आइतवार, मंसिर २९, २०७६
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • आज उप–निर्वाचन : ढुक्कसँग मतदान गर्न आयोगको आग्रह
पत्रपत्रिका

आज उप–निर्वाचन : ढुक्कसँग मतदान गर्न आयोगको आग्रह

काठमाडौं : प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा गरी शनिबार ५२ पदका लागि उपनिर्वाचन हुँदै छ। कास्की २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर १ (क), बागलुङ २ (ख ) र दाङ ३ को (ख) मा प्रदेशसभा सदस्य चयनका लागि मतदान हुँदै छ। स्थानीय तहअन्तर्गत उपमहानगर प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र वडाध्यक्ष ४३ पद चयन हुनेछन्।

निर्वाचन आयोगका अनुसार १६ वटा नयाँ दर्ता भएका दलसमेत १ सय १ दल उपनिर्वाचनमा छन्। प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दलले उपनिर्वाचनमा भाग लिएका छन्।

आयोगका अनुसार उपनिर्वाचनमा मतदाताको संख्या ४ लाख ५४ हजार १ सय १४ छ। मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्।

विज्ञापन

निर्वाचन आयोगले मतदानका लागि सबै तयारी पूरा भएको भन्दै उपनिर्वाचनमा ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ। आयोग प्रवक्ता नरेन्द्र दाहालले बिहीबारभित्र उपनिर्वाचन हुने सबै स्थानमा मतपत्र, मतपेटिका, परिचयपत्रसहित सबै सामग्री बोकेर कर्मचारी पुगिसकेको जानकारी दिए। ‘अब हामी मतदान पर्खेर बसेका छौं,’ आयुक्त दाहालले अन्नपूर्णसँग भने, ‘मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आयोगले आग्रह गरिसकेको छ।’

३७ जिल्लामा कहाँ कहाँ हुँदैछ त उपनिर्वाचन ?
कास्की-२ 

अहिले कास्की निर्वाचन क्षेत्र नम्बर-२ मा सबैको ध्यान छ। प्रतिनिधिसभा तर्फको एउटा मात्र   क्षेत्र भएकाले यसको चर्चा बढी छ। तत्कालीन पर्यटनमन्त्री तथा यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। यस क्षेत्रलाई दलहरूले प्रतिष्ठाको रूपमा लिएका छन्।

यहाँ सत्तारुढ दलबाट अधिकारीकी पत्नी विद्या भट्टराईको उम्मेदवारी छ। अधिकारीको उत्तराधिकारीका रूपमा रहेकी उनले रवीन्द्रको सपना पूरा गर्ने बताउँदै भोट मागेकी छन्।

जितको आधार भएको दाबी गरेको छ। यस्तै भर्खरै उदाएका  साझा र विवेकशील नेपाली दलले पनि उम्मेदवारी दिएका छन्। यहाँ सझाबाट रजनी केसी र विवेकशीलबाट जमुना शर्माले उम्मेदवारी दिएका छन्। यी दलले पुरानाबाट जनता निरास भएको र अब वैकल्पिक शक्तिको उदय हुनुपर्ने बताउँदै आएका छन्।

भक्तपुर
प्रदेश-३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधनपछि भक्तपुर-१ (क)मा पनि निर्वाचन हुँदैछ। यहाँ पार्टीभित्रको विवादले सत्तारुढ दल नेकपालाई चुनौती छ। नेकपाबाट देवीप्रसाद ढकाल उम्मेदवार छन्।

प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट भने कृष्ण भडेल प्रदेशसभाको उम्मेदवार छन्। आफ्नो गण भन्ने नेमकिपाले पनि यस क्षेत्रमा निरज लवजुलाई उम्मेदवार बनाएका छन्। साना दल र केही स्वतन्त्र उम्मेदवारले पनि प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका छन्।

दाङ
दाङमा दुई पदका लागि उपनिर्वाचन हुँदैछ। प्रदेशसभातर्फ क्षेत्र-३ (ख) र घोरही उपमहानगरपालिका-१६ को वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो। प्रदेसभा सदस्य उत्तरकुमार ओली र वडाअध्यक्ष लछिनप्रसाद बुढामगरको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। यसक्षेत्रमा प्रदेशसभातर्फ नेकपाले ओलीकै श्रीमती विमला ओलीलाई उम्मेदवार बनाएको छ। यस्तै, कांग्रेसले केशव आचार्यलाई उम्मेदवार बनाएको छ। यहाँ यी दुई दलबीच नै मुख्य प्रतिस्पर्धा हुँदैछ।

बागलुङ
बागलुङको निर्वाचन क्षेत्र २ (ख)मा सत्तारुढ दलले यसपटक राष्ट्रिय जनमोर्चालाई समर्थन गर्दैछ। जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई नेकपाको समर्थन छ।
अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट राजमोका टेकबहादुर घर्ती निर्वाचित भएका थिए। तर, बिरामीका कारण उनको निधन भएपछि सो क्षेत्रको प्रदेशसभा सदस्य पद रिक्त भएको हो।कांग्रेसले त्यस क्षेत्रमा जितबहादुर शेरचन उम्मेदवार बनाएको छ। उनी अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए।

यी स्थानीय तहमा हुँदैछ उपनिर्वाचन
स्थानीय तह अन्तर्गत एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि शनिबार उपनिर्वाचन हुँदैछ। सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको  फाल्गुनन्द, संखुवासभाको मकालु, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुनेछ।

रिक्त ४३ वडाध्यक्षमध्ये महोत्तरीको मटिहानी नगरपालिका-६ का वडाध्यक्षको राजीनामा दिएका हुन्। जिससमा निर्वाचित भएका वडाध्यक्षमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-७, लमजुङको सुन्दरबजार नगरपालिका-२, बागलुङको बडीगाड गाउँपालिका-२, प्यूठानको ऐरावती गाउँपालिका-१ र २, सल्यानको कुमाख गाउँपालिका-५ र कञ्चनपुरको पुर्नवास नगरपालिका-३ रहेका छन्।

आयोगका अनुसार यसअघिका वडाध्यक्षको विभिन्न कारणबाट निधन भएपछि उपनिर्वाचन हुन लागेको वडामा पाँचथरको फिदिम नगरपालिका-१ र हिलिहाङ गाउँपालिका-७, भोजपुरको पौवादुङमा गाउँपालिका-१, मोरङको धनपालथान गाउँपालिका-२, सुनसरीको धरान उपमहानगरपालिका-७, संखुवासभाको खाँदबारी नगरापालिका-३, खोटाङको साकेला गाउँपालिका-३, सिरहाको कल्याणपुर नगरपालिका-१२, महोत्तरीको बलवा नगरपालिका-२ र ८, सर्लाहीको हरिपुर्वा नगरपालिका-१ र रौतहटको गढिमाई नगरपालिका-२ रहेको छ।

यस्तै बाराको बारागढी गाउँपालिका-१, पर्साको सखुवा प्रसौनी गाउँपालिका-५, रामेछापको उमाकुण्ड गाउँपालिका-५, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-२, काठमाडौँको दक्षिणकाली नगरपालिका-३, चितवनको भरतपुर महानगरपालिका-१६ र खैरहनी नगरपालिका-४ र ५ मा पनि उपनिर्वाचन हुन लागेको हो।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका-५, गुल्मीको रुरु क्षेत्र गाउँपालिका-६, अर्घाखाँचीको मालारानी गाउँपालिका-३, प्यूठानको प्यूठान नगरपालिका-२, रोल्पाको थवाङ गाउँपालिका-१, दाङको घोराही उपमहानगरपालिका-१६, बाँकेको कोहलपुर नगरपालिका-६ मा पनि उपनिर्वाचन हुँदैछ।

यसैगरी बाजुराको त्रिवेणी नगरपालिका-१, अछामको मेल्लेख गाउँपालिका-५, डोटी आदर्श गाउँपालिका-२, बैतडीको पुर्चौडी नगरपालिका-४, सुर्नया गाउँपालिका-१ र दोगडाकेदार गाउँपालिका-४ तथा कपिलवस्तुको शिवराज नगरपालिका-१० का वडाध्यक्षको मृत्यु भएका कारण ती वडामा वडाध्यक्ष पदका लागि उपनिवार्चन हुन लागेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस