसिर
यो समय कृषकहरुका लागि बर्खे बाली कोदो, मकै, धान लगायतका बालीहरु भित्र्याउने समय हो । जिल्लाका कतिपय स्थानहरुमा त अहिले पनि कृषकहरु आफ्नो खेतबारीमा गहुँ छर्न व्यस्त छन् ।
तर बडीमालिका नगरपालिका ७ ढम्कनेका कृषकहरु भने यतिबेला गहुँबाली भित्र्याउन व्यस्त छन् । कसैलाई अचम्म लाग्न सक्छ होईन गहुँ छर्ने बेला ढम्कनेका कृषकहरु मात्र गहुँबाली कसरी भित्र्याउदैछन् भनेर ।
अचम्म मान्नु पर्ने कुरा छैन् । बडीमालिका ७ ढम्कने एरियामा विभिन्न बालीहरुका लागि हावा पानी र माटो सुहाउँदो छ ।
कृषि ज्ञान केन्द्र बाजुराको सहयोग तथा बडीमालिका ७ को समन्वयमा ढम्कनेको जमिनमा पहिलोपटक परिक्षणका लागि लगाएको गहुँ बाली पाक्न थालेपछि कृषकहरुले अहिले गहुँबाली भित्र्याउन थालेका छन् ।
बेमौसमी बालीको रुपमा परिक्षण स्वरुप लगाएको wk3027i र wk3027r प्रजातीको गहुँ पाकिसकेको छ भने wk3026i प्रजातीको गहुँ बाली पाक्नै लागेको बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।
सो क्षेत्रमा पहिलो पटक गहुँबाली परिक्षणका लागि लगाएको र बाली परिक्षण पनि सफल भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । बेमौसमी बाली भएकोले केही चराले अलि नोक्सान गरेको ज्ञान केन्द्र बाजुराको भनाई छ ।
बडीमालिका नगरपालिकाकै सबै भन्दा उचाइमा रहेको ढम्कने क्षेत्रमा पनि सो परिक्षण सफल भएकोले अब आलु खेतीको पनी परिक्षण गरिने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । गहुँ छर्ने समयमा गहुँ भित्र्याउन पाउँदा खुसी लागेको त्यहाँका कृषकहरुले बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु