जीवन दुई किसिमले बाँच्न सकिन्छ। एउटा मालिकजस्तो र अर्को गुलामजस्तो। गुलामीको जीवन नाममात्रको जीवन हो। यस्तो जीवनलाई यथार्थमा भन्ने हो भने जीवन भन्नु पनि गलत नै हुनेछ। किनकि यस किसिमको जीवन साह्रै कष्टकर हुन्छ। गुलामीमा आफ्नो भन्ने केही हुँदैन, सबैकुरा मालिकमा भर पर्नुपर्नेहुन्छ। मालिकहरूले यो हुँदैछ, त्यो हुँदैछ, यसो गर्दैछौं, त्यसो गर्दैछौं भन्दै सुन्दर सपना बाँडेर मोजमस्तीकासाथ शासन गरिरहेका हुन्छन् भने गुलामहरूको जीवन केही दिईपोहाल्छन् कि, पाईपोहालिन्छ कि भन्दै आशैआशमा बितिरहेको हुन्छ।
कस्तो शासन व्यवस्था, कस्तो कानुन, कस्तो शिक्षा, कस्तो स्वास्थ्य, कस्तो न्याय, कस्तो विकास आदिजस्ता यावत् कुरा मालिकहरूले नै निर्धारण गर्छन्। गुलामहरूलाइ सोही कुरा मान्न र सोही अनुसार चल्न बाध्य बनाइन्छ। राज्यका ऐन–कानुन मालिकहरूको स्वार्थ अनुकूल हुने गरी बनाइन्छ र ती सबै गुलामहरूमा मात्र लागू हुन्छ, मालिकहरू ऐन–कानुनभन्दा माथिका हुन्छन्। मनलाग्दो किसिमले कर असुल गरिन्छ र त्यसको अधिकांश हिस्सा मालिकहरूको मोजमस्तीएवं सुविधाकै लागि खर्च गरिन्छ।
जसबाट कर असुल गरिएको हो, उनीहरूको हकहितको लागि नाममात्रको रकम कनिका छरेजस्तो छर्न छुट्याइएको हुन्छ। विद्रोह नभई आफ्नो मनोमानी चलिरहोस् भन्नकानिम्ति यस्ता मालिकलेसुराकी र आफ्नो गुनगानका लागि गुलामहरूमध्येबाटै केहीलाई आफूप्रति बफादार बनाएका हुन्छन्। मालिकको नजरमा यिनको हैसियत अन्य गुलामहरूभन्दा केही फरक नभए पनि बक्सिस पाउने आशमा यिनीहरू आफ्नो वर्गको हितभन्दा मालिकको हितको लागि नै बफादारी हुन्छन्।
राष्ट्रसेवक कर्मचारी जसलाई जुनसुकै पार्टीको जोसुकै मन्त्री भएपनि फरक पर्दैन, तिनीहरूलाई समेत मन्त्रीले त्यस किसिमकोभाषा बोल्छन् भने आफूलाई कुनै किसिमको अप्ठ्यारो परेर वा केही पाउने आशामा आउने कार्यकर्तालाई उनीहरू कस्तो भाषाको प्रयोग गर्छन् होला? सहजै अनुमान गर्न सकिन्छ।तर पनि हरेक ठूला भनिएका नेताहरूकोमा गुलामी गर्नआउनेको भीड हेर्नलायकनै हुन्छ।
आजको गणतान्त्रिक नेपालमा पनि शासकहरू मालिकको हैसियतमा देखिँदैछन् भने आमजनता तथा कार्यकर्ताको हैसियत गुलामको भन्दा माथि देखिँदैन।
सेक्युरिटी प्रिन्टिङ प्रेसको ठेक्का र कमिसनसँग सम्बन्धित गोकुल बास्कोटाको टेप सार्वजनिक भएसँगै त्यसको दुई दिनपहिले गत फाल्गुण ६ गते धुलिखेल नगरपालिकाको स्थापना दिवसको अवसरमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले तुलोमा अरू सबै एकातिर बास्कोटा एकातिर भनी गरेको प्रशंसाले थप चर्चा पाएको छ। हेर्दा अथवा सुन्दा ओलीले बास्कोटाको प्रशंसा गरेजस्तो देखिए तापनि कुरा त्यतिमा मात्र सीमित छैन।
एकातर्फ ओलीले बास्कोटाको प्रशंसा गर्दै थिए भने अर्कोतर्फ इमानदार तथा निष्ठावान् कार्यकर्ताको अपमान।भिडियो सार्वजनिक हुनुभन्दा पहिलेपनि काभ्रेका कार्यकर्तालाई बास्कोटा के हुन् भन्ने कुराको पक्कैपनि जानकारी थियो होला। यस्तोमा तुलोमा सारा कार्यकर्ता एकातिर अनि बास्कोटा अर्कोतिर भन्नुले योग्यता अनि सभ्यताहीन बास्कोटा जत्तिको योग्यता र निष्ठापनि कुनै कार्यकर्तामा नरहेको भन्ने अर्थ बुझिँदैन र ? कार्यक्रममा उपस्थित भएकाहरूमध्ये ओलीको उक्त भनाइप्रति कसैले असहमति व्यक्त गरेको त सुनिएन तर समर्थनमा पररर ताली बजेको भने सुनियो।
बास्कोटाजस्तो निम्नस्तरको मान्छेसँग आफूहरूलाई आफ्नै अगाडि तुलना गरेर तिमीहरू ऊ जत्तिको पनि कोही छैनौ भन्दा पररर तालीबजाउने जमात वर्तमान नेपालमा भन्दा अन्यत्र शायदै पाइएला, अनि यो भन्दा गुलामीकोपरकाष्ठा के होला ?प्रधानमन्त्री ओलीको अगाडि बास्कोटाको हैसियत गुलामको भन्दा बढी थिएन तर उनलाई यसरी अगाडि बढाएका थिए कि परेका बखत ‘बलि दिन’ सकियोस्, जुन कुरा मैमत्त भएका बास्कोटाले बुझ्नै सकेनन्। सेक्युरिटी प्रिन्टिङ प्रेसको ठेक्का र त्यसबाट आउने मोटो कमिसनबारे प्रधानमन्त्री अनभिज्ञ थिए भनेर विश्वास गर्न सकिँदैन तर जब परिस्थिति नियन्त्रणबाहिर गयो, बास्कोटालाई‘बली चढाउन’ ओली तयार भए।
अघिल्लो महिना मात्र नेता तथा कार्यकर्ताको लागि भनेर नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले जन्मदिन, पास्नी तथा व्रतबन्धजस्ता संस्कारलाई घरभित्रै सीमित गर्नू भन्दै आचारसंहिता जारी गरेका थिए तर अर्को महिनामै आफैंले जारी गरेको आचारसंहिता विपरीत जन्मथलोमा जन्मदिन मनाउने नाममा राज्यको स्रोत–साधनको व्यापक दुरुपयोग गर्दै ओली सयौंको संख्यामा गाडीहरूको लावालस्कर र चारवटा हेलिकप्टरसहित तेह्रथुमको आठराई पुगे।
प्रधानमन्त्रीको जन्मदिनलाई महाजन्मोत्सवको रुपमा मनाउन भन्दै गाउँपालिकाले सार्वजनिक बिदा नै घोषणा ग¥यो भने करिब६ हजारले त भोज नै खाएको कुरा सार्वजनिक भएको छ। मानिस पदमा पुग्नासाथ उसको स्वभाव बदलिन्छ, चाल बदलिन्छ, बोलिचाली बदलिन्छ, रहनसहन बदलिन्छ। जो होसमा छ, उसको बदलाव जिम्मेवार हुनको लागि हुन्छ भने जो नशामा छ उसमा पदमा पुगेको अहंकारले बदलाव आउँछ। अरूले हेर्दा उसको हरेक क्रियाकलाप अस्वाभाविक र अनौठो देखिन्छ।
गतवर्ष डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रस्मोसेन आफ्नो चारबर्से कार्यकाल पूरा गरी निवास छाड्दा झोला बोकेर निस्किएको तस्वीर सार्वजनिक भएको थियो। पच्चीसौं प्रधानमन्त्रीका रुपमा निर्वाचित उनी कुनै सर्वाहाराको गीत गाउँदै निर्वाचित भएका थिएनन् तर हाम्रो देशमा देश र जनताको अधिकारको लागि यति वर्ष र उति वर्ष संघर्ष गर्दै जेल बसेका भन्नेहरूबाट नै मुलुक तथा जनतालाई सबैभन्दा बढी घात हुँदैछ। राजनीतिको नाममा हुने हरेक झुट, हिंसा, भ्रष्टाचार, गद्दारी अनि विश्वासघातलाई हामी सबैले स्वीकार गरिसकेका छौं र त भन्ने गरेको सुनिन्छ नि राजनीतिमा यत्तिको त भइहाल्छ नि !अरू देशमा जुन कुरालाई अपराध मानिन्छ, हामी त्यसैलाई राजनीति मान्दैछौं।यो नै हामी पछौटे हुनुको मुख्य कारण हो।
पार्टीबाट जारी आचारसंहिताको पालना सोही पार्टीका अध्यक्षले गर्नु नपर्नेभए त्यो कसकोलागि जारी गरिएको हो ? के नेकपाको विधानमा पार्टी अध्यक्षलाई ऐन–कानुनभन्दा माथि राखिएको छ ? होइन भने आफ्नैलागि आफैंले जारीगरेको आचारसंहिता विपरीतको क्रियाकलाप पार्टी अध्यक्षबाट भइरहँदा त्यस्तो कार्यक्रमलाई बहिस्कार गर्नुको सट्टा ताली बजाउन तँछाडमछाड गर्दै उपस्थित हुने नेता–कार्यकर्ताको हैसियत तथा स्तरलाई के मूल्यांकन गर्ने ? त्यतिमात्र होइन, सञ्चारमाध्यमहरूले आफूलाई समेत तिमी भनेकोमा पटक–पटक असन्तुष्टि व्यक्त गर्दै आएका प्रधानमन्त्री ओली अनि सम्मानका साथ बोल्नुपर्ने भनी कार्यकर्तालाई आदेश गर्ने नेताहरू आफू कस्ता–कस्ता भाषाको प्रयोग गर्छन् भन्ने कुरा बास्कोटाको टेप प्रकरणले उजागर गरेको छ।
विषयविज्ञ राष्ट्रसेवक कर्मचारी जसलाई जुनसुकै पार्टीको जोसुकै मन्त्री भएपनि फरक पर्दैन, तिनीहरूलाई समेत मन्त्रीले त्यस किसिमकोभाषा बोल्छन् भने आफूलाई कुनै किसिमको अप्ठ्यारो परेर वा केही पाउने आशामा आउने कार्यकर्तालाई उनीहरू कस्तो भाषाको प्रयोग गर्छन् होला? सहजै अनुमान गर्न सकिन्छ।तर पनि हरेक ठूला भनिएका नेताहरूकोमा गुलामी गर्नआउनेको भीड हेर्नलायकनै हुन्छ।
समृद्धिका लागि सुशासन चाहिन्छ अनि सुशासनको लागि इमानदारिता र दिगो प्रतिबद्धता।समृद्धि भिरपाखामा मृत्युसँग सम्झौता गरिरहेका नेपालीमा देखिनुपर्छ। कोही सिंगापुरमा उपचार गराउन गई आरामका लागि भन्दै संसारकै महँगोमध्येको होटलमा बस्नु अनिकोहीले वाइन पिएर राज्यस्रोतको दुरुपयोग गर्दै करोडौं खर्च गरी जन्मदिन मनाउनुनै समृद्धिको सूचक नभएरनैतिकहीनता र लुटतन्त्रको परकाष्ठा भने पक्कै हो। प्रधानमन्त्री ओली नारा र हस्यौलीमा अनि उखान टुक्कामा सुशासन देख्छन्, जसले जनताको अनुहारमा चमक ल्याउन सक्दैन। असहमति र आलोचना त ओली सुन्नै नसक्ने रहेछन् अनि त उनी आफ्नो प्रशंसामा नलेख्ने र नबोल्ने सम्पादकहरूको मुटु नभएको देख्छन्। केही महिनाअघि मात्र आफू निकट पत्रकारहरूलाईबालुवाटार बोलाईमुठ्ठी उचालेर कसम ख्वाउँदैनेकपाका अध्यक्षद्वय ओलीर प्रचण्डले सरकारको प्रशंसा गर्नमा कुनै कसर बाँकी नराख्नूभन्ने निर्देशन दिई भोज ख्वाएर पठाएको खबर सार्वजनिक भएको थियो। जसले उनीहरू कति आत्मरतिमा रमाउँछन् भन्ने बुझ्न सकिन्छ।
शिवरात्रिमा पशुपति गयो भने साधुसन्त भनिनेहरू गाँजाभाङमा नलठ्ठिएका लगभग देख्नै पाइँदैन। यस्तो लाग्छ, नशामा नभएकाहरू साधुसन्त हुनै सक्दैनन्।त्यस्तै छ हाम्रो देशमा नेताहरूको अवस्था। सत्ता अथवा नेतृत्वमा पुग्नको लागि झुट, भ्रष्टाचार, नैतिकहीनता अनि फटाहाको सर्टिफिकेट अनिवार्यजस्तो देखिन थालेको छ। राजनीतिज्ञको नाममा आज एकसे एक सिकारीहरू सक्रिय छन्, जसले भ्रष्टाचार गर्दै विकास तथा समृद्धिलाई सिकार गर्दैछन्। न्यायालय कब्जामा लिएर न्यायको सिकार गर्दैछन्।विद्यालय तथा विश्वविद्यालयहरूमा कब्जा जमाएर ज्ञानको सिकार गर्दैछन्।निमुखा, असहायको सिकार गर्दैछन्। धर्म–संस्कृतिको सिकार गर्दैछन्। प्रकृतिको सिकार गर्दैछन्।
जनताको मौलिक हकको सिकार गर्दैछन्। राष्ट्रियताको सिकार गर्दैछन अनि सिकार गर्दैछन् सिंगो राष्ट्रको। विगत केही वर्षको मात्र कुरागर्ने हो भने पनि यस अवधिमा भएका लडाकू शिविरदेखि वाइडबडी खरिद, ३३ किलो सुन काण्ड, ललिता निवास तथा यती होल्डिङ्स प्रकरण, एनसेल कर छुट, एमसीसी प्रकरण अनि भर्खरै सार्वजनिक भएको चर्चित सेक्युरिटी प्रिन्टिङ प्रेसको ठेक्काजस्ता मुलुकलाई घातगर्ने काण्डहरूमा यस अवधिमा शासन गरेकाहरू जुनसुकै पार्टीका किन नहुन्, नमुछिने कोही भएनन्। शासकहरू जब मुलुकप्रतिको आफ्नो जिम्मेवारी बिर्सेर नैतिकहीन व्यापारीमा रुपान्तरण हुन्छन्, त्यसपछि नागरिकले उनीहरूको साथ छाड्दै जान्छन् अनि त्यस्तो अवस्थामा उनीहरूलाई गुलामहरूको आवश्यकता पर्छ। आज नेपालका शासकहरू यस्तै गुलामीमै रमाइरहेका छन्।
लेखक जनार्धन घिमिरे
फेसबुक प्रतिक्रियाहरु