बिहिबार, मंसिर २६, २०७६
जोडिनुहोस
  • होमपेज
  • प्रचलन
  • क्रान्तिकारी किसान
प्रचलन

क्रान्तिकारी किसान

१९ बैशाख

उनका बाजे कमैया थिए। बावुले अरुकै लागि पसिना बगाए। उनी आफैं पनि बावुबाजेको नियति भोग्न बाध्य पारिए। तर सधैं पुर्खाकै बिँडो थाम्न तयार भने भएनन्।

भनिन्छ, अध्ययन बिनाको व्यवहार अपूर्ण र व्यवहार बिनाको अध्ययन अपाङ्ग हुन्छ। उनले यी दुबै पक्षलाई सँगसँगै अघि बढाए। एकातिर अध्ययनले ज्ञानको क्षितिज फराकिलो बनायो, अर्कोतिर कठिन परि श्रमले एकपछि अर्को सफलतको सिंढि उकाल्दै लग्यो। जसको घरमा उनी कमैया थिए, तिनले नै उनलाई ज्वाइँ बनाउन गौरव गर्ने अवस्था सिर्जना भयो।

विज्ञापन

यो कथा हो, पहाडी चौधरीको, जो कमैयाबाट कृषि क्रान्ति गर्ने उदाहरणीय पात्रका रुपमा समाजमा स्थापित छन्।

४२ वर्ष अघि बर्दिया जिल्लाको साबिक भीम्मापुर गाविस १ (हाल राजापुर नगरपालिका ७) भीम्मापुरमा पहाडी चौधरीको जन्म भयो। समाजमा दुई वर्ग थियो, एउटा हुनेखाने (जमिन्दार) वर्ग र अर्को श्रम गरी खाने (विपन्न) वर्ग। आँखाले देख्न नसक्ने क्षेत्रफलको जग्गा (मौजा) जमिन्दारको हुन्थ्यो। त्यो जग्गा कमाउने श्रमिकलार्ई जमिन्दारले आफ्नो घरको छेउमा छाप्रो (बुक्रा) बनाएर कमैया बनाउँथे।

पहाडीको परिवार जन्मजात नै कमैया थियो। सरकारी जागिरमा सरुवा भए झै कैलालीको सुवर्णपुर, डाँडाबोझी, बर्दियाको सोनपुरहुँदै उनका बाजे फागु चौधरी भीम्मापुर पुगेका थिए। बुवा सिंहालु पनि कमैया नै भए। पहाडीले उमेर अनुसार जमिन्दारको घरमा बावुसँगै सित्तैमा काम गरे। सानोमा बाख्रा, गाईगोरु र राँगाभैंसी चराए। कमैयाकी पत्नी बुक्रही, बाख्रा चराउने छेग्रवार, भैंसी राँगा चराउने भैंसवार, गाई चराउने गैवार हुन्थे। उनीहरुको पारि श्रमिक हुँदैनथ्यो। जमिन्दारले मेलोमेसोमा मिठो खानासम्म दिने चलन हुन्थ्यो। ‘हलो पनि जोत्थेँ। पढ्न जानुअघि बिहान र स्कुलबाट फर्केपछि पनि जमिन्दारको घरमा काम गर्न जान्थेँ’, उनले ती दिन सम्झे, ‘बाबाले आधा पेट खाएर र च्यातिएको लुगा लगाएर भए पनि मलाई पढाउनु भयो।’ उनले शिक्षा शास्त्र संकायबाट स्नातक गरेका छन्। शिक्षण पेशा छोडेर उनी अहिले कृषि पेशामा होमिएका छन्।

ऋण थपेर सुरु भयो उद्यम

भीम्मापुरमा विनोद ज्ञवालीका तीन भाइ छोरा मुकुन्द ज्ञवाली, कृति ज्ञवाली र नारायण ज्ञवालीकोे मौजा थियो। पहाडीका काकाहरु ज्ञवालीको घरमा कमैया थिए। महादेवप्रसाद चौधरी पनि गाउँमा हुने खानेमै गनिन्थे। पहाडीका बुवा उनको घरमा कमैया थिए। कमैैया बस्दा पाउने १० बोरा धानबाट घर धान्न गाह्रो भएपछि केही समय उनको परिवारले बटैयाको काम गर्न थालिसकेको थियो। उनको मेहनती परिवारले फल्दै नफल्ने जग्गामा पनि राम्रो अन्न फलाएर जमिन्दारको मन जितेका थिए।

०६४ सालमा १ लाख रुपैयाँमा एक बिगाह जग्गा किन्ने योजना बनाए। एक लाख रुपैयाँ त नगद थियो। एक लाख रुपैयाँ ऋणको जोहो गरे। दुई बिगाह २ कठ्ठाको प्लट थियो। ‘उधारोमा जग्गा पास गरिदिनुस्। सबै पास गरौं। पैसा पछि दिउँला भन्दा माने। तर साढे तीन लाख रुपैयाँको कागज गरे’, जीवनमा पहिलो पटक ऋण लाग्दाको उनले अनुभव सुनाए, ‘एक लाख ऋण लागिसकेको थियो। अर्को एक लाख थपियो। जग्गा किनेकोमा हर्ष हुनु पर्ने। हामीलाई त हर्ष न विस्मात भयो। एक वर्षको भाखा थियो। पैसा जुटाउन सकिन्न कि भन्ने पीर थियो।’

उनले ९ महिनामै उक्त ऋण चुक्ता गरे। हरेक वर्ष जग्गा थप्दै पहारीले ज्ञवालीको ७ विगाह जग्गा किनेका छन्। आफ्नै बाउबाजे र काकाले पसिना काढेर बनाएको जमिन्दारको पूरानो घर पनि किनेका छन्। अहिले उनको एक विगाह ८ कठ्ठामा त घर नै छ। १० कठ्ठा जतिको त आँगनै छ। हिजो जमिन्दारको आँगनमा वयलगाडाबाट चल्ने लडिया र लहडु हुन्थे। सवारीका लागि घोडा र निजी टाँगा हुन्थे। जमिन्दाको धाक रवाफ नै बेग्लै थियो। जमिन्दारले खेती किसानीका लागि १२ देखि १५ हल गोरु र राँगा पालेका थिए।

उनले एक दर्जनभन्दा बढी कृषिका अत्याधुनिक औजार राखेका छन्। उनी कृषिको काम मुस्किलले १० प्रतिशत मानवीय जनशक्तिबाट गर्छन्। सबै काम यन्त्रले गर्छ। दुई वटा ट्याक्टर छन्। खेत जोत्ने कल्टिभेटर र डिस्क ह्यारो, मड बाइन्डर (आली लगाउने), ट्याक्टरबाट जमिन सम्याउने लेब्लर छ। उनी ट्रेमा बिउ उमार्छन्। यस्ता ट्रे मात्र एक हजार एक सय वटा छन्। राइस प्लान्टर (धान रोप्ने), ह्वीट सीड ब्रिल (गहुँ छर्ने), मेइज सीड ब्रिल (मकैै छर्ने), राइस सीड ब्रिल (धान छर्ने) र हेप्पी सिडर (बिना खनजोत धान गहुँ छर्ने) मेसिन छन्।

कम्प्यूटर प्रविधिबाट जमिन सम्याउने लेजर ल्याण्ड लेब्लर पछि छ। ट्याक्टरको पछाडि जोडेर प्रयोग गर्ने तीन सय किलो फलामे हेंगा त आफैले डिजाइन गरेर प्रयोग गरिरहेका छन्। धान, गहुँ र मकै दाउने छुट्टा छुट्टै थ्रेसर पनि छ। सबै बालीका लागि साझा प्रयोग हुने छुट्टै थ्रेसर पनि छ। धान र गहुँ काट्ने रिपर छ। पावर टिलरमा जोड्न मिल्ने रिपर पनि छ। अधियामा खेती गर्दा विगतमा तीन हल राँगा र गोरु पाल्ने गरेका चौधरीले कृषिमा आधुनिकीकरण गरेका छन्।

नेपालमा एक जना किसानले सम्भवतः यति धेरै अत्याधुनिक कृषि मेसिन प्रयोग गर्नेमा उनी अग्रपंक्तिमा आउँछन्। उनले एक करोडभन्दा बढी रुपैयाँ कृषिका मेसिन किन्न खर्चिसकेका छन्। परम्परागत कृषिबाट खर्च बढी हुने र उत्पादन कम हुने भएकाले उनले कृषिमा यान्त्रिकरणमा लागेको बताए। ‘एक विगाहा जग्गामा राँगा र गोरु प्रयोगबाट खेती गर्नु भन्दा मेसिनकोे प्रयोगबाट कम्तीमा पनि नौ दश हजार रुपैयाँ फाइदा हुन्छ’, उनले अनुभव सुनाए।

उनको अबको प्राथमिकता कम्बाइन हार्भेस्टिङ, रोटाबेटर र बिउ छर्ने मेसिन छ। त्यसका लागि प्रदेश सरकारमा प्रस्ताव पनि पेश गरिसकेका छन्। उनले अत्याधुनिक मेसिन प्रयोग गरेर खेतीकिसानी गर्न थालेको तीन वर्ष मात्र भयो।’

श्रमको सम्मान

उनी ‘नवजमिन्दार’ झैं छन्। ‘धन सम्पत्ति जोड्दैैमा कोही जमिन्दार हुने रहेनछ। त्यत्तिबेला जमिन्दारको हुकुमी शासन चल्थ्यो। श्रम शोषण हुन्थ्यो’, उनी भन्छन्, ‘जमाना धेरै फेरिएको छ। हामी पनि श्रम सिर्जना गछौं तर श्रमको सम्मान गर्छौ। काम अनुसारको ज्याला दिन्छौं। हिजोको कार्यशैली र व्यवहार अब चल्नेवाला छैन।’

‘समय र पालो सबैको आउँछ। समयलाई बुझ्नु सके र सहीे सदुपयोग गर्न सके सफलता पाइन्छ’ भन्ने पहाडी उदाहरण बनेका छन्। जमिन्दारले हेर्ने दृष्टिकोण परिवर्तन भएको छ। सम्मान गर्न थालेका छन्। बुवा कमैया बसेका जमिन्दार बृजलाल चौधरीकी छोरीसँग उनले बिहे गरे।

बाबा र काकाले सम्हालेको जमिन्दारको जग्गा उनले किने। ‘हिजो हाम्रो अन्नदाता जमिन्दार हुन्थे। आज हामी उहाँहरुको अन्नदाता भएका छौं’, उनले यर्थाथता दर्शाए। आफैले उब्जनी गरेको भन्दा जग्गा लिजमा दिँदा जमिन्दारलाई फाइदा पुगेको उनको दाबी छ। बसिबसि आम्दानी लिन पाइने र उब्जनी भए पनि नभए पनि खेतीबाट नियमित आम्दानी भइरहेको छ।

उनी कृषिबाटै देशको समृद्धि देख्छन्। ‘हाम्रो कृषि जिविकोपार्जनका लागि मात्र छ। अब आयआर्जन हुने गरी कृषि कर्म गर्नुपर्छ। आकासे पानीको भरमा खेती गरौंला भनेर हुन्न। कसरी खेतबारीबाट तीन बाली कसरी लिने भनेर ध्यान दिनुपर्छ’, उनको योजना सुनाए, ‘म आफैं पनि ५० विगाहमा खेती गर्ने योजनामा छु। सके त आफ्नै जग्गा जोड्ने हो। त्यो सम्भव देख्दैन। लिजमा लिएर भए पनि ठूलो क्षेत्रफलमा खेती गर्छु।’

आफ्नो र लिजमा लिएको समेत गरी २२ विगाह क्षेत्रफलमा खेती गरिरहेका छन्। नपढेका मानिसले पो कृषि गर्ने हो भन्ने गलत सोच परिवर्तन आवश्यक ठान्छन् उनी। ‘सबैभन्दा अब्बल मानिस नै कृषिमा आउनु पर्छ। अयोग्य व्यक्ति कृषिमा फिट नै हुँदैन’, उनी भन्छन्, ‘अब्बल दर्जाको व्यक्तिले अब्बल दर्र्जाकै कृषि कर्म गर्न सक्छ।’

अधिकांश नेपालीसँग आफ्नै जमिन छ। जमिन बाँझो राखेर कति बेरोजगार छु भनिरहेका हुन्छन्। अधिकांश किसान गुजारा चलाउन कृषि गरिरहेका छन्। उनी कृषिबाटै आयआर्जनमा लाग्न जोड दिन्छन्, ‘सानो सानो स्केलमा काम गरेर कृषि क्रान्ति सम्भवै छैन। ठूूलो स्केलमा काम गर्नुपर्छ। राज्यको सहयोग र अनुदानको नीति पनि ठूलो स्केलमा काम गर्नेकै लागि छ।’

अन्नमा आत्मनिर्भर

व्यावसायिक रुपमा कृषि गर्ने हो भने देशको २५ प्रतिशत जनताले कृषिमा काम गर्दा देश अन्नमा आत्मनिर्भर हुने उनको जिकिर छ। यसरी काम थालेका अर्को १० वर्ष १५ प्र्रतिशत हँुदै १० प्र्रतिशत जनताले मात्र कृषि गर्दा देशको माग धान्न सक्ने उनको दाबी छ। त्यसका लागि कृषिमा आधुनिकीकरण र यन्त्रिकरणमा जोड दिनुपर्ने उनी बताउँछन्।

कृषिका लागि विश्वमै अब्बल दर्जाको माटो नेपालमा भएको जिकिर गर्दै भन्छन्, ‘म त सम्भवना नै सम्भावना देख्छु। खाँचो छ त केवल नीतिको मात्र। राज्यले यो कुरा समयमै सम्बोधन गर्नुपर्छ।’ कृषिमा धेरै अनुदान दिएर किसानलाई प्रोत्साहन गर्न खोजिएको छ तर अनुदानमा वास्तविक किसानले भन्दा फर्म दर्ता गरेकै भरमा हालीमुहाली गर्ने जमात सक्रिय भएको उनी देख्छन्।

अनुदान भन्दा किसानलाई सरल र सहुलियत ऋणमा उनको जोड छ, ‘कृषि ऋणलाई सरल, सहज र किसानको पहुँचमा बनाउनु पर्छ। कृषि ऋणमा सामान्य किसान पुगेकै छैनन्।’ कृषि ऋण त किसानले पाएकै छैनन्। अरु ऋणमा पनि किसानमाथि विभेद छ। ‘एक विगाहा जग्गा राखेर व्यापारलाई १० लाख दिइन्छ भने कृषिमा एक लाख पनि पत्याइन्न्।

कसरी कृषिबाट समृद्धि हुन्छ ? ’, एउटै धितो व्यापार गर्न र कृषिका लागि ऋण लिन जाँदा हुने विभेदमा सुधार गर्न उनी सुझाव दिन्छन्, ‘कृषि ऋणमा ६ महिना ब्याज मिनाहा वा सहुलियत दिने व्यवस्था गर्नुपर्छ। किन कि कृषिको उत्पादन लगाउने वित्तिकै आम्दानी नदिने हुनसक्छ। व्यापारमा जस्तो आम्दानी त हुन्न नि ? कृषि व्याजका लागि छुट्टै मापदण्ड बनाउन जरुरी छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस