शुक्रबार, मंसिर २०, २०७६
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • युवा आन्दोलनमा पुनर्जागरण
Breaking News

युवा आन्दोलनमा पुनर्जागरण

एकाध घटनामा प्रतिक्रिया दिनेबाहेक युवा विद्यार्थी संगठन निष्क्रियप्रायः देखिनु समग्र युवा विद्यार्थी नेतृत्वका लागि चुनौतीको विषय हो

दरबारिया निरंकुशता, एकात्मक शासन प्रणाली, राजनीतिक दलहरूको टुटफुट, आवधिक निर्वाचनको अभाव आदि कारणले नेपाल लामो समय राजनीतिक अस्थिरताको चक्रव्यूहमा फस्यो । अस्थिरताले नै नेपालको समग्र राजनीतिक, आर्थिक र सामाजिक विकास प्रक्रिया सुस्त बन्यो । पछिल्लो समयमा जननिर्वाचित प्रतिनिधिद्वारा संविधान निर्माण, गणतन्त्र र संघीय शासन प्रणालीको स्थापना, आवधिक निर्वाचन प्रक्रिया सञ्चालन र नेपालका प्रमुख दुई कम्युनिस्ट पार्टीबीचको एकीकरणले नेपाली राजनीतिलाई स्थिरताको दिशातर्फ निर्देशित गरेको छ ।

आजका दिनसम्म आइपुग्दा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीचको एकता निष्कर्षको प्रक्रियामा रहेको छ । केन्द्रीय, प्रादेशिक, जिल्ला, स्थानीय तह र जनसंगठनका केही कमिटी एकीकृत भइसकेका छन् भने केही कमिटी अझै एकीकरणकै प्रक्रियामा छन् । नेकपाको एकीकरण प्रक्रिया आमनागरिक र कार्यकर्ताले अपेक्षा गरेअनुरूप चुस्त गतिमा अगाडि बढ्न सकेको छैन । यसबाट कार्यकर्ता पंक्तिमा निराशा र आमनागरिकको पंक्तिमा द्विविधा एवं संशय उत्पन्न हुन थालेको छ ।

विज्ञापन

कार्यकर्तामा चरम निष्क्रियता र पलायन देखा पर्न थालेको छ । यसले समग्र पार्टीलाई गतिहीन बनाउँदै लगेको छ । यसले क्रमिक रूपमा नेपालको वामपन्थी आन्दोलनलाई नै शिथिल बनाउँदै लगेको छ । एकता प्रक्रियामा विलम्बका कारण दिनप्रतिदिन प्रतिक्रियावादी शक्तिहरू क्रियाशील बन्दै जान थालेका छन् । प्रगतिशील शक्तिमा गतिहीनता देखिँदा प्रतिक्रियावादी सक्रिय रहनु राजनीतिक नियम नै हो । एकताको विलम्बले सिर्जना गर्ने अविश्वास र संकटका कारण आन्दोलनलाई पुग्ने क्षतिको प्रमुख जिम्मेवार मूल नेतृत्व नै हुनेछ ।

एकता प्रक्रियाको विलम्बको सबैभन्दा बढी नकारात्मक प्रभाव नेपालको वामपन्थी युवा आन्दोलनमा परेको छ । समयको तीव्र वेगमा गतिशील हुने वर्ग हो युवा । यस वर्गसँग पर्खने र धैर्य गर्नेभन्दा पनि अग्रसर हुने र गतिमान् हुने विशेषता रहेको हुन्छ । तसर्थ, एकता प्रक्रियामा विलम्ब हुँदा मूल पार्टीको गति र युवाको गतिमा असामञ्जस्य देखा पर्न थालेको छ । यसले नेतृत्व पंक्ति यथास्थितिजीवी बन्न पुग्नेछ । यसको परिणामस्वरूप समग्र पार्टीपंक्ति नै पुरातनपन्थी, जडसूत्रवादी, परिवर्तनविरोधी र असान्दर्भिक बन्दै जाने खतरा छ । पार्टीले युवा विद्यार्थीका आकांक्षा र मुद्दा सम्बोधन गर्न नसक्ने परिस्थिति सिर्जना हुन सक्छ । युवा विद्यार्थीमा निराशा बढ्छ, वैकल्पिक शक्तिको कल्पना हुन थाल्छ र क्षणिक मुद्दामा युवा विद्यार्थी आकर्षित हुन थाल्छन् । केहीअघि एक टेलिभिजन प्रस्तोतामाथि फौजदारी घटनामा अनुसन्धान भइरहँदा उनका पक्ष र न्यायप्रणालीको विपक्षमा देखा परेको असंगठित युवाको सहभागिता यसको ज्वलन्त उदाहरण हो ।

सुस्त गतिमा बगिरहेको प्रतिक्रियावादीको चलखेल, अराजकता र राजनीतिक व्यवस्थाविरुद्धका आवाजलाई निस्तेज पार्न नेकपाको मूल नेतृत्वले गम्भीरतापूर्वक सोच्नुपर्ने भइसकेको छ । आमकार्यकर्ताले पनि नेतृत्वको चाकडीमा आफ्नो स्वार्थपूर्ति गर्नेभन्दा पनि नेतृत्वलाई विधि र विधानमा रही तत्काल एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सहयोग र दबाब सिर्जना गर्नुपर्ने देखिन्छ । विलम्बको सबैभन्दा बढी असर खेप्नुपर्ने भएकाले युवा समुदायले यस प्रक्रियाको नेतृत्व गर्नुपर्ने देखिन्छ ।

नेकपाको युवापंक्ति एकता प्रक्रियाको विलम्बकै कारण शिथिल बनेको छ । केही घटनामा प्रतिक्रिया दिनेबाहेक युवा विद्यार्थी संगठन निष्क्रियप्रायः छन् । यो समग्र युवा विद्यार्थी नेतृत्वका लागि चुनौतीको विषय हो । जतिसुकै शक्तिशाली किन नहोस्, जब कुनै आन्दोलन असान्दर्भिक हुँदै जान्छ, त्यसको शक्ति र प्रभाव क्षणभरमा स्खलित भएर सकिन्छ । एकता प्रक्रियाको चेपुवामा परेर नेपालको वामपन्थी युवा आन्दोलन पनि विसर्जनको दिशामा अगाडि नबढोस् भन्नका लागि युवा आन्दोलनको नेतृत्व र कार्यकर्ताले आफ्नो आन्दोलनमा संगठन, प्रशिक्षण र परिचालनलाई घनीभूत रूपमा निरन्तर सञ्चालन गर्दै जानुपर्ने देखिन्छ ।

संगठनको सवाल : एउटा कम्युनिस्ट पार्टीका लागि त्यसको संगठन शक्तिको स्थायी स्रोत हो । कम्युनिस्ट पार्टीको मस्तिष्क भनेको त्यसले ग्रहण गरेको विचार हो भने संगठन शरीर हो । परिवर्तित अवस्थामा नेकपासामु युवामाझ पनि संगठनको स्वरूप, उचित कार्यविभाजनको सुनिश्चितता, क्षमतामा आधारित जिम्मेवारी दिने प्रचलन, नयाँ पुस्तालाई संगठित गर्दै जाने र केही व्यावहारिक जिम्मेवारी प्रमुख सांगठनिक सवालका रूपमा देखा परेका छन् ।

संगठन परिचालन कम्युनिस्ट र गैरकम्युनिस्ट पार्टीबीचको भिन्नता देखाउने एउटा महत्वपूर्ण सूचक हो । कम्युनिस्टहरू संगठित कार्यकर्ताको दस्ताद्वारा परिवर्तनलाई क्रमिक रूपमा स्थायी बनाउँदै उच्चतम प्रगति हासिल गर्न उद्यत रहन्छन् भने गैरकम्युनिस्ट तत्कालीन अवस्थालाई आफ्नो पक्षमा पार्दै राजनीतिक उपलब्धि हासिल गर्ने रणनीतिमा अघि बढ्छन् । सांगठनिक अवस्थाले नै राजनीतिक शक्तिको विश्वासिलो प्रतिबिम्ब दिन्छ । हिजोको एमाले र माओवादी केन्द्रको बलियो पक्ष पनि संगठन निर्माण, व्यवस्थापन र परिचालन नै थियो । केन्द्रमा चरम गुटबन्दी हुँदा पनि मातहत कमिटी अद्यावधिक भइरहन्थे । तिनले नियमित गतिविधि सम्पादन गरिरहन्थे । जनताबीच पार्टीलाई पुर्‍याउने कार्य भइरहन्थे ।

एकता प्रक्रियामा अझै विलम्ब हुने हो भने नेकपासम्बद्ध युवा संगठन नेतृत्वविहीन, मुद्दाविहीन र कार्यकर्ताविहीन बन्दै जानेछन् । यसले संगठनलाई कमजोर बनाउँदै नेकपालाई नै ‘मास–बेस्ड’ पार्टीमा रूपान्तरण गर्नेछ । नेकपाको मूल विशेषता संगठनमा आधारित हुनु हो, जो मास–बेस्ड अवस्थामा अस्तित्वमा रहन सक्दैन । किनभने, मास–बेस्ड चरित्र गैरकम्युनिस्ट पार्टीको हो । तसर्थ, नेकपाको संगठनलाई स्वेच्छाचारी ढंगले परिचालन, संगठनका विधिलाई अवमूल्यन र अनुचित नेतृत्व स्थापित गरी अन्त्यमा मास बेस्ड पार्टीमा रूपान्तरण गर्ने प्रयास हुनु नेकपाको अस्तित्व नै नामेट पार्ने कदम हुन् । त्यसैले व्यापक संगठन निर्माण, पुनर्निर्माण र समुचित परिचालन कम्युनिस्ट पार्टीको आधारभूत चरित्र हो र बनाउनुपर्छ ।

संगठनलाई परिवर्तित सन्दर्भमा नयाँ सदस्यलाई समावेश गर्ने र पुरानाको उचित व्यवस्थापन गर्दै संगठनलाई निरन्तर जीवन्त बनाउन सकिन्छ । संगठन पार्टी र नागरिकबीचको सेतु हो । तसर्थ, समय सान्दर्भिक मुद्दालाई सम्बोधन गर्दै जाने कार्यमा समेत यसले जिम्मेवारी निर्वाह गर्छ । यसर्थ, नेकपासम्बद्ध युवा विद्यार्थी संगठनले कम्तीमा पनि स्थानीय तह, निर्वाचन क्षेत्र, वडा, टोल, विश्वविद्यालय, क्याम्पस, प्राविधिक शिक्षालयमा अविलम्ब कमिटी गठन र नियमित अद्यावधिक गर्दै जानुपर्छ । यति मात्रै कमिटी परिचालन हुन सके पनि कम्तीमा तीन–चार लाख युवा परिचालित हुनेछन् ।

त्यसका लागि नेकपासम्बद्ध युवा विद्यार्थीको पहिलो काम एकतालाई अविलम्ब सम्पन्न गर्न रचनात्मक सहयोग गर्ने र आलोचनात्मक दबाब दिने नै हो । एकता प्रक्रिया सम्पन्न नभएसम्म संगठनले गति नलिने निश्चित छ । स्वयंको पहलकदमीमा एकता अविलम्ब सम्पन्न गर्ने विषय युवा पिँढीको नेतृत्व क्षमता, राजनीतिक सुझबुझको उच्चतम प्रस्तुति र भरलाग्दो वैकल्पिक नेतृत्व उत्पादनकोे पहिचान पनि हो । एकता सम्पन्न गरी सांगठनिक गतिविधि सञ्चालनले युवामा उत्साह र गतिशीलता प्रदान गर्नेछ । राजनीतिक गतिविधिमा संगठनहरू क्रियाशील हुन थाल्नेछन् ।

प्रशिक्षणको सवाल : नेकपासम्बद्ध युवा विद्यार्थीको तत्कालीन दोस्रो कार्यभार समसामयिक विषयमा नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्नु हो । यसनिम्ति नियमित रूपले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्छ । समाजमा देखापरेका मुद्दालाई पार्टी संगठनमा प्रवेश गराउने, त्यसमा पार्टीको धारणा निर्माण गर्ने, पार्टीको सिद्धान्त र विचारलाई परिमार्जित र समयसापेक्ष बनाउँदै जाने, पार्टी धारणालाई कार्यकर्ता र आमनागरिकमाझ लाने कार्य प्रशिक्षणमार्फत हुनुपर्छ । युवा विद्यार्थी सही विचारको विश्वासिलो संवाहक वर्ग हो । यो समाजमा निरन्तर वैचारिक र समसामयिक बहस सिर्जना गरी समाजको वैचारिक आकार निर्माण गर्न सदैव क्रियाशील रहेको हुन्छ ।

तसर्थ, ठीक ढंगले प्रशिक्षित गर्दै युवालाई समाजको परिवर्तन र समृद्धिको दिशातर्फ अग्रसर गराउनु युवा संगठनको प्रमुख कार्यभार हो । देशको इतिहास, संस्कार र सभ्यता, विकासक्रम, समाजको चरित्र, सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, समाज र राज्य शासन प्रणालीका विशेषता, राजनीतिक दल र नागरिक समाजजस्ता विषयमा हरेक युवालाई प्रशिक्षित गर्न जरुरी छ । शासन प्रणाली कसरी चलिरहेको छ, विकास प्रक्रिया कसरी सञ्चालन हुन्छ, योजना तय कसरी हुन्छ, न्यायपालिकाले के–के गर्छ, संसदीय प्रणाली कसरी चलेको छ, कानुन कसरी बन्छन्, यसमा कोको सहभागी हुन्छन्, यसरी बनेका कानुनको समाजमा के प्रभाव रहन्छ, सुरक्षा (राष्ट्रिय, अन्तर्राष्ट्रिय र सामाजिक) अवस्था के छ, यसलाई कसरी व्यवस्थापन गरिएको छ, अर्थ व्यवस्था कसरी चलेको छ भन्नेजस्ता राज्य सञ्चालनका तत्कालीन विषयमा युवालाई प्रशिक्षित गर्ने र समाजमा निरन्तर अन्तक्र्रिया सञ्चालन गरिरहनु अत्यावश्यक छ ।

विचारले सुदृढ नभएको कार्यकर्तापंक्ति धारविनाको हतियारसरह हो । जसलाई प्रदर्शनीमा राख्न त सकिएला तर प्रयोग गर्न सकिँदैन । त्यसैले एउटा कम्युनिस्ट पार्टीले आफ्ना विचार, मूल्य र मान्यतामा कार्यकर्तालाई नियमित रूपमा प्रशिक्षित गराइराख्नुपर्छ । पार्टीले बोकेको विचार, सिद्धान्त, नीति, कार्यक्रम के हो ? विचारको विकास कसरी हुन्छ ? अन्तर्राष्ट्रिय रूपमा हाल बलशाली रहेका वैचारिक धार के–के हुन् ? पार्टीले निर्माण गर्न खोजेको समाज कस्तो हो ? यसका अवरोधक के–के हुन् ? लगायत अनेकौँ सवालमा आमकार्यकर्ता प्रशिक्षित हुनु नित्तान्त जरुरी छ । जब उचित प्रशिक्षणको अभाव रहन्छ, तब कार्यकर्तामा वैचारिक अन्योल सिर्जना हुन्छ ।

परिचालनको सवाल : समाजमा विद्यमान राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक समस्याविरुद्ध निरन्तर खबरदारी र दबाबले नै युवा आन्दोलनलाई सान्दर्भिकता प्रदान गर्ने हो । आजको दिनमा युवा संगठनको औचित्य र सान्दर्भिकतालाई लिएर बहस हुन थालेका छन् । आन्दोलनभित्रैका विकृतिले समेत यस्ता द्विविधा सिर्जना हुन्छन् । यस्ता द्विविधा चिर्ने र सान्दर्भिकता एवं औचित्य पुष्टि गर्ने दायित्व स्वयं युवा आन्दोलनकै हो । सान्दर्भिकता पुष्टि गर्ने अवसर पनि बेथितिविरुद्धका अभियान तथा सामाजिक रूपान्तरण पक्षीय आन्दोलन नै हुन् ।

नयाँ संविधानलाई आमनागरिकको जीवनसँग तादम्य मिलाउनु, लोकतन्त्रलाई सामाजिक जीवनको अंगका रूपमा विकसित गर्दै जानु, कम्युनिस्ट आचरण र अनुशासनलाई आमजीवनको अभ्यासका रूपमा विकसित गर्दै जाने प्रक्रियामा युवाहरू परिचालित हुनुपर्ने देखिन्छ । विपन्नता र आर्थिक विषमता समाधान गर्न संविधानमै समाजवादउन्मुख बाटो तय गरिसकिएको छ । हाम्रो पार्टी नेकपाले तय गरेकोे ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई वर्तमान सरकारले आफ्नो मूल मन्त्रका रूपमा अंगीकार गरेको छ । तसर्थ, अबको युवा विद्यार्थी आन्दोलनको कार्यभार देशमा रोजगारी अभावमा बिदेसिन बाध्य करिब ४० लाख युवालाई स्वदेश फर्काई राष्ट्रिय उत्पादनमा वृद्धि, राष्ट्रिय पुँजी निर्माण र आर्थिक विपन्नताको क्रमिक उन्मूलनतर्फ परिचालन गर्न अग्रसर हुनुपर्छ ।

युवाशक्तिलाई रचनात्मक कार्यमा लगाउने गरी योजना र कार्यक्रम तय गर्नका लागि निरन्तर राज्यसत्तालाई दबाब दिन युवा संगठन क्रियाशील हुनुपर्छ । आफ्नै संगठनमा आबद्ध लाखौँको संगठित शक्तिलाई मात्रै उत्पादन कार्यमा लगाउने र तिनले वार्षिक कम्तीमा एक लाख राजस्व तिर्ने गरी कार्य गर्ने हो भने हजारौँको संख्यामा रोजगारी सिर्जना, अर्बौंको राजस्व संकलन र खर्बौंको गार्हस्थ उत्पादनमा योगदान गर्न सक्छ । साथै, सुशासन स्थापनामा युवाले विशेष अभियान सञ्चालन गर्नुपर्नेछ । योजना छनोट, तर्जुमा र कार्यान्वयनमा ढिलाइ, आर्थिक अपारदर्शितालगायत विषयमा निरन्तर युवा खबरदारी आवश्यक छ । यसका लागि संगठनमा आबद्ध युवालाई ‘डेभलपमेन्ट फोर्स’ बनाएर परिचालित गर्नुपर्ने देखिन्छ । युवा विद्यार्थी सम्मिलित डेभलपमेन्ट फोर्सले विकास प्रक्रियामा सरकारलाई स्वयंसेवी सेवा प्रदान गर्नेछ ।

बेरोजगारी, पहिचान, सामाजिक सुरक्षा, संस्कृति र सभ्यताको निरन्तरता, पेसामा आधुनिकीकरणलगायत अन्य थुप्रै मुद्दामा युवा आन्दोलन निर्देशित हुनुपर्नेछ । शिक्षामा व्यापारीकरणको अन्त्य, विभेदरहित, सीपमूलक र व्यावहारिक शिक्षाको विस्तार, विभेदको अन्त्य, स्वास्थ्यमा सुलभ पहुँच, सुरक्षाको प्रत्याभूति, मूल्यवृद्धि तथा कालोबजारी अन्त्यलगायत आमनागरिकका दैनिकीसँग जोडिएका विषयलाई समेत युवा आन्दोलनले आफ्नो अभियानमा समावेश गर्नु छ । धनीलाई एउटा र विपन्नलाई अर्कै शिक्षा दिने प्रणालीले समाजको विकासलाई नै दुई वर्गमा विभाजित गर्दै छ । यसबाट उच्च वर्ग र निम्न वर्ग सिर्जना मात्रै भएको छैन, सामाजिक मनोविज्ञान र चेतनालाई पनि विभक्त गर्दै छ । नेपाली समाजका यी जल्दाबल्दा समस्या सम्बोधनतर्फ युवा आन्दोलनलाई नियमित परिचालित गर्नुपर्नेछ ।

निष्कर्ष : युवाहरू निरन्तर आन्दोलन र अभियानमा रहन्छन् । उनीहरूको आन्दोलनलाई सही दिशा प्रदान गर्न सकियो भने त्यसले सकारात्मक र स्थायी उपलब्धि हासिल गर्न सक्छ । क्षणिक लाभका लागि सो शक्तिलाई प्रयोग गर्दा त्यसले गलत परिणाम दिनेछ । र, समाजलाई गलत दिशातर्फ डोर्‍याउने खतरा हुन्छ । परम्परागत मुद्दाले नयाँ पुस्ताका आवश्यकता र चाहनाको प्रतिनिधित्व नगर्न सक्छन् । तसर्थ, युवा विद्यार्थीका मुद्दालाई समय सान्दर्भिक रूपमा परिष्कृत गर्न जरुरी छ ।
(लेखक तत्कालीन युवा संघ नेपालका महासचिव हुन्) 

नयाँपत्रिकादैनिकबाट

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार