नागरिक रैबार
बाजुरा ३ साउन
जिल्लाकाे सदरमुकाम मार्तडी बजार अहिले अध्याराेमा पनि उज्यालाे देखिदै गएकाे छ । बडीमालिका नगरपालिकाले उज्यालाे बडीमालिका अन्तरगत रकम विनियोजन गरेर सदरमुकाम मार्तडी भित्रकाे पक्की सडकमा साेलार बत्ति जडान कार्य सूरू गरेपछि सदरमुकाम मार्तडी बजार अहिले उज्यालिदै गएकाे हाे ।
सदरमुकाम मार्तडीकाे मुख्य बजारमा रातिकाे समयमा चाेरी, कुटपिट जस्ता घटना र सवारी साधान र सर्वसाधारणलाई हिडडुल गर्न समस्या भएपछि सदरमुकाम भित्र साेलार बत्ति जडान गरिएको बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताएका छन् ।
नगर प्रमुख बडुवालका अनुसार पहिलाे चरणमा सदरमुकाम मार्तडीकाे खुलामंच देखि गाैडाडिल र जिल्ला अस्पताल देखि माेहक हाेटल सम्मकाे पक्की सडकमा १५ वटा साेलार बत्ति जडान गरिने भएकाे छ ।त्यस्तै नगरपालिकाले दोस्रो चरणमा हाेटल डिआर मस्टदेखि दुनीहाटबजार हुँदै कारागारसम्म सोलार बत्ती जडान गर्ने तयारी छ ।
पहिलेकाे भन्दा सदरमुकाम मार्तडी बजार अहिले धेरै फरक छ । पहिले सांघुराे बाटाे त्यसैमा हिलाम्मे बाटाे बजारमा खानेपानीका पाईपहरू यत्रतत्र छरिएका देखिन्थे । तर अहिले नगरपालिकाले सदरमुकाम मार्तडी बजारकाे मुहार नै फेरिदिएपछि सदरमुकामबासी हर्षित भएका देेेेखिन्छन् ।
फेसबुक प्रतिक्रियाहरु