मंसिर, काठमाडौं । २० कात्तिकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा स्वीकृत गरेपछि स्थानीय तहहरूले धमाधम विद्यालय सञ्चालन गर्न दिने निर्णय गरे ।
कार्यढाँचामा प्रदेश सरकार तथा स्थानीय सरकारहरूलाई विद्यालयमा बालबालिकाको सुरक्षा, महामारीको संक्रमणबाट बचावट र सहज सिकाइ वातावरण तयारी गरेर विद्यालय खोल्न सकिने भनिएको छ ।
मन्त्रालयले कार्यढाँचा जारी गरेको दुई हप्तापछि हुम्लाको नाम्खा गाउँपालिकास्थित महाबौद्ध माध्यमिक विद्यालयका ३२ विद्यार्थीमा नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भयो । छात्रवासमा बसेका १०० विद्यार्थीको स्वाब परीक्षण गर्दा संक्रमण देखिएपछि हुम्ला जिल्लाभरिका शैक्षिक संस्था बन्द भए ।
शिक्षक र कर्मचारीमा संक्रमण देखिएपछि गोरखा नगरपालिकाले पनि २४ कात्तिकदेखि १५ मंसिरसम्मको लागि विद्यालय बन्द गर्यो । नगरपालिकाकी उपप्रमुख विना श्रेष्ठ पालिकाभित्र समुदायस्तरमै संक्रमण देखिएको बताउँछिन् । संक्रमितहरूको कोरोना परीक्षण रिपोर्ट आएपछि अवस्था हेरेर विद्यालय सञ्चालनबारे निर्णय लिने उनी बताउँछिन् ।
मुस्ताङको घोरपझोङ गाउँपालिकाले पनि कक्षा ११ मा पढ्ने दुई विद्यार्थीमा संक्रमण देखिएपछि पालिका भित्रका सामुदायिक तथा निजी विद्यालय बन्द गरेको छ । गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली कोरोना र मौसमको अवस्था हेरेर विद्यालय बन्द गरिएको बताउँछन् । ‘अहिलेलाई पुससम्म बन्द गर्ने भनेका छौं’, उनी भन्छन्, ‘त्यसपछि अवस्था विचार गरेर माघ वा फागुनमा विद्यालय खोल्छौं ।’
घोरपझोङबाहेक जिल्लाका बाँकी पालिकाका विद्यालय भने सञ्चालनमा रहेको जिल्ला शिक्षा कार्यालय, मुस्ताङका इकाई प्रमुख टंकराज बराल बताउँछन् । उनका अनुसार मंसिर लागेकाले हिमाली जिल्लाका विद्यालयहरू चिसोका कारण पनि बन्द गर्नुपर्ने अवस्था छ ।
हिमाली जिल्लामा महामारी नभएका बेला फागुनमा शैक्षिक सत्र सुरू भएर मंसिरमा अन्तिम परीक्षा हुन्थ्यो । तर यसपटक चैतमा आन्तिम परीक्षा लिने योजना रहेको बरालले बताए ।
बकरार छ उत्साह
केही स्थानीय तहहरूले भने असोजदेखि नै विद्यालय सञ्चालन अनुमति दिएका थिए । उनीहरूले १९ भदौमा शिक्षा मन्त्रालयद्वारा जारी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका अनुसार विद्यालय खोलेका थिए ।
त्यसमध्येको एक हो काठमाडौंको चन्द्रागिरि नगरपालिका । चन्द्रागिरी–७, महादेवस्थानस्थित प्रभात माध्यमिक विद्यालयले १ असोजदेखि हप्तामा एक दिन विद्यालय सञ्चालन गर्यो ।
विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद रुपाखेती अभिभावक र विद्यार्थीको माग अनुसार अहिले हप्तामा तीन दिन सञ्चालन गरिएको बताउँछन् । उनी भन्छन्, ‘अभिभावकहरूले सराह्रना गर्नुभएपछि हामी उत्साहित भएका हौं ।’
मुस्ताङको बारागाउँ क्षेत्र गाउँपालिकाले पनि असोजदेखि नै विद्यालयलाई निरन्तरता दिएको छ । पुस पहिलो हप्तासम्म विद्यालय खोल्ने निर्णयबाट भने यो पालिका पछि हटेको छ । गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ भन्छन्, ‘कोरोना होइन चिसोले गर्दा मंसिरसम्म मात्रै विद्यालय सञ्चालन गर्छौं ।’
मोरङको बुढीगंगा गाउँपालिकाले ८ मंसिरमै विद्यालय खोल्न दिने निर्णय गरेको छ । विद्यालय सञ्चालन भएको १५ दिनभित्र वस्तुस्थिति मूल्यांकन गरेर प्रतिवेदन दिन भनिएको गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले बताए । मोरङकै रंगेली, सुनवर्षी, रतुवामाई, धनपालथान, जहदा र कटहरी पालिकाले पनि १५ मंसिरदेखि विद्यालय खोल्ने निर्णय गरेका छन् ।
सुनसरीको कोशी गाउँपालिकाका विद्यालयहरू १४ मंसिरदेखि सञ्चालनमा आउँदैछन् । पालिकाभित्र ६२ सामुदायिक र निजी विद्यालयमा गरी साढे सात हजार विद्यार्थी छन् । विद्यालयमा सेनिटाइजर, मास्क, हात धुन साबुनपानीको व्यवस्था गरिदिएको गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् । उनका अनुसार हात धुन प्रत्येक ५० विद्यार्थी बराबर एउटा बाल्टी र पानीको व्यवस्था मिलाइएको छ ।
स्थानीय तहले निर्देशन दिन्छ, सहयोग गर्दैन
शिक्षा मन्त्रालयको कार्यढाँचामा महामारीका कारण बन्द रहेका विद्यालयहरू स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने व्यवस्था छ । स्वास्थ्य सुरक्षाको जिम्मेवारी स्थानीय तह र विद्यालय मिलेर गर्नुपर्ने भनिएको छ । तर एकाध बाहेकका विद्यालयले सम्बन्धित पालिकाबाट केहि सहयोग पाएका छैनन् ।
ललितपुरस्थित एक सामुदायिक विद्यालयका प्रधानाध्यापक पालिकाले परीक्षा सञ्चालन गर्नु, विद्यालय खोल्नु भन्ने निर्देशन दिएर एउटा मास्क पनि सहयोग नगरेको बताए । ‘कक्षा १२ को परीक्षाका लागि हेल्थ डेस्क माग गर्दा ‘यति धेरै विद्यालयलाई स्वास्थ्यकर्मी दिन सकिदैन’ भन्ने जवाफ पाइयो’, उनी भन्छन् ।
पालिकाहरू कति गैर–जिम्मेवार छन् भन्ने कुरा नाम उल्लेख गर्न नचाहने ती प्रधानाध्यापकको भनाइले बुझाउँछ ।
चन्द्रागिरी–७ को प्रभात माध्यमिक विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न खोज्दा इन्टरनेट र ल्यापटप वा स्मार्टफोन भएका विद्यार्थी प्रतिकक्षा ६–७ जना पनि पुगेन । त्यसपछि विद्यालयले महामारीकाबीच हप्तामा एक दिन विद्यालय खोल्ने निर्णय गर्यो ।
विद्यार्थीको सहभागिता र अभिभावकको सुझावपछि विद्यालयले हप्तामा तीन दिन विद्यालय सञ्चालन गरिरहेको छ । तर विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्रीको अभाव रहेको प्रअ रुपाखेती बताउँछन् ।
८५० जना विद्यार्थी पढ्ने यो विद्यालयका लागि सेनीटाइजर, मास्क, थर्मल गन जस्ता सामग्री जुटाउन धौधौ परेको देखिन्छ । प्रअ रुपाखेतीले आफ्नै खर्चबाट पनि स्वास्थ्य सामग्री खरिद गरेका छन् । ‘असोजमा किनेको केहि थर्मल गन बिग्रिसके’, उनी भन्छन्, ‘कसैले मास्क, थर्मल गन, सेनिटाइजर सहयोग गरे हुन्थ्यो जस्तो लागेको छ ।’
‘कतैबाट मास्क र सेनिटाइजर सहयोग पाए हुन्थ्यो’
गोविन्दप्रसाद रुपाखेती
प्रधानाध्यापक, प्रभात माध्यमिक विद्यालय, चन्द्रागिरि
मेरो विद्यालयमा ७७ जिल्लाका ८५० विद्यार्थी पढ्छन् । न्यून आम्दानी भएका अभिभावका छोराछोरीलाई समेट्न पाउँदा खुशी लाग्छ । सबैतीर अनलाइन कक्षाको चर्चा चलेपछि हामीले पनि अभिभावक र विद्यार्थीसंग बुझ्दा एउटा कक्षामा ६–७ जना भन्दा बढीसँग इन्टरनेट र नेट चल्ने मोबाइल नरहेको थाहा पायौं ।
अनि ९० प्रतिशत भन्दाबढी विद्यार्थी बाहिर राखेर अनलाइन कक्षा सञ्चालन गर्न उचित लागेन । त्यसपछि चन्द्रागिरी नगरपालिकाभित्र रहेका विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गरायौं । बाहिरका विद्यार्थीलाई पुस्तक पुर्याउन सकेनौं ।
त्यसपछि सावधानी अपनाएर विद्यालय खोल्ने निर्णय गर्यौं । हप्तामा एक दिन विद्यालय बोलाएर गृहकार्य दिन थाल्यौं । यसमा नगरपालिकाले अनुमति मात्रै दिएन संक्रमितको उपचार गर्ने प्रतिबद्धता पनि जनायो ।
सौभाग्यवश अहिलेसम्म मेरा विद्यार्थीलाई कोरोना लागेको छैन । विद्यालय र घरबाहेक अन्त नजानु भनेका छौं । यो कुरा पालना भएको पाएका छौं ।
अभिभावकहरूले फोन गरेर विद्यालय खुलेपछि आफ्ना छोराछोरी सुरक्षित भएको प्रतिक्रिया दिनुभएको छ । उहाँहरु आफ्ना छोराछोरीले विद्यालयमा मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न सिकेर आए भनेर दंग पर्नु भएको छ । विद्यार्थीले कोरोनाबाट जोगिन घरमा पनि मास्क, सेनिटाइजर लगाऊँ, साबुन पानीले हात धोऔं भन्दा रहेछन् ।
यस्तो प्रतिक्रियाबाट हौसिएर हामीले हप्तामा एक दिनको सट्टा तीन दिन विद्यालय खोलेका छौं । शिक्षक–कर्मचारी साथीहरूले राम्रो काम गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले विद्यालय नखोल्न दवाव दिएको थियो । जनप्रतिनिधिहरूले हाम्रो अनुमतिमा खुलेको भनेपछि बन्द गर्न परेन ।
विद्यार्थीलाई सुरक्षित राख्दै पढाइलाई निरन्तरता दिन चाहन्छौं । अवस्था सबै हिसाबले अनुकुल पनि छ, तर सेनिटाइजर, मास्कको जोहो गर्न गाह्रो परेको छ । असोजमा किनेको थर्मल गन पनि बिग्रिन थालेको छ । अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग पाए हुन्थ्यो भन्ने लाग्छ । सहयोग पाइएन भने ऋण गरेर भए पनि पढाई रोक्दैनौं ।
शिक्षा ठूलो कि ज्यान ?
लकडाउन खुकुलो भएदेखि नै महामारीकाबीच विद्यालय सञ्चालन गर्ने की नगर्ने भन्नेमा फरक–फरक धारणा आइरहेका छन् । एकथरीले कोभिड–१९ को अन्त्य अनिश्चित भएकाले संक्रमण कम भएका ठाउँमा स्वास्थ्य सतर्कता अपनाएर विद्यालय खोल्नुपर्ने बताइरहेका छन् ।
अर्काथरी भने ज्यान भन्दा पढाई ठूलो नभएकाले कुनै पनि हालतमा विद्यालय खोल्न नहुने धारणा राखिरहेका छन् । तिनैमध्येका एक हुन्, नेपाल अभिभावक संघका अध्यक्ष केशव पुरी । उनी भन्छन्, ‘काठमाडौं जस्तो कोरोनाको हटस्पट बनिरहेको ठाउँमा विद्यालय खोल्नु हुँदैन, ज्यान भन्दा पढाई ठूलो हुन सक्दैन ।’
संघीय सरकारले ल्याएको कार्यढाँचा नै अव्यवहारिक रहेको पुरीको भनाइ छ । ‘यस्तै कार्यढाँचा ल्याउनु थियो भने असार–साउनमै ल्याएको भए हुन्थ्यो’ उनी भन्छन्, ‘संघीय सरकारले नसकेपछि जोखिम स्थानीय सरकारको काँधमा हालेको छ ।’
शिक्षाविद् डा. विद्यानाथ कोइराला पनि महामारीका बेला विद्यालय खोल्ने निर्णयलाई मुर्खतापूर्ण भन्छन् । ‘काठमाडौंकै मेयरहरूले विद्यालय खोल्न सकिदैन भनिरहेका बेला जोखिम यत्रो मोल्नु वुद्विमता होइन’, उनी भन्छन् ।
काठमाडौं र ललितपुर महानगरपालिकाका मेयरहरू संक्रमित भएपछि उपत्यका नगरपालिका फोरममा विद्यालय खोल्न नहुने कुराले महत्व पाएको छ । काठमाडौंका मेयर विद्यासुन्दर शाक्य भन्छन्, ‘काठमाडौं महानगरभित्र ७ सय विद्यालय छन्, विद्यालय खोल्ने निर्णय गर्नुअघि विद्यार्थी र शिक्षकलाई कसरी सुरक्षित राख्ने भनेर सोच्नैपर्छ ।’
विद्यार्थी र शिक्षकको सुरक्षा पहिलो प्राथमिकता
विद्यासुन्दर शाक्य
प्रमुख, काठमाडौं महानगरपालिका
हामी विद्यालय खोल्ने, नखोल्ने वा खोले कसरी खोल्ने भनेर छलफल गरिरहेका छौं । उपत्यकाका कम कोभिड प्रभावित नगरपालिकाले आलोपालो वा जोरबिजोरको पद्धतिबाट विद्यालय खोलौं भन्नुभएको छ । शिक्षा क्षेत्रलाई लामो समयसम्म बन्द गरेर राख्न हुन्न भन्ने हाम्रो पनि मान्यता हो । जोखिमको मूल्यांकन भने गर्नैपर्छ ।
विद्यालय खोल्ने हो भने कस्ता स्वास्थ्य मापदण्ड बनाउने, कसरी लागू गर्ने भनेर विद्यालयसँग पनि छलफल गर्नुपर्छ । पूर्वतयारी र सतर्कताको पक्ष हेर्नुपर्छ । भविष्यमा विद्यालयबाट संक्रमण फैलिने अवस्था नआओस् भनेर सचेत हुनैपर्छ । बालबालिकालाई सुरक्षित राख्ने काम हाम्रै हो ।
काठमाडौं महानगरले आफ्नो शिक्षा र स्वास्थ्य विभागलाई कसरी अघि बढ्ने, एउटा प्रतिवेदन ल्याउन भनेको छ । त्यसपछि हामी स्वास्थ्य मन्त्रालयसँग पनि छलफल गर्छौं । काठमाडौं महानगरभित्र ७ सय जति विद्यालय छन् । ती सबै खुलेपछि कसरी कोरोना सुरक्षित पार्ने भनेर सोच्नैपर्छ । त्यसका लागि अध्ययन, छलफल र पूर्वतयारी गर्छौं ।
अहिले पनि शहरमा पार्टी प्यालेस, जिम हल, हिल्म हल, शैलुन लगायतका व्यवसाय खुलेका छैनन् । यस्तो अवस्थामा विद्यालय खोल्न सम्वेदशील हुनैपर्छ । हामी जोखिमको मूल्यांकन गरेर निर्णय लिने पक्षमा छौ ।
कक्षा १२ को परीक्षा ‘टेस्ट केस’
त्रिपुरेश्वरस्थित विश्वनिकेतन कलेजका प्रधानाध्यापक हेरम्बराज कँडेल भने कोरोना लामो समयसम्म रहन सक्ने भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय खोल्नु पर्ने बताउँछन् ।
‘विद्यार्थीहरू लामो समय घरमा बस्दा ‘खाली दिमाग सैतानका घर’ भने जस्तो हुन्छ’ उनी भन्छन्, ‘सार्कमा बंगलादेशबाहेक सबै देशले खोलेका छन्, शैक्षिकसत्र खेर जान नदिन सावधानीपूर्वक विद्यालय खोल्नुपर्छ ।’
मंगलबारदेखि सुरू भएको कक्षा १२ को परीक्षाले विद्यार्थी र अभिभावकको मनोबल बढाएको प्रधानाध्यापक कँडेलको विश्लेषण छ ।
कक्षा १२ को परीक्षा १६ मंसिरमा सकिदैछ । १८ मंसिरदेखि कक्षा ११ को परीक्षा सुरू गर्ने योजना डिल्लीबजारको विजय स्मारक माविका प्रअ डिल्लीप्रसाद शर्माले सुनाए । उनको विद्यालयका १५१ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिइरहेका छन् । ‘स्वास्थ्य मापदण्ड पालना गरेर दशवटा कोठामा परीक्षा सञ्चालन गरेका छौं’, उनले भने, ‘अब कक्षा ११ को पनि यसरी नै परीक्षा लिन्छौं ।’
के छ उपाय ?
पछिल्लो एक वर्षमा कोभिड–१९ ले विश्वलाई नै हायलकायल पारेको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)को अध्ययन अनुसार २०२० को मध्यसम्म आइपुग्दा शिक्षा, स्वास्थ्य, आवास, पोषण, सरसफाइ वा पानीको सुविधाबाट बन्चित भई बहुआयामिक गरिबीमा बाँच्ने बालबालिकाको संख्यामा १५ प्रतिशतले बृद्धि भएको छ । सबै बालबालिकाले पढ्न पाउने कुरा सुनिश्चित गर्न र प्रविधिको कारण सिर्जित असमानता हटाउन युनिसेफको सुझाव छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल यो संकटमा प्रधानाध्यापक र शिक्षकहरूको भूमिका बढेको बताउँछन् । पोखरेल भन्छन्, ‘विद्यार्थीलाई सुरक्षित राख्दै शैक्षिक सत्र खेर जान नदिन सबैको संयुक्त प्रयास आवश्यक छ ।’
शिक्षाविद् डा. विद्यानाथ कोइराला भने विद्यालय गएर पढ्नुलाई मात्र पढाई मान्ने मानसिकताबाट माथि उठ्नुपर्ने बताउँछन् । ‘आकस्मिक, काम गर्दै अनुभवबाट, अनौपचारिक कक्षा र विद्यालय गरी चार तरिकाबाट सिक्न सकिन्छ’, उनी भन्छन्, ‘घरमै बसेर सिक्ने वातावरण बनाउँदा पनि सिकाइ प्रभावकारी नै हुन्छ ।’
शिक्षकलाई निर्णय गर्न दिऊँ’
गिरिराजमणि पोखरेल
मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि
विद्यालय सञ्चालन कार्यढाँचा खासगरी कक्षा १२ को परीक्षा लक्षित छ । यसमा विद्यालय सञ्चालन मात्रै होइन बन्द गर्ने निर्णय पनि स्थानीय तहले नै गर्ने भनिएको छ । प्रत्यक्ष अनुगमन तथा निगरानीको जिम्मेवारी पनि स्थानीय तहकै हो ।
विद्यालय खोलेका केही स्थानमा संक्रमण देखिएको छ । जहाँ संक्रमण छ त्यहाँ विद्यालय बन्द गर्नु अनुपयुक्त होइन । अहिलेसम्मको अनुभव हेर्दा राम्रै व्यवस्थापन भएको देख्छु । प्रमुख जिल्ला अधिकारी, स्वास्थ्यसँग सम्बन्धित निकाय, अभिभावक र विद्यार्थीसँग समेत परामर्श गरेर विद्यालय खोल्ने वा नखोल्ने निर्णय गर्न सकिन्छ ।
संक्रमणको जोखिम छैन भने भौतिक उपस्थितीमा पढाउनु पर्छ । जोखिम छ भने वैकल्पिक शिक्षामै जानुपर्छ । यो विषयमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक र पालिकाहरू बढी जानकार हुन्छन् । एक हिसाबले भन्ने हो मूल निर्णय शिक्षकहरू बसेर गर्नुपर्छ ।
फेसबुक प्रतिक्रियाहरु