२८ भदौ, काठमाडौं । नेपालमा खेलकुदसँग सम्बन्धित दस्तावेजहरु कम छन् । नेपाली खेलकुदको इतिहास नै लेखिएको छैन भन्दा पनि हुन्छ । खेलकुदसँग सम्वन्धित पुस्तक पनि धेरै छैनन् ।
व्यवस्थित अभिलेखहरु पर्याप्त नहुँदा नेपाली खेलकुदको इतिहास खोतल्ने काम निकै चुनौतीपूर्ण बनेको छ । नेपालले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन थालेको ७ दशक भयो । फुटबल, क्रिकेट, भलिबलजस्ता चर्चित खेलको इतिहासबारे सञ्चारमाध्यममा थोरबहुत लेखिएका छन् । अरु खेलको त शून्यप्राय छ ।
यही खडेरीबीच साहित्यकार महेन्द्र चालिसेले ‘नेपालमा खेलकुदको इतिहास’ पुस्तक ल्याएका छन् । यसभन्दा अघि २०३८ सालको प्रथम राष्ट्रिय खेलकुदपछि प्रकाशित एउटा पुस्तक पंतिकारको हातमा परेको थियो । यसमा पुराना खेलहरुको २०३८ सालका प्रसंग उल्लेख छन् । चालिसेले लेखेको खेलकुद इतिहास पुस्तकमा भने २०४५ सालसम्मको जानकारी समेटिएको छ ।
नेपालमा खेलकुदको इतिहासबारे पुस्तक लेखिनु नै ठूलो कुरा हो । चालिसे कुनैबेला राष्ट्रिय खेलकुद परिषदमा काम गरेको र खेलकुद पत्रकारितासमेत गरेकाले ३ दशकअघि नै यो पुस्तक निकाल्ने जमर्को गरेका रहेछन् । तर तत्कालिन राजनीतिक परिस्थितिले गर्दा सम्भव भएन । ढिलै भए पनि यो पुस्तक आएको छ । यसले खेलकुद पत्रकारिता गर्ने खेलकर्मी र इतिहास बुझ्न चाहनेको लागि पक्कै सहयोग गर्छ ।
यो पुस्तकले अरु इतिहास लेख्न थप जानकारी खोज्न पनि सहयोग गर्नेछ । इतिहास खोज्दा पुराना रेकर्डहरु नभेटिने, सँधै अग्रजहरुसँग सधैँ सोधेर अवस्थालाईक़ यो पुस्तकले थोरै भए पनि चिर्नेछ ।
नेपालमा फुटबल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेबुलटेनिस जस्ता खेलहरु कसरी भित्रिए र कसरी खेल्न थालियो भन्नेबारे पुस्तकमा चर्चा गरिएको छ । बागचालजस्तो नेपालको परम्परागत र मौलिक खेललाई पनि पुस्तकमा स्थान दिइएको छ ।
पुस्तकअनुसार नेपालले सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो एसियाली खेलकुददेखि अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन थालेको हो । त्यसमा कृष्णबहादुर बर्माको नेतृत्वमा नेपाली टोली दिल्ली गएको थियो । नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरेको पहिलो खेल नै एथ्लेटिक्स हो । जबकी एथ्लेटिक्सको राष्ट्रिय प्रतियोगिता त्योभन्दा पछि सुरु भएको थियो ।
यस्तै, नेपालमा फुटबल कसरी भित्रियो, फुटबल लिग कसरी सुरु भयो, शहीद स्मारक लिगको ट्रफीको नामाकरण कसरी भयो जस्ता विषयलाई लेखकले समेटेका छन् । साथै, पुराना फुटबल प्रतियोगिताहरु रामजानकी कप, त्रिभुवन शिल्ड नर ट्रफीको बारेमा पनि उनले जानकारी दिएका छन् ।
पुस्तकमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको सहभागिता, नेपालमा प्रतियोगितात्मक खेलकुदको अवस्था, भौतिक पूर्वाधारहरुको विकास जस्ता सामाग्री पहिलो खण्डमा समेटिएको छ । यस्तै दोस्रो खण्डमा नेपालमा सुरुमा खेलिएका खेलहरु एथ्लेटिक्स, बुद्धिचाल, बाघचाल, हृयाण्डबल, सुटिङ, टेबलटेनिस, जिम्न्यास्टिक, ब्याडिमिन्टन, बक्सिङ, फुटबल, भलिबल, भारोत्तोलन, पौडी, कबड्डी, जुडो र कराते गरी १६ खेलको इतिहास लेखिएको छ । त्यो बेला पनि एथ्लेटिक्स लगायत केही खेलको सुरुवाती राष्ट्रिय प्रतियोगिताको रेकर्ड नभेटिएको पुस्तकमा उल्लेख छ ।
पहिलो प्रयास भएकोले यसमा केही कमी-कमजोरी हुन सक्छन् । जस्तै अहिलेको चर्चित खेल क्रिकेटलाई पुस्तकले छुटाएको छ । हुन त ४५ सालसम्म नेपालले क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको पनि थिएन । तैपनि क्रिकेट २००० कै दशकमा खेलिन थालेको र नेपालको लोकप्रिय खेलमध्ये नै पर्छ । पुस्तक भर्खर प्रकाशित भएकोले क्रिकेटको बारेमा केही सामाग्री आवश्यक थियो । यो चाहिँ खट्किएको छ ।
अर्को यो पुस्तकमा सुरुवातदेखि २०४५ सालसम्मका रेकर्डहरु छन् । त्यसपछि भने राजनितिक व्यवस्थाले गर्दा खेलकुदमा पनि असर गर्यो । चालिसेले पनि बिचको भागलाई स्किप गर्दै एकैपटक २०७३ सालको केही खेलकुद जानकारी गराखेका छन् । सातौ खेलकुदको मात्र चर्चा छ, तर पूरा उल्लेख गरिएको छैन । पछिल्ला खेल गतिविधि पनि समेटेको भए अझै राम्रो हुन्थ्यो ।
यसमा ३० र ४० को दशकको अधिकांश विषय समेटिएकोले यसलाई नेपाली खेलकुदको इतिहास-भाग १ मान्न सकिन्छ । त्यसपछिका खेलकुद किन राम्रोसँग अघि बढ्न सकेन, राजनीतिले कसरी प्रभाव पार्यो र पछि खेलकुद कसरी फेरि जुर्मुरायो भन्ने जस्ता विषय लेख्दा अझै रोचक हुन सक्छ ।
जेजस्तो भए पनि नेपालको खेल इतिहासको रुपमा एउटा दस्तादवेज लेखिएको छ । यसमा १६ वटा खेलमा नेपालले खेलेका राष्ट्रिय प्रतियोगिता र अन्तर्रष्ट्रिय सहभागिताहरुलाई समेटिएको छ । खेलप्रेमीहरुका लागि चलिसे धन्यावादका पात्र छन् । उनले आफूले देखेका र संग्रह गरेका इतिहासहरुलाई एउटा पुस्तकको रुप दिएका छन् । यसले नयाँ पुस्ता र अब आउने पुस्तालाई सहयोग गर्नेछ । यसपछिका इतिहासबारे अझै मिहिनेत गरेर लेख्ने वा अर्को भाग निकाल्न सकेन सुनमा सुगन्ध हुने थियो । यस पुस्तकले अरुलाई पनि लेख्न उत्प्रेरित गर्ने छ ।
फेसबुक प्रतिक्रियाहरु