नागरिक रैबार
चैत ३ बाजुरा । बाजुरा जिल्लाको सदरमुकामको बडीमालिका नगरपालिका–८ मा बिद्युतिकरणका लागि नेपाल बिद्युत प्राधिकरणले ठेक्का दिएको सात बर्ष पुरा हुँदा समेत जनताले बिद्युतको उज्यालो पाएका छैनन् । बिद्युतलाई बिस्तारको लागि २०७१ सालमा ठेका प्रकृयाबाट काम शुरु गरिएको थियो ।
नेपाल बिद्युत प्राधिकरणको अछाम शाखाले शिलबन्दी दरभाउ अनुसार उक्त काम अछामको कुवर बिल्डक्सलाई काम दिएको हो । बिल्डक्सका संचालक खम्ब कुवरको लापरबाहीका कारण उक्त काम नभएको कुरा बिद्युत प्राधिकरण अछामका प्रमुख बिजय रेग्मिले बताएका छन् । तत्कालीन समयमा बाजुरा जिल्लामा प्राधिकरणको कार्यालय नभएकोले अछामबाट काम गरेको र अहिले बाजुरामा कार्यालय हुँदा समेत उक्त कामको दायित्व हस्तान्तण हुन नसक्दा थप समस्या भएको कुरा बाजुरा शाखाका प्रमुख महेश चन्द्र भट्टले बताए ।
‘सदरमुकाम भित्रकै भाग भएपनि उज्यालो बल्न पाइएको छैन । ठेकेदारले काम गरीदेला र उज्यालो बाल्न पाईएला भन्ने आशा थियो सात सात बर्ष सम्म काम नहुदा जागेको आशा पनि मरेको छ ।’ स्थानीय लालबहादुर रावलले बताए । बिद्यालय जाने विद्यार्थीहरु र बिद्युतबाट हुने कुनै पनि सेवा यहाँका स्थानियले लिन नपाएको गुनासो छ ।
‘हाम्रो घरमा बिद्युत नहुँदा मोबाईल चार्ज गर्न समेत बजार जानुपर्ने समस्या छ । पटक–पटक पहल गर्दा सरकारले योजना दियो अब ठेकेदारले हामीलाई फसायो, केही काम गरी दिएन, काम अलपत्र छोडेको छ केही काम हुनै सकेको छैन ।’ स्थानीय बिरेन्द्र रावलले बताए । अहिलेको जमनामा हरेक खालका बिकास भएको छ ।
‘प्राधिकरणले डुग्रीका लागि ल्याएका पोलहरु अहिले मार्तडीको सडकमा अलपत्र छन् । काम शुरु हुँने टुङ्गो छैन हामीले बिद्युत बाल्न पाएका छैनौं, सरकारले बिद्युत खपत भएको छैन भनेको छ तर यहाँ हाम्रो घरमा बिद्युतको लाइन नै जडान भएको छैन ।’ भिमबहादुर रावलले बताए ।
‘सदरमुकामको वडाको ठुलो बस्ती अध्यारोमा बस्नु परेको छ । यस बिषयमा नेपाल बिद्युत प्राधिकरणलाई पटक–पटक अनुरोध गरेका छौं । त्यसको सुनुवाई अहिलेसम्म भएको छैन । हामी जनप्रतिनिधले अनुरोध गर्ने हो । प्राधिकरणका कर्मचारीले कानमा तेल हालेर सुतेका छन् ।’ बडीमालिका नगरपालिका–८ का वडा अध्यक्ष प्रकाश रावलले भने ।
नेपाल बिद्युत प्राधिकरणले उक्त ठेक्काको म्याद एक बर्ष मात्र दिएको थियो । ‘ठेकेदारले थुप्रो पटक म्याद थप्दै आयो अहिले कामै छोडेर मत्लब गरिरहेको छैन । भुक्तानी लिन आएको भए उसको रकमबाट पेनाल्टी काट्नु हुन्थ्यो, त्यसो पनि भएन अहिले त्यो कामनै अलपत्र छ । अब नयाँ ठेक्का खोलेर काम गर्ने योजनामा छौं’, बिद्युत प्राधिकरण अछामका प्रमुख बिजय रेग्मीले भने ।
फेसबुक प्रतिक्रियाहरु