होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेहरुलाई कालो झण्डासँगै सहाना प्रधानलाई जेल
समाचार

नेहरुलाई कालो झण्डासँगै सहाना प्रधानलाई जेल

  • नागरिक रैबार
नेहरुलाई कालो झण्डासँगै सहाना प्रधानलाई जेल

सहाना प्रधान २००७ सालमा नै नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनिसकेकी थिइन् । त्यसपछि उनी इमानदारीका साथ पार्टीको नीतिनिर्देशनमा समाहित भएकी थिइन् । उनी राष्ट्रको हितका लागि जुधारु भएर नै लागिपरेकी थिइन् । २००७ सालको क्रान्ति सफल भएपछि २००८ साल असार २ गते भारतका प्रधानमन्त्री पं. जवहारलाल नेहरू नेपाल आएका थिए ।

त्यसबेला नेपाल महिला सङ्घबाट मङ्गलादेवी सिंहहरू फूलमाला लिएर पं. नेहरूको स्वागत गर्न हवाईअड्डा पुगेका थिए । साथै कामाक्षादेवी बस्नेतको नेतृत्वमा सहाना प्रधानहरू भने नेहरूको विरोधमा कालो झन्डा बोकेर त्यस ठाउँमा पुगेका थिए ।
सहाना समूहचाहिँ दिल्ली राणा काङ्ग्रेस सम्झौताको घोर विरोधी थियो । पं. नेहरूलाई कालो झन्डा देखाएर विरोध गरेबापत त्यतिखेर सहाना प्रधानलगायत सात जना नारी र तीन जना पुरुषलाई सरकारले पक्रेर जेलमा कोचेको थियो ।
तर उनीहरूलाई चार दिनपछि अथवा असार ६ गते जेलमुक्त गरिएको थियो । जेलबाट निस्केपछि ती नारीहरूको स्वागतका लागि महिला सङ्घको जुलुसले स्वागत गरेको थियो । साथै टङ्कप्रसाद आचार्यले कालो झन्डा देखाउनेहरूलाई नैतिक समर्थन गरेका थिए ।

सहानाले सक्रिय रूपमा राजनीति गर्न थालेकी थिइन् । नेपाल महिला सङ्घका अध्यक्ष मङ्गलादेवी सिंह र उनका गुटका नारीहरूसँग भारतका प्रधानमन्त्री पं. जवहारलाल नेहरू नेपाल आएपछि सहानाहरू सशङ्कित हुन थालेका थिए । भारतको चाकरी गरेको भन्ठानेर उनीहरूले २००८ सालमा कामाक्षादेवीको अध्यक्षतामा फेरि अर्कै नेपाल महिला सङ्गठन खोलेका थिए । त्यो सङ्गठनको स्थापनाका लागि सहानाको नै गुरुत्तर भूमिका थियो । अनि उनी त्यस सङ्गठनको महासचिव पनि बनेकी थिइन् ।

राणा शासन खारेज भएपछि २००८ साल मङ्सिर १ गते नेपालको इतिहासमा जनताको छोरो पहिलो चोटि प्रधानमन्त्री भएका थिए । भनौँ, त्यतिखेर मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा सरकार बनेको थियो । राजा त्रिभुवनले त्यस सरकारलाई अपदस्त गरेर २००९ साल साउन ३० गते जनरल केशरशमशेरको नेतृत्वमा सरकार गठन गरेका थिए । तर त्यस सरकारको प्रमुखको पदचाहिँ परामर्शदात्री थियो । त्यतिखेरसम्म पनि जनता र राणाको विभेदको अवस्था थियो । त्यसैले जनताको छोरा हटाएर राणालाई प्रधानमन्त्रीस्तरको पद प्रदान गरिएको बेहोरालाई नेपाल कम्युनिस्ट पार्टीले घोर निन्दा गरेको थियो ।

साथै त्यस काण्डको विरोधमा सहाना प्रधानहरूको आक्रोश बढिरहेको थियो । राणा सरकारलाई समेत आच्छुआच्छु पार्ने सहानालाई राजासँग पट्टा खेल्नु ठूलो कुरै थिएन । त्यसैले राजाको त्यस कदमउपर उनले पनि राँको बालेकी थिइन् । त्यति बेला नेपाल महिला सङ्गठनले काठमाडौँको भूगोलपार्कमा विरोध र्‍यालीको आयोजना गरेको थियो । अनि नेपाल महिला सङ्गठनका तर्फबाट महासचिव सहाना प्रधानले निर्भीकतापूर्ण भाषण गरेकी थिइन् ।

त्यही बेला सहानालाई पुलिसले लछार्दै लगेको थियो । त्यतिखेर उनीसँगै उनका सहकर्मीहरू प्रभा नेपाली र ज्ञानुमैयाँ श्रेष्ठलाई समेत प्रहरीले पक्रेर लगेको थियो । राज्यको विरोध र जनता भड्काएको अभियोगमा त्यस बखत उनलाई चार महिना जेलमा राखिएको थियो । तर उनी जेलबाट निस्केको छ महिनापछि नै मातृकाप्रसाद कोइराला पुनः प्रधानमन्त्री नियुक्त भएका थिए ।

सहाना राजनीतिक सङ्गठनमा अहोरात्र लागेकी थिइन् । पुरानो ढाँचामा चलेको नेपाल उनको सपनामा नयाँ देखिने क्रम उनीभित्र जागृत हुन थालेको थियो । सङ्गठनमा साधना र सहानाहरू आगाका ज्वाला जस्ता थिए । त्यसैले उनीहरू धेरैका मनमस्तिष्कमा परेका थिए । वास्तवमा त्यतिखेर उनीहरूको कुरा काट्नेहरूको पनि अनिकाल लागेको थिएन । केटाहरूसँग जुलुसमा उफ्रीउफ्री हिँडेको देख्नेहरू उनीहरूलाई छिल्लिएका आइमाई भन्न पनि चुकेका थिएनन् । त्यति मात्र होइन, उनीहरूको बिहे भयो भने कान काटौँला भन्ने मान्छेहरू पनि त्यही समाजमा देखा परेका थिए ।

त्यतिबेला एकातिर घरपरिवार साधना र सहानाको बिहे गर्ने छटपटीमा थिए भने अर्कातिर आफ्ना छोरीहरूलाई भने त्यस्तो आरोप लगाइएको उनीहरूले सुनेका थिए । बनारसमा आफूसँगै बसेका मोदनाथ प्रश्रितसँग पुष्पलालले सहानाबारे यस प्रकारका पनि धेरै कुरा भन्न भ्याएका थिए ।

झुकाई हिमाल झुक्तैन

ताकेर सगर खस्तैन

नेपाली रगत बगेको

टिस्टाको पानी सुक्तैन ।

२०३२ सालअघि र पछिको कुरा हो, श्री जयप्रसाद यू.के.ले स्वनिर्वासित भएका बखत बनारसमा ‘झुकाई हिमाल झुक्तैन’ भन्ने गीत प्रायः गाइरहन्थे । त्यति बेलाको यू.के.को गीत त्यहाँका नेपाली विद्यार्थी र राजनीतिज्ञ माझ लोकप्रिय पनि थियो । पुष्पलाल, सहाना र नारायणमा बिजुक्छे रोहितको पनि त्यस गीतप्रति झुकाउ थियो । पछि ‘जनताको साहित्य’ले त्यस गीतलाई स्थान दिएको थियो । सहानाले पनि त्यस गीतलाई गुनगुउने गर्थिन् ।

नेपाल कम्युनिस्ट पार्टीमा सहानाको योगदान छँदै थियो । विवाहपछि पनि पढ्दै, जागिर खाँदै उनले पार्टीका लागि समय दिइरहेकी थिइन् । त्यसैले उनी २०११ सालमा सो पार्टीको बाग्मती क्षेत्रकी हस्तीका रूपमा कायम भएकी थिइन् ।

राणा सरकारलाई समेत आच्छुआच्छु पार्ने सहानालाई राजासँग पट्टा खेल्नु ठूलो कुरै थिएन । त्यसैले राजाको त्यस कदमउपर उनले पनि राँको बालेकी थिइन् । त्यति बेला नेपाल महिला सङ्गठनले काठमाडौँको भूगोलपार्कमा विरोध र्‍यालीको आयोजना गरेको थियो । अनि नेपाल महिला सङ्गठनका तर्फबाट महासचिव सहाना प्रधानले निर्भीकतापूर्ण भाषण गरेकी थिइन् । त्यही बेला सहानालाई पुलिसले लछार्दै लगेको थियो ।

••
पुष्पलालको निधनपछि सहानाले आफ्ना पति, सहकर्मी र नेताको वचनलाई पालन गर्ने निणर्य गरिन् । त्यसैले उनी झन्नै डेढ दशकपछि राजनीतिमा पुनः सक्रिय भएर लागेकी थिइन् । वास्तवमा उनी २०१८ सालदेखि २०३२ सालसम्म त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेसामा नै समर्पित थिइन् ।

उनलाई विश्वविद्यालयले अनाहकै लखेटेको बेहोरा पनि कालान्तरमा नेपाल कम्युनिस्ट पार्टीलाई चिट्टै परेको मानिन्थ्यो । उनी पूणर्कालीन रूपमा पार्टीमा सक्रिय हुन थालेपछि उनलाई पार्टीको महासचिव बन्न अनुरोध गरिएको थियो । तर उनले त्यस पदको जिम्मा लिन अस्वीकार गरिन् । यसै परिवेशमा उनले पुष्पलालसँगको दुक्खसुक्खमा बीसौँ वर्ष बिताएका र आफ्ना ज्यादै हितैषी सल्लाहकार गोविन्द ज्ञवालीलाई भनेकी थिइन्— ‘पुष्पलालले आफ्नो जीवनमा अविरल सङ्घर्ष गरेर बचाइराखेको नेपाल कम्युनिस्ट पार्टीको साखलाई जीवित राख्न मैले सक्रिय हुनै पर्छ । तर उहाँले सम्हाल्दै आएको महासचिव पद मैले नै बहाली गर्नचाहिँ हुँदैन । त्यो पदमा पुष्पलालकी पत्नी नै बसिन् भनेर कसैले भनिहाले भने पनि मेरा लागि दुःखद कुरा नै हुन जान्छ । त्यसैले म पार्टीको पोलिटब्युरोमा मात्र रहेर काम गर्छु ।’

अनि बलराम उपाध्यायलाई नै पार्टीमा सर्वेसर्वा भएर काम गर्न उनैले अनुरोध गरेकी थिइन् । पछिल्ला दिनमा उनका सहयोगीहरूका पूर्ण आग्रहका कारण उनी पार्टीको महासचिव पनि भएकी थिइन् ।

सहाना सधैँ आफ्ना कर्ममा विश्वास गर्थिन् । उनको कर्म नेपालको राष्ट्रियतामा जोडिएको थियो । २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सचिव भएदेखि नै उनी मन, वचन र कर्मबाट आफ्नो पार्टीप्रति झन् सारो बफादार भइरहिन् । उनलाई पदभन्दा पार्टीलाई सुदृढ बनाउनुपर्छ भन्ने ध्येय थियो । पदमा बसेर भए पनि र पदविहीन भएर पनि उनी पार्टीकै हितमा मात्र आफूलाई जोड्ने गर्थिन् । तर उनी पार्टीबाहिर चाहिँ रहिनन् । त्यसैले उनी २०४२ सालमा नेकपा माक्र्सवादीको पोलिटब्युरो सदस्य भइन् ।

२०४२ सालमा नेपाली काङ्ग्रेसले सत्याग्रहको आन्दोलन गरेको थियो । त्यस सत्याग्रहलाई नेपाल कम्युनिस्ट पार्टीले पनि समर्थन गरेको थियो । तर पार्टी पक्षबाट त्यहाँ भाग लिन जाने कोही तयार थिएनन् । अनि सहाना प्रधानले मुख फोरिन्— ‘सत्याग्रहको आन्दोलनलाई समर्थन् गरेपछि नैतिकताले हामीले भाग लिनै पर्छ ।’ अनि उनी आफू त्यस आन्दोलनमा हार्दिकतापूर्वक सरिक भइन् । उनी त्यस आन्दोलनमा सरिक हुँदा महिला प्रहरी आएर उनलाई भुत्ल्याएर घाइते हुने गरी भुइँमा पछारेका थिए । अनि महिला प्रहरीले त्यहाँबाट घिसार्दै भ्यानमा राखेका थिए । त्यसपछि हनुमानढोकाको कैदी राख्ने ठाउँमा पुर्‍याइएको थियो, त्यहाँ दुई दिन राखियो । दुई दिनसम्म पनि उनलाई पुलिसले भोकै राखेको थियो । अनि तीन दिनका दिन मुद्धा लगाएर जेल चलान गरिएको थियो । त्यस बेला उनी साढे चार महिनाजति जेल बसेकी थिइन् ।

२०४३ सालमा नेपाल कम्युनिस्ट पार्टीको छैटौँ सम्मेलन भएको थियो । त्यस सम्मेलनले मनमोहन अधिकारीलाई महासचिव बनाएको थियो । साथै सहानाचाहिँ सचिवमा चुनिएकी थिइन् । २०४६ सालमा मालेको शिरबन्दी लगाएको नेपाल कम्युनिस्ट पार्टीलगायत कम्युनिस्ट सिद्धान्तका सात दल जस्तै नेपाल मजदुर किसान पार्टी, नेकपा माक्र्सवादी, नेकपा संयुक्त, नेकपा बर्मा, नेकपा अमात्य र नेकपा चौ.म. मिलेर संयुक्त वाममोर्चा बनाइएको थियो । अनि सहाना सोही मोर्चाको अध्यक्ष बनेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ दिन अगाडि

भर्खरै