होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दशैंको यात्रा : दलालको रजाइँ, यात्रुको हरिबिजोग
समाचार

दशैंको यात्रा : दलालको रजाइँ, यात्रुको हरिबिजोग

  • नागरिक रैबार
दशैंको यात्रा : दलालको रजाइँ, यात्रुको हरिबिजोग
साँकेतिक तस्वीर

गए सालको दशैंमा ।कोटेश्वरको माइक्रो बस काउन्टरहरुमा दुई चक्कर लगाइसक्दा हातगोडा फतक्कै गलिसकेको थियो । चर्को घाम, पेट्रोलको धुँवा र धुलो, मान्छेको भिड । पान दोकान जस्तो काउन्टरमा मुस्किलले टाउको छिराएर सोधें, ‘बिर्तामोडसम्मको भए पनि हुन्छ, टिकट छ ?’

काउन्टरका मान्छे मालपोतका कर्मचारी भन्दा पनि बढी भाउ खाएका । वाक्य फुटे त के ? हेर्दा पनि हेर्दैनन् बजिया । घुम्दै-फिर्दै फेरी त्यही परिचित काउन्टरमा पुगें, जहाँबाट दुई पटक ‘रिजेक्ट’ भइसकेको थिएँ ।

‘इलामको चाहिएन, बरु झापासम्मकै भए हुन्छ । तर, सिट राम्रो मिलाइदिनु’ मेरो मुखबाट गलेको आवाज निस्कियो ।‘अघि भन्नुपर्दैन ?’ परिचित अच्युत दाईले बहीखाता खोले, ‘लु कति जाना जाने रे ?’

विज्ञापन

झापाबाट इलाम पुग्नु अर्को जात्रा हुन्छ । अनिदोमा उठेर अर्को गाडी खोज्नु, झिटीझ्याम्टा सम्हाल्नु । कम महाभारत हुन्छ ? सोझै इलामसम्मको पाए ढुक्क हुने । त्यसैले ‘अग्रिम बुकिङ’ खुले लगत्तै काउन्टरमा धर्ना दिन पुगियो । तर, टिकट पाए पो ?

फल्यासब्याक

टिकट खुल्नुअघि नै अच्युत दाईसँग तीन बुँदे सर्तसहित अनुरोध गरेको थिएँ ।

१. इलामसम्म जाने राम्रो कन्डिसनको माइक्रोबस हुनुपर्ने ।

२. अगाडिको आरमदायक सिटहरु सुरक्षित गरिदिनुपर्ने ।

३. टिकट फलानो मिति, बारको हुनुपर्ने ।

दाईले धाप मार्दै भनेका थिए, ‘सुर्ता नगर न यार, मैले भनेपछि भएन ?’ उनको यही एक वचनले मलाई ढुक्क बनाएको थियो । साँझ डेरा पुगेपछि मैले खुसी बाढेको थिएँ, ‘फलानो मितिमा हिँड्नुपर्छ । नयाँ माइक्रोको सिट रोक्न लगाएको छु ।’ अघिल्लो बर्ष दशैं मान्न नपाएको खिन्नता मेट्न आतुर हामीले किनमेल र सरसामन प्याक गरिसकेका थियौं । घरबेटीलाई चाबी बुझाउन बाहेक सबै कामकुरो फत्ते भइसकेको थियो ।

तर, अग्रिम टिकट खुल्नसाथ दाईले ‘मोबाइल सेवा’ स्थगित गरेछन् । पाउकष्ट नगरी टिकट मिल्ने छाँट भएन । मोबाइलमा बानी परेका हामीलाई ‘म्यानुअल’ खोजीनीति गर्न कम गाह्रो ? बल्लतल्ल दाई त भेटिए तर यस्तो अवस्थामा कि मानौं उनी मौरीको राना हुन् । टिकटका लागि फकाउने, थर्काउने, घुक्र्याउनेहरुको घेराबन्दीमा दाई असिन-पसिन देखिए । मलाई देख्नसाथ दाईले हातको इसारा गरे, ‘बस्दै गर ।’

म बसें । बसिरहें । तर, दाई उम्कन पाएनन् । आखिर भिडमा मिसिएर मैले उनलाई विनयी भावमा सोधें, ‘दाई, म अफिसको कम्प्युटर पनि बन्द नगरी आएको । मेरो मिलाइहाल्नु न, पहिला ।’ उनले हतार-हतारमै भने, ‘यि हेर न तिमीले देखिहाल्यौं । फलानोकहाँ जाउँ त म फोन गरिदिन्छु ।’

त्यसपछि म फलानोकहाँ गएका थिएँ, जसले मेरो अनुहार हेर्दा पनि हेरेनन् । क्षण-क्षणमा बजिरहने फोनमा उनी पसिनासरी भएर झोक्किदै थिए, ‘सबै पुलिस अफिसर र नेताका मान्छेहरुको लागि राखिदिनुपरेको छ । अर्को गाडी थपेन भने अस्ति टिकट रोक्न लगाउनेहरु जिउँदो छाड्दैन ।’

तीतो सत्य

दशैंको बेला काइदाको धन्दा चल्छ । यसमा दुईथरी सल्बलाउँछन् ।एकथरी, जो मिलेमतोमा राम्रा-राम्रा गाडीको टिकट कब्जा गर्ने र पछि अप्ठ्यारोमा परेका व्यक्तिलाई महंगो मूल्यमा बेच्ने ।

दोस्रोथरी, जो पहुँचको भरमा राम्रा-राम्रा गाडीको सिट कब्जा गर्ने र आफना आसेपासेहरुलाई ‘गुण’ लगाउने ।

पहिलोथरी, दलाल । दोस्रोथरी, नेता र प्रहरी अधिकारी । यी दुईथरीको गोलचक्करमै टिकट काउन्टरका एजेन्ट किन लाटो बन्थे ? सग्लो र आरमदायक गाडी ‘वरिष्ठ’हरुसँग मिलोमतो गरेर थोत्रो एवं लोकल गाडीमा यात्रुलाई फन्दामा पार्ने । यस्तो फन्दाको भुक्तभोगी हुँ म ।

अब चाहि त्यस्तो लफडामा फस्न नपरोस् भनी चनाखो हुँदै परिचित दाईलाई गुहारेको थिएँ, ‘बरु बढी नै पैसा तिरौला, टिकट चाहिँ पक्का गरिदिनु है ।’

तर, दाईको वचन स्खलित भयो । ‘अँ शिव भन त, कतिजना जाने रे ?’ उनले बहिखाता पल्टाए । मैलें सख्या बताएपछि दाईले भने, ‘दुई जनालाई बीचको सिटमा राखिदिन्छु, अरु लास्टमा है । यो पनि तिमीले भाग्यले पायौं ।’

आरमदायक एवं गतिलो माइक्रोबसबाट म नाइटबसमा आर्लिएको थिएँ । सोझै इलाम पुग्नुपर्ने, झापासम्मको यात्रामै सम्झौता गरेको थिएँ । अष्टमीको दिन हिँड्नुपर्ने, टिकाको भोलिपल्टलाई चित्त बुझाएको थिएँ । यतिधेरै नुहिएर पनि भनेजस्तो यात्रा गर्न नपाउनु ?

म झोक्किएँ, ‘भो दाई ।’ त्यसपछि म उक्त काउन्टरबाट यसरी बाहिरिएको थिएँ, मानौं अब त्यसलाई फर्केर हेर्नेपनि छैन ।

अर्कोदिन

अफिसका सहकर्मी रोयल आचार्यलाई बाइकमा लिफ्ट मागेर फेरी कोटेश्वर पुगियो । उनले ठट्टा गरे, ‘अरे तपाईंले पनि पैसा तिरेर जानुपर्छ, त्यो पनि बसमा ?’

दुबैजना फेरी त्यही काउन्टरमा पुगियो, जहाँबाट हिजो म तुफानी वेगमा निस्किएको थिएँ । काउन्टरमा प्रवेश गर्नु र मेरो मोबाइलमा ‘शुभ खबर’ आउनु एकैसाथ भयो ।

‘शिवजी, फलानो भान्जासँग तपाईंको कुरा भएको थियो’ आवाज सरोज सिटौलाको थियो, ‘म गाडी मिलाइदिउँला, सुर्ता नगर्नु ।’

‘धन्यवाद’ पनि नभनी म हतारिएर बोलें, ‘कस्तो गाडी, कहिलेको ?’

‘तपाईंहरु कहिले जाने ?’

‘पर्सि ।’

‘अँ, त्यही दिनको ।’

‘कस्तो गाडी छ सर ?’ मैले हार्दिकतापूर्वक निकै विनयी भावमा सोधें ।

‘टेन्सन नलिनुस्, राम्रै मिलाइदिउँला ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अधिकारीको वचन पाएपछि मेरो हृदयको चाप शन्त भयो । रोयलजीसँग कार्यलय फर्किएँ, फुरुंग हुँदै ।

फेरी अर्कोदिन

कोटेश्वरकै गञ्जागोलभित्र काउन्टर खोज्दै थिएँ । फलानो हितैषीले सरोज सिटौलाको नाम लिएर मलाई उक्त काउन्टरमा पुग्नु भनी समय र स्थान टिपाइदिएका थिए ।

हरेकजसो काउन्टरमा महाभारत सुरु होला-होला जस्तो स्थिती थियो । टिकट काउन्टरका कर्मचारीलाई ड्रेस कोडको अनिवार्य गरिएकाले उनीहरु घेराबन्दीमा देखिन्थे । म जहाँ पुगें, त्यहाँ भने ‘आउट ड्रेस’का तन्नेरी बुङका बुङ टिकट बोकेर बसेका थिए । मैले उनको सामुन्ने आफ्नो कुरा राखें । लगत्तै सम्बन्धित व्यक्तिसँग फोनमा कुरा गराएँ ।

‘ल, भोलि ११ बजेको गाडी छ । ठ्याक्क टाइममा आइपुग्नु नि ।’ उनले उर्दी जारी गरे । मैले उनीसँग गाडीको नाम, नम्बर र टिकट मागें । तर, टिकट दिन आनाकानी गर्दै भने, ‘पर्दैन के । मैलें यो डायरीमा तपाईंको नाम लेखिसकेको छु । यत्ति भएपछि के चाहियो ?’

‘गाडी कस्तो छ ?’ मैले केरकार गरें ।

‘ठूलो बस छ क्या, डिलक्स ।’

‘सिट कुन कुन राख्नुभएको छ ?’ सोधें ।

‘क्याबिन र ड्राइभरको पछाडि लस्करै । राम्रो सिट छ’ उनले मलाई नक्सा बनाएर देखाइदिए । म त्यहाँबाट फर्कदा मख्ख थिएँ ।

क्लाइमेक्स

बिहान ८ बजे ।

घरबेटीको गाडीले हामीलाई कोटेश्वरको सडक किनारमा ल्याएर छाडिदिन्छ । भएभरका झोलाझ्याम्टा राखेर हामी त्यहाँ ‘तुम कब आओगे’ मुद्रामा प्रतिरक्षारत छौं ।

काउन्टरमा उस्तै भिड । उस्तै गञ्जागोल । म टिकट काउन्टर पुग्छु । त्यहाँ अरु नै एजेन्ट टिकटको मोलमोलाई गरिरहेका छन् । कृष्ण वा यस्तै नाम गरेको अघिल्लो दिनको एजेन्टलाई फोन गर्छु । फोन उठ्दैन । काउन्टरमा रहेका एजेन्टसँग अघिल्लो दिनको व्यहोरा खुलाउँदै टिकट माग्छु । उनीहरु भन्छन्, ‘हिजो जोसँग कुरा भएको, उसैलाई माग्नुहोस् ।’

म आफ्नो सूत्र प्रयोग गर्छु । केही बेरमा केही यात्रुहरुबाट घेरिएर ति युवा काउन्टरमा प्रकट हुन्छन् । ति यात्रुहरु भन्दैछन्, ‘हिजो नै गाडी मिल्दैन भन्न सक्दैनौं ? के ठगेको हो ? पुलिस बोलाउँ ?’ यात्रुहरुमध्ये कतिपयको हातमा आरमदायक बसको टिकट छ । तर, उक्त बस कतै बिग्रिएर बसेको भन्दै अर्कै बस (लोकल)मा जानुपर्ने बताइएको छ । यात्रुको पारो नतात्ने कुरा हुन्छ ?

‘नखाउँ भने दिनभरको शिकार’ भने झै अन्ततः कति यात्रु लोकल बसमै जान तयार भए । केही क्षणलाई माहौल सामसुम भयो ।

‘ए भाई, लु टिकट दिनु त’ मैले उनको नाककै अगाडि लगेर पैसाको विटा सुघाएँ । युवा अलमलिए, ‘एकछिन पर्खनु है ।’

‘हिजो एघार बजे गाडी आउँछ भनेको होइन, एघार बज्नै लाग्यो’ म कराएँ, ‘लु टिकट दिइहालौं ।’ मेरोभन्दा ठूलो स्वरमा ऊ करायो, ‘पख्नु न पख्नु । बाटोमा गाडी बिग्रियो । हामीले अर्को गाडी मगाएका छौं ।’

यात्रुलाई आश्वस्त पार्ने, काउन्टरमा बोलाउने, अप्ठ्यारोमा पार्ने र आफुखुसी थोत्रो गाडीमा कोचेर पठाउने यिनीहरुको धन्दाबाट म बेखबर छैन । नजिकै प्रहरीको हेल्प डेक्स छ । तर, टिकट दलालको समुन्ने उनीहरु अझ बामपुड्को छ भन्ने लाग्छ । त्यसैले आफु नै मुकाबिला गर्न अघि सर्छु ।

‘हिजो नै गाडी छैन भन्नुपर्दैन ?’ म चिच्याउँछु ।

‘कस्तो बुझ्नुहुन्न ? गाडी बिग्रियो त म के गरौं ?’ उनी च्याठिन्छन्, ‘चाडबाडको बेला यस्तै हो । मिलाएर जानुपर्छ ।’

आखिरमा मेरो के जोर चल्छ ? लोकल गाडीमा भएपनि जानैपर्ने कुरामा मनलाई थमथमाउँछु । घडीमा बाह्र बज्छ । मेरो टाउकोमा पनि । गाडी त आउँछ, लोकलको पनि लोकल । झुर । त्यसमाथि क्याविनको सिट भनिएको ठाउँ स्कुलको बेञ्च जस्तो छ । लस्करै ६–७ जना बस्नुपर्ने । बस देख्नसाथ रक्तचाप बढ्छ । त्यसमाथि उहिलेका माओवादी छापमार जस्ता भुसतिखे्र युवतीहरु आएर घचेट्न थाल्छ । गाडी स्टार्ट हुन्छ । म ओर्लन्छु ।

‘यस्तो गाडीमा बसेर दिनभरी रातभरी यात्रा गर्न सकिन्छ ?’ गाडी स्टापको सातो खान्छु, ‘मेरो सामान निकाल ।’

सरोज सिटौलालाई फोन गर्छु । उनी विस्मयसाथ भन्छन्, ‘अहो, लु त्यसरी जान सकिदैन । ओर्लनुहोस् । म जसरी पनि अर्को मिलाउँछु ।’

झिटीझ्याम्टा बोकेर हामी फेरी ट्याक्सीमा डेरा फर्कन्छौं । सरोज सिटौलाको फोन आउँछ, ‘एउटा राम्रो बस छ रे । भोलि बिहानै नयाँ बसपार्क गएर टिकट लिनुहोला । बस हेरेर, सिटहरु कन्र्फम गरेर मलाई फोन गर्नुहोला ।’

न कुनै स्वार्थ, न कुनै सम्बन्ध । मेरो निम्ती त्यती झन्झट व्यहोरेकोमा म सरोज सिटौलाप्रति कृतज्ञ हुँदै भोलिको प्रतिक्षामा रात कटाउँछु ।

भोलिपल्ट

नयाँ बसपार्क ।

सम्बन्धित व्यक्तिबाट टिकट हात परेपछि फुरुंग हुँदै सोध्छु, ‘बस कहाँ छ ?’

‘ग्यारेजमा छ, बनाउँदैछ । एकछिनमा आइहाल्छ’

‘बस त यो टिकटमै भएको हो नि ?’ म आशंका व्यक्त गर्छु ।

‘हो’ संक्षिप्तमा यति भनेर टिकटवाला आफ्नो सहकर्मीसँग ख्यालठट्टा गर्नमा व्यस्त रहन्छन् । म गठ्ठाघर डेरा फर्कन्छु । हिजो जस्तै झोलिझ्याम्टा तयार छ । जाने मान्छे तयार । बाटोमा खानलाई पकाएको खानेकुरा तयार । बाँकी, उही प्रतिक्षा बसको ।

चार दोबाटो चोकमा उभिएर बस पर्खिरहेका छौं । बस त आउँछ तर ‘पनौती डिलक्स’ आउँदैन । धैर्यताको बाँध फुट्नै लाग्दा एउटा थोत्रो बस आउँछ, जसमा ‘पनौती डिलक्स’ लेखिएको छ । ‘यो त होइन हौ, हाम्रो अर्कै छ । राम्रो छ ।’ ढुक्कसाथ हामी उभिन्छौं ।

क्षणभरमै कसैको फोन आउँछ, ‘खै कहाँ हो तपाईंहरु ?’

‘हामी यहाँ चारदोबाटो चोकमा पर्खिरहेका छौं’ म हतारिन्छु, ‘खै कतिबेला आइपुग्ने हो ?’

‘हत्तेरिका’ फोनमा आवाज आउँछ, ‘भर्खर हामी त्यहीबाट क्रस भयौं त । अलिकति अगाडि हेर्नुहोस्, यहाँ टिबी अस्पताल अगाडि रोकिएको छ ।’

त्यही थोत्रो बस खडा छ त्यहाँ । अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै