धनगढी–कोरोना भाइरसको प्रभावका कारण सुदूरपश्चिम प्रदेशमा होटल व्यवसाय संकटमा परेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि एक सय २० दिनसम्म गरिएको लकडाउन र त्यसपछि जारी भएको निषेधाज्ञाका कारण सुदूरपश्चिममा होटल व्यवसाय धरासायी हुँदै गएको हो।
प्रदेशका झण्डै सात हजार बढि होटेलहरुमा रोजगारी पाएका ४५ हजार व्यक्तिको रोजगारी समेत गुमेको छ। प्रदेशमा सञ्चालनमा रहेका सात हजार होटल बन्द हुँदा ४५ हजार नागरिक बेरोजगार भएका होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष दिपक खड्काले बताए। उनले भने, ‘प्रदेशमा सात हजार होटलहरु छन्। २० अर्बको लगानी छ। कोरोना भाईरसका कारण पूर्ण ठप्प छ।’
अहिले सम्म ६ अर्बको क्षती भएको दावी गरिएको छ। अधिकासं व्यवसायीले घर भाडा तिर्न सकेका छैनन्। उनीहरुलाई विद्युत, पानीको शुल्क तथा ऋणको ब्याज तथा किस्ता तिर्न समेत अहिले मुस्कील हुँदै आएको छ।
अझै कति समय होटल बन्द गरिने हो भन्ने विषय पनि निश्चित नभएकाले होटल व्यवसायीहरु पेशा समेत परिवर्तन गर्न थालेको होटल व्यावसायी संघ कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारीले बताए। ‘होटल व्यवसायी पेशा परिवर्तन गर्दै छन्। महेन्द्रनगर बसपार्क क्षेत्रका व्यवसायी अन्य काममा लागेका छन्,’ उनले भने, ‘होटल बन्द भएपछि निकै समस्या भएको छ।’
कैलालीमा मात्रै करिब १० अर्बको लगानीसहित खुलेका साना–ठूला गरी २५ सय होटल ६ महिनादेखि बन्द छन्। जिल्लामा होटल बन्द हुँदा दैनिक दुई करोड ८० लाख घाटा भईरहेको दावी होटल व्यवसायीको छ।
अझै केही समय यस्तै अवस्था रहेमा होटल व्यवसायबाट पलायन हुन पर्ने गुनासो होटल व्यवसायी संघ कैलालीका महासचिव केशव पाण्डेको छ। उनले भने, ‘होटल व्यवसाय सबैभन्दा बढि प्रभावित भएको छ। ६ महिनामा एक दिन पनि व्यवसाय सञ्चालन गर्न पाएका छैनौ। बैँकको व्याज तिर्न सकिएको छैन्। कर्मचारीलाई तलव दिन सकेका छैनौ।’
व्यवसायीहरुले लकडाउन अवधिबाट संक्रमण अवधिसम्म सबै प्रकारका कर छुटको व्यवस्था गरिदिन र मुल्य अभिवृद्धि करमा थप दस्तुर, ब्याज, जरिबाना नलाग्ने व्यवस्था गरिदिन र होटल व्यवसायमा काम गर्ने कर्मचारी तथा मजदूरको उचित व्यवस्थापन तथा राहतको व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन्।
फेसबुक प्रतिक्रियाहरु