होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • यसकारण चीनले काेराेनालाई जित्यो
समाचार

यसकारण चीनले काेराेनालाई जित्यो

  • नागरिक रैबार
यसकारण चीनले काेराेनालाई जित्यो

काठमाडौं, ११ चैत ।

विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ) ले महामारीकाे रूपमा लिएकाे कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिले काेराेना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या १६ हजार ५१० पुगेको छ

 

अहिलेसम्म विश्वभर ३ लाख ७८ हजार ८४२ सय जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १ लाख २ हजार ६४ निकाे भइससेका छन् । अहिले २ लाख ६० हजार २६८ जनामा कोरोना भाइरस सक्रिय देखिएकाे छ । तीमध्ये १२ हजार ६२ जना भने गम्भीर अवस्थामा छन् ।

चीनबाट सुरु भएको यो भाइरसले अहिले युरोपलाई केन्द्र बनाएको छ ।  कोरोनाको उद्गम स्थल चीन भए तापनि पछिल्लाे समय युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार काेराेना भाइरसबाट सबैभन्दा बढी इटालीमा मृत्यु भएकाे छ ।

अहिले काेराेना भाइरसबाट सबैभन्दा बढी इटालीमा मृत्यु भएकाे छ । अहिलेसम्म इटालीमा काेराेना भाइरसबाट ६ हजार ७७ जनाले ज्यान गुमाइसकेका छन् भने ६३ हजार ९२७ जना संक्रमित भएका छन् ।

काेराेना संक्रमित हुनेकाे तेस्राे नम्बरमा पर्छ अमेरिका । अहिले अमेरिकामा काेराेना भाइरसबाट ५४५ जनाकाे ज्यान गएकाे छ भने ४३ हजार ५३७ जना संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमण हुने देशमध्ये चाैथाे नम्बरमा स्पेन पर्छ । अहिलेसम्म स्पेनमा काेराेना भाइरसबाट २ हजार ३११ जनाकाे ज्यान गएकाे छ । ३५ हजार १३६ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसका संक्रमण हुनेकाे पाँचाैँ नम्बरमा जर्मनी पर्छ । तर अरू देशकाे तुलनामा मर्नेकाे संख्या भने निकै कम नै देखिन्छ । अहिलेसम्म जर्मनीमा काेराेना भाइरसबाट २९ हजार ५६ जना संक्रमित भएका छन् भने १२३ जनाकाे ज्यान गएकाे छ ।

कोरोना भाइरसका संक्रमण हुनेकाे साताैँ नम्बरमा पर्छ फ्रान्स । अहिलेसम्म फ्रान्स काेराेना भाइरसबाट ८६० जनाकाे ज्यान गएकाे छ । १९ हजार ८५६ जना संक्रमित भएका छन् ।

युरोप र अमेरिकामा कोरोना विस्तार हुँदै गएकाे बेला काेराेनाकाे उद्गम स्था चीनमा भने काेराेना नियन्त्रणमा आइसकेकाे छ । चीनले कस्तो तरिका र उपायले कोरोनामाथि विजय हात पार्‍यो ? यतिबेला सबैको ध्यान यसमै केन्द्रित भएको छ ।

कोरोनाको पहिलो संक्रमण देखिएको हुबेई चीनको प्रमुख आद्योगिक प्रान्त हो । हुबेईको प्रान्तीय राजधानी वुहानलाई विश्वकै फ्याक्ट्री पनि भनिन्छ । ११ मिलियनभन्दा बढी मानिसको बसोवास रहेको वुहानमा २०१९ डिसेम्बर अन्तमा नयाँ भाइरस देखियो । भाइरसको संक्रमण फैलिँदै गएपछि ३१ डिसेम्बरमा चीनले विश्व स्वास्थ्य संगठनलाई निमोनियाजस्तै नयाँ बिरामीको संख्या बढेको जानकारी गरायो । त्यसपछि विश्वकै ध्यान चीनमा फैलिएको नयाँ भाइरसमा केन्द्रित भयो । वुहानमा दैनिक हजारौँको संख्यामा नयाँ मान्छेमा भाइरसको संक्रमण देखिन थाल्यो ।

लकडाउन

चीनले २३ जनवरीमा वुहान सहर लकडाउन गर्‍यो । सार्वजनिक सवारीसाधन, रेल, विमान सञ्चालनमा प्रतिबन्ध लगायो । वुहान सहरबाट बाहिर जान र सहर भित्रिन प्रतिबन्ध लगायो । संसारभरका मानवअधिकारवादीले चिनियाँ कदमको आलोचना गरे । तर, विश्व स्वास्थ्य संगठनले भने लकडाउन गर्ने चिनियाँ निर्णयकै कारण वुहानबाहिर भाइरसको संक्रमण रोकिएको तथ्य प्रस्तुत गर्‍यो । एक महिना लामो लक डाउनपछि वुहान सहरको जनजीवन सामान्य अवस्थामा फर्किन थालेको छ । सोमबारसम्म चीनमा नयाँ संक्रमितको संख्या ४६ मात्र छ ।

१० मार्चमा चिनियाँ राष्ट्रपति सी जिङपिङले वुहान भ्रमण गरे । १९ मार्चमा चीनले वुहान सहरमा एउटा पनि नयाँ संक्रमित नभेटिएको बतायो । तीन हजार एक सय ६१ (यो सामग्री तयार पार्दासम्म) जनाको मृत्युपछि चीनले कोरोनामाथि विजय हासिल गरेको घोषणा गरिसकेको छ । चीनले आफ्ना स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीसहितको टोली अहिले कोरोनाको उच्च संक्रमण देखिएको देश इटालीमा पठाएको छ । जसको अर्थ हो– चीनले कोरोना नियन्त्रणमा लिइसकेको छ ।

४० हजारभन्दा बढी डाक्टर र नर्स

८१ हजारभन्दा बढी मान्छे संक्रमित भइरहँदा चीनमा स्वास्थ्य सामग्रीको अभाव पनि महसुस भयो । डाक्टरको पनि अभाव हुन थाल्यो । यो अभाव पूर्ति गर्न चीनले आफ्ना अन्य प्रान्तबाट वुहानमा डाक्टर पठाउन सुरु गर्‍यो । कोरोनाको इपिसेन्टर वुहानमा चीनका विभिन्न प्रान्तबाट ४० हजारभन्दा बढी डाक्टर र नर्स आए ।

विभिन्न कम्पनीले भिडभाडमा मास्क नलगाएको मानिस पहिचान गर्ने प्रविधि पनि विकास गरे । मास्क नलगाई हिँड्नेलाई समातेर मास्क लगाउन भनियो । लक डाउन गरिएको वुहानमा मात्र होइन, कोरोना संक्रमण देखिएका अन्य सहरमा बसोवास गर्ने मान्छेलाई एउटा ‘क्यू आर’ कोड दिइयो । ‘क्यू आर’ कोडमा मान्छेको यात्रा विवरण, रोगजस्ता कुरा समावेश गरियो । अर्थात् मान्छेमाथि अत्यधिक निगरानी राखियो ।

एक स्थानबाट अर्को स्थानमा स्वास्थ्य सामग्री ओसार–पसार गर्न कुरियर सर्भिसले निःशुल्क सेवा दिए । अन्य बिरामी भएकालाई तीन महिनाको औषधि घरमा पु¥याउने व्यवस्था मिलायो । देशभर अस्पतालको सञ्जाल बनाएर निःशुल्क कोरोना जाँचको व्यवस्था गरियो । वुहान सहरका प्रत्येक गल्लीमा कोरोना जाँच गर्ने क्याम्प स्थापना गरियो । कोरोना संक्रमित सबैको उपचार खर्च सरकारले व्यहोर्‍यो । कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबैको खोजी गरियो । संक्रमित व्यक्ति गएको सबै स्थानमा स्वास्थ्यकर्मी परिचालन गरियो ।

यति मात्र होइन, लकडाउन सहरभित्रका हरेक मान्छेको सूची तयार गरियो । ती मान्छेहरू कहिले कहाँ गए ? को–कोसँग भेटे भन्ने तथ्यांक निकालियो । र, त्यसैका आधारमा जाँच गरियो । देशभरका सडकमा थर्मल क्यामेरा जडान गरियो जहाँ कुनै पनि व्यक्तिको तापक्रम ३७.२ डिग्री सेल्सियसभन्दा बढी देखिनेबित्तिकै क्वारेन्टाइनमा राखियो ।

विभिन्न कम्पनीले भिडभाडमा मास्क नलगाएको मानिस पहिचान गर्ने प्रविधि पनि विकास गरे । मास्क नलगाई हिँड्नेलाई समातेर मास्क लगाउन भनियो । लक डाउन गरिएको वुहानमा मात्र होइन, कोरोना संक्रमण देखिएका अन्य सहरमा बसोवास गर्ने मान्छेलाई एउटा ‘क्यू आर’ कोड दिइयो । ‘क्यू आर’ कोडमा मान्छेको यात्रा–विवरण, रोगजस्ता कुरा समावेश गरियो । अर्थात् मान्छेमाथि अत्यधिक निगरानी राखियो ।

जसका आधारमा डाक्टरलाई संक्रमण पहिचान गर्न र क्वारेन्टाइनमा पठाउन सहज भयो । क्वारेन्टाइनमा राख्न १६ वटा मात्र अस्थायी अस्पताल निर्माण गरियो । सामाजिक सञ्जालमा सकारात्मक समाचार सम्प्रेषणमा जोड दिइयो । चिनियाँ सञ्चारमाध्यम मात्र होइन, चीनबाहिर रहेका कूटनीतिज्ञ पनि सकारात्मक समाचार फैलाउन लागिपरे ।

१४ दिन क्वारेन्टाइन बस्नुपर्ने प्रावधान कडाइसाथ लागू

वुहानबाहिर संक्रमण फैलिन नदिन चीनले कडा नियम लागू गर्‍यो । १४ दिन क्वारेन्टाइन बस्नुपर्ने प्रावधान कडाइसाथ लागू गरियो । हुबेई प्रान्तमा यात्रा गरेका वा त्यहाँका मान्छेसँग सम्पर्क भएका मान्छेले क्वारेन्टाइनमा बस्नुपर्ने भयो । आफ्नो सहर छाडेर बाहिर गएका नागरिकले पनि क्वारेन्टाइन बस्नुपर्ने भयो । देशभित्र वा देशबाहिरबाट यात्रा गरेर आएका वा यात्रा गरेकाहरूसँग सम्पर्कमा आएकाले पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भयो । छिमेकमा कोही संक्रमित छ भने क्वारेन्टाइन बस्नुपर्ने भयो । ३७.३ डिग्री सेल्सियसभन्दा बढी तापक्रम देखिएमा पनि क्वारेन्टाइन बस्नुपर्ने नियम चीनले कडाइसाथ लागू गर्‍यो ।

विश्व स्वास्थ्य संगठन भन्छ, ‘संकटको समयमा चीनले द्रुत गतिमा आफ्नो कार्य देखाएर विश्वलाई चकित पारेको छ । कुनै पनि हालतमा ढिला नगरौँ । छिटो गरेर मात्र पुग्दैन, सुपर फास्ट तरिकाले काम गर्नुपर्छ ।’

क्वारेन्टाइनको यो कडा नियमका कारण हुबेई प्रान्तको वुहान सहरभन्दा बाहिर कोरोना संक्रमण धेरै फैलिएन । यसबाहेक चीनले आफ्ना ठूला सहरमा हरेक तीन सय मिटरको फरकमा तापक्रम नाप्ने व्यवस्था मिलायो । यसले कोरोना संक्रमणको शंका लाग्नासाथ जाँच गर्न सजिलो बनायो ।

चिनियाँ विदेशमन्त्री वाङ यीले एक अन्तर्वार्तामा भने, ‘यो प्रत्येक चिनियाँ नगरिकको लडाइँ हो ।’ नभन्दै कोरोनासँगको लडाइँमा चीनले आफ्नो सबै शक्ति लगायो । कोरोनामाथि चीनको विजय चिनियाँ नागरिक, स्वास्थ्यकर्मी, नेतृत्व र सेना सबैको सामूहिक प्रयासको सफलता हो । चीनको अद्भूत सफलताको व्याख्या गर्दै विश्वप्रख्यात टाइम म्यागजिनले यसपटकको आफ्नो कभर फोटोमा चिनियाँ डेलिभरी म्यानको तस्बिर राखेको छ । चिनियाँ सञ्चारमाध्यम चाइना मर्निङ पोस्टका अनुसार अत्यावश्यक सामग्री घर–घरमा पुर्‍याउन चीनमा तीन लाखभन्दा बढी स्वयंसेवी खटिएका थिए ।

यदि चीनले एक करोड १० लाखभन्दा बढीको बसोवास भएको वुहान लक डाउन नगरेको भए ? वा चीनले वुहान लक डाउन गर्ने निर्णय लिन एक दिन मात्र पनि ढिला गरेको भए ? अवस्था भयावह हुने निश्चित थियो । त्यसैले त विश्व स्वास्थ्य संगठन भन्छ, ‘संकटको समयमा चीनले द्रुत गतिमा आफ्नो कार्य देखाएर विश्वलाई चकित पारेको हो । ढिला नगर्नुहोस् । यो चीनबाट सिकिएको उदाहरण हो । कुनै पनि हालतमा ढिला नगरौँ । छिटो गरेर मात्र पुग्दैन सुपरफास्ट तरिकाले काम गर्नुपर्छ ।’ अन्त्यमा, लक डाउन र मान्छेबीचको दूरी बढाउने काम नै कोरोना नियन्त्रणमा चीनको सबैभन्दा शक्तिशाली हतियार साबित भयो । त्यसैले विश्व स्वास्थ्य संगठन भन्छ– मान्छेबीच दूरी बढाउनु नै कोरोना संक्रमण फैलिनबाट रोक्न सकिने एक मात्र उपाय हो । शंका लागेका हरेक मान्छेको जाँच निःशुल्क गर्नुहोस् (अमेरिकामा कोरोना नेगेटिभ भेटिएमा शुल्क लिने गरिएको छ) मान्छेबीच दूरी बढाउनुको विकल्प छैन ।

संक्रमण फैलिन नदिन मान्छे–मान्छेबीचको सम्पर्कविच्छेद

विश्व स्वास्थ्य संगठनका अनुसार चीनले संक्रमण फैलिन नदिन प्राचीन तरिका अपनायो । अर्थात् मान्छे–मान्छेबीचको सम्पर्क टुटायो । जसका कारण कोरोना भाइरस फैलिन पाएन । चीनले वुहान सहर मात्र होइन, हुबेई प्रान्तका साना–ठूला गरी १५ वटा सहर पनि लकडाउन गर्यो । आवत–जावतमा पूर्ण प्रतिबन्ध लगायो । तर, प्रतिबन्ध लगाएर, लक डाउन गरेर मात्र भाइरसमाथि चीनले विजय हासिल गरेको भने होइन । भाइरससँगको लडाइँ चीनको राष्ट्रिय प्राथमिकता बन्यो । संक्रमणको इपिसेन्टर मानिएको वुहानमा देशभरबाट स्वास्थ्यकर्मी ल्याइयो । देशभरको स्वास्थ्य सेवा वुहानमा केन्द्रित गर्‍यो । र, चीनको आधुनिक इतिहासमा पहिलोपल्ट सैनिक स्वास्थ्यकर्मीलाई नागरिकको उपचारमा खटाइयो ।

यति प्रयासले मात्र भाइरसमाथि विजय पाउन सम्भव थिएन । बढिरहेका संक्रमितलाई राख्न वुहानका अस्पताल अपर्याप्त भइसकेका थिए । त्यसैले चीनले आफ्नो अद्भूत निर्माण क्षमताको प्रयोग गरेर एक हजार शय्याको एउटा र १६ सय शय्या अर्को एउटा अस्पताल निर्माण गर्‍यो । विद्यालय, होटेल र रंगशालालाई क्वारेन्टाइनमा परिणत गर्‍यो । चीन सरकारको यी कामले संक्रमित व्यक्तिलाई सहज भयो । संक्रमणको आशंका भएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न पनि सजिलो भयो ।

तर, एक करोड १० लाखभन्दा बढी जनसंख्या भएको सहरमा अरू कति मान्छे संक्रमित छन् भनेर पत्ता लगाउनु अर्को चुनौती थियो । लक डाउन गरिएको सहरमा अत्यावश्यक सेवा पुर्‍याउनुपर्ने अर्को चुनौती चीनसँग थियो । यी तमाम चुनौतीको सामना गर्ने उद्देश्यसहित १३ फेब्रुअरीमा चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले ‘कोरोनासँगको लडाइँमा औपचारिकता र ब्युरोक्रेसी सबैभन्दा ठूला दुस्मन हुन् । त्यसैले यिनलाई पन्छाउँदै जानुपर्छ’ भन्ने निर्णय गर्‍यो ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका लक्षणबारे चीनले भाइरसको तुलनामा निकै छिटो जानकारी फैलायो । यसले मान्छेलाई सचेत बनाउन मद्दत गर्‍यो । शंका लागेका व्यक्तिलाई जाँच गराउन पनि सहज बनायो । लक डाउन गरिएको वुहानका घरमा रहेका अन्य बिरामीलाई औषधि, अत्यावश्यक वस्तु र खाद्यान्न घर–घरमा पुर्‍याउने व्यवस्था मिलायो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि