बिहिबार, मंसिर २६, २०७६
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • मिर्गौला संवेदनशील अंग हो, कसरी जोगाउने?
स्वास्थ्य-जीवनशैली

मिर्गौला संवेदनशील अंग हो, कसरी जोगाउने?

काठमाडौं, मंसिर १४।मिर्गौला हाम्रो शरीरको निष्कासन प्रणालीसँग सम्बन्धित अंग हो। यसले शरीरका विकारयुक्त कुरा फाल्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हर्मन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्नेलगायत काम गर्छ। यो एकदमै महत्वपूर्ण अंग हो। भगवानले हरेक मानिसलाई जन्मजात दुइटा मिर्गौला दिनुभएको हुन्छ।यिनीहरू पेटको पछाडिको भागमा हुन्छन्। मिर्गौला सिमी आकारका हुन्छन्।

मिर्गौलाको रोग कसरी लाग्छ?

कतिपय अवस्थामा मिर्गौलाका रोग जन्मजात हुन्छ। कोही उमेर बढ्दै जाँदा रोगी हुन्छन्। बच्चाहरूमा जन्मजात रूपमा एउटामात्रै मिर्गौला हुने, मिर्गौलाको रगतको नशा च्यापिएको वा बिग्रिएको हुने, मिर्गौलामा सिस्ट बन्नेलगायतका समस्या देखिन्छन्। पिसाब उम्लिएर गएर संक्रमण गराउने,पिसाबको थैली र नलीका रोगले पनि बच्चाको किड्नीलाई असर गरिरहेको हुन्छ।

वयष्क मान्छेमा मिर्गौलाको समस्या हुनुका प्रमुख दुई कारण उच्च रक्तचाप र मधुमेह हुन्। मिर्गौलामा रोग देखिने अन्य कारणमा मिर्गौलाको हुने पत्थरी, ट्युमर, मिर्गौलामा लाग्ने चोटपटकलगायत छन्।

विज्ञापन

मिर्गौलालाई स्वस्थ कसरी राख्ने?

बेलाबेलामा स्वास्थ्य परीक्षण गर्नुपर्छ। हरेक ६ महिना/१ वर्षमा रक्तचाप, क्रियाटिन, पिसाबको परीक्षण र अल्ट्रासाउण्ड (भिडियो एक्सरे)गर्नुपर्छ। यी सबै स्क्रिनङ परीक्षण हुन्। मिर्गौलाको रोग अरू रोगजस्तो सजिलै पत्ता लाग्दैन किनभने क्रियाटिन बढ्नलाई मिर्गौला ७० देखि ८० प्रतिशत बिग्रिनुपर्छ। त्यसैले पिसाब, रगत सबैको परीक्षण गरे मिर्गौला रोगलाई सुरूकै स्टेजमा पत्ता लगाउन सकिन्छ। उच्च रक्तचाप हुनेहरूले नियन्त्रण गर्नुपर्छ। सम्बन्धित फिजिसियनकहाँ गएर बेलाबेलामा परीक्षण गर्नुपर्छ। डाइविटिजका बिरामीले पनि खानामा ध्यान दिने अनि व्यायाम गर्नुपर्छ। रगतको नसा स्वस्थ राख्न कोलस्ट्रोल नियन्त्रण गर्न व्यायाम गर्नुपर्छ। धुमपान गर्नु हुँदैन। धुमपानले फोक्सोलाई मात्र असर गर्ने होइन,मिर्गौलामा जाने रगतको नशा पनि सुकाइदिन्छ। धुलो, धुँवा वातावरणीय प्रदुषणबाट मुक्त रहेर विष, लिड, मर्करीबाट मुक्त रहन सकियो भने मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ।  प्रशस्त पानी पिउनु पनि महत्वपूर्ण छ। पानी धेरै पिउँदैमा मिर्गौला स्वस्थ हुन्छ भन्ने होइन। कुनै पनि ठाउँको मौसम अनुसार पानी पिउनु पर्छ। सामान्य रूपमा दैनिक दुईदेखि साढे दुई लिटर पिसाब बाहिर आउने गरी पानी पिउनु पर्छ। काठमाडौंलगायतका चिसो ठाउमा यो मात्राले पुग्छ भने तराईलगायतका अन्य क्षेत्रमा त्यही अनुपातमा पानी पिउनुपर्छ।

सजिलो भाषामा भन्ने हो भने मुटुलाई स्वस्थ जस्तो खानाले राख्छ त्यस्तै खाना खानुपर्छ। फलफूल हरियो सागसब्जीको मात्रा बढाउनु पर्छ। जसले रोग प्रतिरोधात्मक एन्टीअक्सिडेन्टको मात्रा बढाउँछ। रक्सी, चुरोट, ड्रग्सबाट सधैं टाढै रहनु पर्छ। सन्तुलित भोजन गर्नुपर्छ, जंक फुडलाई बन्द गर्नुपर्छ। खाडी राष्ट्रमा रोजगारीमा जानेले पानीभन्दा कोक, फेन्टा बढी खाने भएकाले त्यसको असर परेको छ। जंक फुड, जंक ड्रिंक्सले मिर्गौलालाई हानी गर्छ। सबैभन्दा राम्रो शुद्ध पानी पिउनु हो। कागती पानी, दही मोहीले मिर्गौलालाई फाइदा गर्छ। अत्याधिक व्यायामले पनि मिर्गौलालाई असर गर्न सक्छ। नियमित व्यायाम चाहिन्छ। वर्षमा एक पटक मसल च्यातिने गरि व्यायाम गरे त्यसले किड्नीलाई असर गर्छ। सन्तुलित व्यायाम गर्ने तर एक्कासी धेरै गर्ने होइन। कुनै पनि अतिले खति गर्छ। व्यायाम गर्नुस्, हरेक दिन गर्नुस् अथवा हप्ताको एक-दुई चोटी मिलाएर गर्नुस् तर एकै पटकमात्र धेरै गह्रौं व्यायाम नगर्नुस्।

मिर्गौला रोगका लक्षण

मिर्गौला रोगका कतिपय लक्षण दुखेर हुन्छ कतिलाई नदुखी पनि हुन्छ। पत्थरी रहेछ भने कोखा दुख्ने, पिसाबमा रगत जाने हुन्छ। यस्तो बेलामा पिसाबमा रगत जाने र उल्टी हुन सक्छ। तर धेरैजसो ‘साइलेन्ट ड्यामेज’ हुन्छ। यस्तो भए अत्याधिक टाउको दुख्छ। उच्च रक्तचापले टाउको दुख्छ भने त्यहाँ भएको युरियालगायत पानी सोडियमले गर्दा उल्टी हुने हुन्छ। त्यसपछि अनुहार, आँखाका कोषिका, गोडा, अण्डकोषको छाला सुन्निने हुन्छ। कतिपयलाई छाती दुख्ने अनि स्याँ..स्याँ… हुने हुन्छ। शरीर पहेँलो हुँदै आउँछ। यी सबै धेरै बिग्रिसकेपछि देखिने लक्षण हुन्। सुरुवाती चरणमा त केही थाहा हुँदैन। मिर्गौला ७०/८० प्रतिशत बिग्रिएपछि मात्रै लक्षण देखिन्छ। पिसाबको रङ परिवर्तन हुनु, पिसाब धेरै गन्हाउनु पनि मिर्गौला रोगकै लक्षण हुन्।

मिर्गौला रोगको उपचार

यो रोगका विभिन्न चरणहरु हुन्छन्। रिस्कमा पर्नु, चोट लाग्नु, मिर्गौला फेल, मिर्गौलाको काम गर्ने क्षमताको ह्रास र ‘इन्डिस्टेच’ गरी पाँच वटा चरण छन्। यसको कारण पत्ता लगाएर उपचार गर्नुपर्छ। दुइटै किड्नी अथवा पिसाबको नलीमा पत्थरी पर्यो, ट्युमर देखियो भने त्यसलाई फाल्नुपर्छ। यो पनि उपचारको एउटा पद्धती नै हो। ट्युमर छ भने त्यसलाई निकाल्नुपर्छ। पिसाब उम्लेर गएको छ भने त्यसलाई नउम्लिने बनाइदिनुपर्छ। उपचार गर्न मिल्ने कारणहरूको उपचार गर्ने हो। सुगर, प्रेसर नियन्त्रणमा राख्ने हो। जथाभावी नदुख्ने औषधीहरु खानु हुँदैन। पानी ठिक्क मात्रामा पिउनु पर्छ। सन्तुलित रूपमा प्रोटिन मिसिएका खाना खानुपर्छ। अण्डा, माछा, मासु सबै खान हुन्छ तर ‘डाइटिसियन’को सल्लाहमा।  सुरूवाती चरणमा यसरी नियन्त्रण गर्न सकिए पनि अन्तिमा अवस्थामा पुगेपछि भने डायलासिस वा मिर्गौलाको प्रत्यारोपणमा जानुपर्छ।

(उपप्राध्यापक डाक्टर भोजराज लुइँटेल त्रिवि शिक्षण अस्पताल र ग्राण्डी अस्पतालमा कार्यरत छन्।)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस