काठमाडौँ — उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भए सम्बन्धित अस्पतालको सेवा नियमानुसार दुई घण्टाभन्दा बढी बन्द गर्न पर्दैन । कोभिड–१९ निर्देशिकाले नै संक्रमित बसेको वार्ड वा कोठा दुई घण्टाभित्र सफा गरेर पुनः सञ्चालनमा ल्याइनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । तर, यहाँ संक्रमित भेटिएका अस्पताल पाँच दिनसम्म पनि बन्द गरिएको पाइएको छ ।
‘संक्रमित भेटिँदैमा अस्पताल सिल गर्ने भन्ने हुँदैन,’ आइतबारसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका डा. विकास देवकोटाले भने, ‘बन्द गर्दै जाने हो भने भोलि अन्य बिरामीले उपचार नपाउने स्थिति आउन सक्छ । अहिले मन्त्रालयको ध्यान त्यतातिर नगएकै हो ।’ उपत्यकामा हालसम्म ६ अस्पतालमा संक्रमित भेटिएका छन् । महाराजगन्जको त्रिवि शिक्षण अस्पताल, सिनामंगलको काठमाडौं मेडिकल कलेज (केएमसी), ग्वार्कोको किस्ट मेडिकल कलेज, पुल्चोकको आरोग्य फाउन्डेसन, प्रसूति गृह र धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा संक्रमित भेटिएका हुन् ।
त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी २९ वर्षीया महिला घर फर्केको १० दिनपछि वैशाख ३१ मा संक्रमण पुष्टि भयो । त्यसपछि प्रसूति वार्ड दुई दिनसम्म बन्द भयो । त्यहाँ भर्ना भएका गर्भवती र सुत्केरीहरूलाई प्रहरी अस्पतालमा सारियो । ती सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएकाले त्यहाँको प्रसूति वार्ड पनि केही दिन सिल गरेर पाँच चिकित्सकलाई क्वारेन्टाइनमा राखियो ।
सुत्केरीमा कोरोना देखिएपछि भक्तपुरको मध्यपुर अस्पतालमा सर्जरी र गाइनो वार्ड बन्द गरेर अरू सेवा सुचारु राखिएको मेडिकल डाइरेक्टर डा. रविना प्रधानांगले बताइन् । उनका अनुसार उपचारमा संलग्न र प्रत्यक्ष सम्पर्कमा रहेका ३० जनालाई क्वारेन्टाइनमा राखिएको छ । ‘संक्रमित देखिनेबित्तिकै सबै सेवा बन्द गर्दा भएका बिरामी कहाँ पठाउने ? नयाँ बिरामीको उपचार कसले गर्ने ? भन्ने लागेर हामीले सेवा नियमित गरेका छौं,’ उनले भनिन् ।
अस्पतालको सरसफाइ गर्दा, वार्डमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ गर्दा सेवा सञ्चालनमा समय लागेको शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्गाले बताए । जेठ १ गते घाँटीको शल्यक्रिया गर्न कपिलवस्तुबाट ल्याइएकी ६ वर्षीया बालिकामा पनि संक्रमण पुष्टि भएपछि न्युरो वार्ड पनि दुई दिन बन्द भएको थियो । यो अस्पतालमा हालसम्म ३ जना संक्रमित भेटिएका छन् ।
केएमसीमा जेठ २० गते एक गर्भवती र एक सुत्केरीको कोरोना रिपोर्ट पोजिटिभ आयो । यसअघि अस्पतालमा न्युरो शल्यक्रिया गरिएका ७६ वर्षीय पुरुष पनि संक्रमित थिए । संक्रमित भेटिएपछि अस्पतालका सबै सेवा बन्द भए । पाँच दिन पुग्दासमेत केएमसी पूर्णरूपमा सञ्चालनमा आएको छैन । बन्द भएको २४ घण्टापछि मात्रै आकस्मिक सेवा सञ्चालन गरिएको अस्पतालकी प्रवक्ता डा. चन्दा कार्कीले बताइन् । ‘संक्रमणको स्रोत पत्ता नलागेपछि अस्पताल पूरै निर्मलीकरण गरिएको हो,’ उनले भनिन्, ‘अस्पतालबाट समुदायमा संक्रमण फैलिएला भनेर सेवा अवरुद्ध पारेर भए पनि सफाइमा ध्यान दिएका हौं ।’ अस्पतालका १५ विभागमध्ये १३ विभाग खुलिसकेको उनले बताइन् ।
