काठमाडौं ३० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित भएर ल्याउनुपर्ने संसद बैठकमा बताएका छन् ।
कोरोना भाइरसको महामारी सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित गरी बजेट ल्याउन उनले सरकारलाई सुझाव दिए ।
देश र जनता सुरक्षित नभई कुनै पनि काम अगाडि बढ्न नसक्ने उल्लेख गर्दै रावलले नेपालको भूमि भारतले अतिक्रमण गरेको विषयमा पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे ।
आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले कालापानी क्षेत्रको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउने उचित प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।
त्यहाँ सडक निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिनुपर्ने भएपनि अहिलेसम्म काम सुरु नभएको उनले बताए । पञ्चायत कालमा समेत दार्चुलाको सीतापुलमा भारतीय र तिंकरमा चीनसँगको भन्सार विन्दु सञ्चालन रहे पनि अहिले सबै बन्द रहेकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।
कोरोना संक्रमण रोक्ने सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको व्यवस्थापन नै हुन नसकेको भन्दै रावलले भौतिक संरचना निर्माणलगायत व्यक्तिगत आवश्यक उपकरणको प्रवन्ध गर्न सरकारलाई आग्रह गरे ।
ग्रामीण क्षेत्रमा उत्पादन हुने तरकारी सडेर जाने अवस्था आएको तर भारतबाट ट्रकका ट्रक तरकारी नेपाल भित्रिरहेको उल्लेख गर्दै रावलले बजेटमा यस्ता विषयमा ध्यान दिन आग्रह गरे ।
सरकारले समाजवाद उन्मुख अर्थतन्त्र र कल्याणकारी राज्यको सिद्धान्तको अवधारणा अघि सारे पनि व्यवहारमा दलाल, नोकरशाही र पूँजीपतिहरुलाई प्रश्रय दिइएको उनले बताए ।
फेसबुक प्रतिक्रियाहरु