किस्टमा जेठ १९ गते २३ वर्षीया संक्रमित सुत्केरीको मृत्यु भएपछि उनलाई राखिएको वार्ड २४ घण्टा बन्द भयो । जेठ १४ गते यही अस्पतालमा ५७ वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भयो । मृत्यु नै भए पनि सरकारले अस्पताल सिल गरेको थिएन ।
सरकारले शव उठाउन ढिलाइ गरेका कारण धेरै समय सेवा बन्द गर्नुपरेको अस्पतालका मेडिकल निर्देशक डा. सुरज वज्राचार्यले बताए । ‘भाइरस फैलिएको पूरै वार्ड सफाइ गर्न २ घण्टामा कहाँ भ्याइन्छ ?’ उनले भने, ‘सक्दो चाँडो सफा गरेर हामीले सेवा सञ्चालन गरेकै हो ।’
वैशाख ३१ गते आरोग्य अस्पतालकी नर्समा कोरोना पुष्टि भयो । सरकारले नै दुई दिन अस्पताल सिल गर्यो । संक्रमितले अस्पताल नै नटेकेको अवस्थामा पनि दुई दिन सेवा बन्द गरिएको अस्पताल प्रमुख विपिन प्रधानले बताए । ‘खासमा संक्रमितले निदानको एम्बुलेन्स चढेको मात्रै हो, त्यही आधारमा अस्पताल सिल गरियो,’ उनले भने, ‘त्यसको असर अहिलेसम्म देखिएको छ, बिरामी अस्पताल टेक्नै डराउँछन् ।’
विशेषज्ञका अनुसार पोजिटिभ केस भेटिएपछि अस्पताल सिल गर्नुको उद्देश्य संक्रमितको सम्पर्कका व्यक्ति खोजेर परीक्षण गर्नुमात्रै हो । यसका लागि धेरै दिन अस्पतालको सेवा अवरुद्ध गर्न नहुने जनस्वास्थ्यविद् शरद वन्त बताउँछन् । ‘सरसफाइका लागि केही घण्टा सेवा बन्द गर्नु ठिकै हो,’ उनले भने, ‘अस्पतालको गतिविधि नै बन्द गर्नु आवश्यक छैन, सेवा सञ्चालन गरेर निगरानी मात्रै गरे पुग्छ ।’
ह्याम्स अस्पतालको आकस्मिक कक्षमा जेठ २० गते भर्ना भएका दुई जनामा २३ गते कोरोना पुष्टि भयो । संक्रमित हुनेमा ७६ र ६० वर्षका दुई जना पुरुष छन् । संक्रमित भेटिए पनि सेवा प्रभावित नभएको अस्पतालका निर्देशक डा. ज्योतीन्द्र शर्माले बताए । ‘हामीले पूर्ण सावधानी अपनाएर बिरामी हेरेकाले अस्पताल बन्द गर्नुपर्नेजस्तो लागेन,’ उनले भने, ‘संक्रमित बिरामी हेरेका चिकित्सक र स्वास्थ्यकर्मी पनि क्वारेन्टाइनमा छैनन् ।’
संक्रमित देखिनेबित्तिकै अस्पताल नै बन्द गर्नुर्, केही विभाग सिल गर्नु गलत भएको विज्ञहरू बताउँछन् । यसरी अस्पताल बन्द गर्दा सर्वसाधारण सेवाबाट वञ्चित हुने उनीहरूको भनाइ छ । ‘संक्रमित बसेको वार्ड वा कोठा डिस्इन्फेक्सन गरेपछि प्रयोग गर्न मिल्छ,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, ‘हरेक अस्पतालमा संक्रमित देखिनेबित्तिकै बन्द गर्नुको विकल्पमा कसरी सुरक्षित तरिका अपनाउने भनेर योजना बनाउनुपर्छ ।’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा संक्रमित पनि छन् । त्यहीँ अन्य सरुवा रोगका बिरामी पनि आइरहेका छन् । पीसीआर र आरडीटीसँगै ओपीडी, रेबिजविरुद्धको खोप, आकस्मिक सेवालाई अस्पतालले निरन्तरता दिइरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु